जनकपुरधाम । सामाजिक परिवर्तनका लागि युवा मुख्य उद्देश्यसहित सबैला नपास्तरीय युवा सञ्जाल गठन गरिएको छ । सेफ नेपाल नामक समाजिक संस्थाको अगुवाइमा अभिमुखीकरण तथा युवा सञ्जाल गठन कार्यक्रमको आयोजना गरी नगरस्तरीय युवा सञ्जाल गठन गरिएको हो ।
अभिमुखीकरण तथा युवा सञ्जाल गठन कार्यक्रममा सबैला नगरपालिकाका प्रमुख कारीराम यादवले भने, ‘युवाहरू बेरोजगार नबसुन भन्दै सिप सिक्नु अति आवश्यक छ ।’
सरस्वती मावि ठिल्लामा सेफ नेपालद्वारा आयोजित कार्यक्रममा उनले युवाहरू अझ सशक्त र सिपमा जोडिनु आवश्यक रहेको बताए । युवाहरूलाई विभिन्न सिपहरू सिक्न तथा कम्प्युटर शिक्षा, प्राविधिक शिक्षासँग जोडिन अति आवश्यक रहेको र यसका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न लागिएको उनको भनाइ छ । विभिन्न संघसंस्थासँग मिलेर युवालाई विदेश पलायन हुनबाट रोक्न हामीले पहल गरिरहेको उनले बताए । नगरप्रमुख यादवले सेफ नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सबैला नगरपालिकाभित्र रहेका १३ वटै वडाबाट युवाहरूको सहभागिता गराइएको थियो र नवगठित नगर युवा सञ्जालले स्थानीय युवा नीति निर्माण गरी नगरभित्रका समस्त युवाहरूको अधिकार प्राप्त गर्न लक्ष्य राखेको सेफ नेपालका परियोेजना संयोजक विनोद महराले जानकारी दिए ।
समाजमा रहेका विद्यमान हानिकारक समाजिक मूल्यमान्यता, कुसंस्कार, कुरीतिको न्यूनीकरण गर्न तथा युवाहरू केन्द्रित समस्याको पहिचान र सम्बोधन गर्ने उद्देश्यका साथ युवा संजाल गठन गरिएको संयोजक महराले बताए । लैंगिक समानता, अपांगता, फरक क्षमता भएका तथा समाजिक समावेशी (जेडसी) सिद्धान्तको आधारमा महिला युवा तथा सिमान्तकृत वर्गलाई लक्षित गरी युवा सञ्जाल गठन गरिएको उनको भनाइ छ ।
द एसिया फाउन्डेसन मुख्य कार्यान्वयन संस्था, युएसएआइडीको सहयोग तथा नागरिक समाज मिडिया कार्यक्रमअन्तर्गत सेफ नेपालले आयोजना गरेको अभिमुखीकरण तथा युवा सञ्जाल गठन कार्यक्रममार्फत १७ सदस्य युवा सञ्जाल गठन गरेको हो । ललित महराको नेतृत्वमा १७ सदस्य कार्यसमिति बनेको छ । उपाध्यक्षमा प्रियंका कापर, सचिवमा रोशनकुमार दास, सहसचिवमा कृष्णा पासवान, कोषाध्यक्षमा विवेककुमार कापर रहेका छन् ।
समाजले युवालाई नागरिक स्थानको अस्तित्व दिन नसकेको र युवाको समस्यालाई पनि परम्परागत रूपमा बुढापाकाले मात्र निर्णय लिने गरेकोले निर्णय प्रक्रियामा युवाले स्थान पाउन, आफ्नो कुराको लागि आवाज उठाउन सकुन र त्यसको समाधान गर्न युवा सञ्जालको आवश्यकता रहेको छ ।
महिला युवा, सिमान्तकृत, दलित, मुस्लिम, आदिवासी, जनजाति, सामाजिक समावेशीतालाई मुख्य लक्ष्य राखी युवा संजालले राष्ट्रिय युवा नीति २०७२ को मर्मलाई आत्मसात गर्दै स्थानीय युवा नीतिको कार्यान्वयन, आवश्यक नयाँ नीति निर्माण गर्ने उद्देश्यका लागि युवा संजालको गठन गरिएको हो ।
प्रतिक्रिया