मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट प्रसारण लाइन उद्घाटन

काठमाडौँ । मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको उद्घाटन गरिएको छ । आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यी दुई आयोजनाको उद्घाटन गरेका हुन् । त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०÷१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । मस्र्याङ्दी–काठमाडौँ र त्रिशूली–काठमाडौँ प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकआपसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ । प्रसारण लाइनबाट करिब २ हजार मेगावाट विद्युत् काठमाडौँ उपत्यकामा छिर्न सक्छ ।

मस्र्याङ्दी र त्रिशूलीबाट काठमाडौँ उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रूपमा आपूर्ति हुनेछ । मातातीर्थबाट विद्युत्लाई १३२ केभी प्रसारण लाइनमार्फत हेटौँडातर्फसमेत प्रवाह गर्न सकिनेछ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो । आयोजनाको अनुमानित लागत साढे ६ अर्ब रुपैयाँ रहेको छ ।

यसै वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भई यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताए । ‘उक्त प्रारम्भिक सहमतिलाई मूर्तरूप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु’, प्रधानमन्त्रीले भने, ‘नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्को बजार विस्तार हुनेछ ।’ उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरू गरिरहेको जानकारी दिए ।

‘१२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना, ६७० मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढाइसकेका छौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘साथै देशलाई दीर्घकालीन रूपमा कायापलट गराउन सक्ने राष्ट्रिय तथा क्षेत्रीय महत्वका कर्णाली चिसापानी १० हजार ८०० मेगावाटको आयोजनालाई प्राधिकरणमार्फत अध्ययन कार्य अगाडि बढाइएको छ ।’ विश्व बैंकको नेतृत्वमा १ हजार ६३ मेगावाटको माथिल्लो अरुण र एसियाली विकास बैंकको नेतृत्वमा ६७० मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुने चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

प्रतिक्रिया