विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

काठमाडौं । विशेष अदालतले अन्तरराष्ट्रिय मापदण्ड संगठन (आइएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ । न्यायिक प्रणाली जवाफदेहीता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भनी उक्त प्रमाणपत्र दिइएको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवरले उक्त प्रमाणपत्र (यानएस–आइएसओ ९००१ः२०१५) को आज विशेष अदालतमा आयोजित कार्यक्रममा सार्वजनिक गरे । उनले न्यायिक तथा प्रशासनिक प्रक्रियामा उच्चतम इमान्दारीता, जवाफदेहिता र सार्वजनिक विश्वास कायम राख्न प्रयत्न गरिरहेकाले आइएसओको प्रमाणपत्र प्राप्त गर्न सफल भएको जानकारी दिए ।

अध्यक्ष कुँवरले कानुनबमोजिम निष्पक्ष न्याय सम्पादन, खुला, पारदर्शी र अभिलिखित न्यायिक प्रक्रिया कायम गर्न न्यायिक निकायलाई परीक्षण, तालिम र प्रविधिका माध्यमबाट नियमित रूपमा सुधार गर्न प्रयत्न गरिरहेको बताए ।

‘विशेष अदालत आइएसओको प्रमाणपत्र पाउने नेपालकै पहिलो अदालत बनेको छ, यो पहलले अदालतको दैनिक कामकाज र प्रक्रियाको दस्तावेजीकरण समावेश गर्नुपर्ने, हरेक वर्ष लेखापरीक्षण (अडिट) गर्नुपर्ने र प्रत्येक तीन वर्षमा पुनः प्रमाणित गर्नुपर्ने हुन्छ’, उनले भने ।

अध्यक्ष कुँवरले अदालतको अभिलेख प्रणालीलाई आधुनिकीकरणको मार्गमा अगाडि बढाएर कागजविहीन बनाउने, ‘डिजिटल रेकर्डिङ’ प्रणाली र भर्चुअल सुनुवाइमार्फत न्यायमा सहज पहुँचमा ध्यान दिइरहेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८१–८२ को असार २५ गतेसम्मको तथ्यांकका आधारमा अदालतले कूल २०६ मध्ये १२३ थान मुद्दा फछ्र्यौट गरेको छ भने ८३ बाँकी छन् । विशेष अदालतको विगत पाँच वर्षको मुद्दाको तथ्यांकलाई अध्ययन गर्दा सबैभन्दा बढी आव २०८०–८१ मा मुद्दा फछ्र्यौट भएको छ । उक्त आवमा ५७५ मध्ये ५०६ मुद्दा फछ्र्यौट भएको थियो ।

त्यसअघि, आव २०७७–७८ मा सबैभन्दा कम १५ दशमलव सात प्रतिशत, आव २०७८–७९ मा ४२ दशमलव ८० प्रतिशत, आव २०७९–८० मा ४५ दशमलव ७६ प्रतिशत मात्रै मुद्दा फछ्र्यौट भएको थियो । आव २०७६–७७ मा ७७ दशमलव शून्य पाँच प्रतिशत मुद्दा फछ्र्यौट भएको थियो । विसं २०८२ असार २२ गतेसम्म २०५ मध्ये १२३ मुद्दा फछ्र्यौट भएका छन् ।

विशेष अदालतले आव २०८०–८१ मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गरी न्याय सम्पादनलाई चुस्तदुरुस्त राख्न सफल भई आइएसओ प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष कुँवरले बताए । जेनेभामा मुख्य कार्यालय रहेको यस संगठनको प्रमाणपत्र प्रक्रिया पूरा गरी नेपाल नापतौल तथा गुणस्तर विभागमार्फत विशेष अदालताई प्रदान गरिएको हो ।

विशेष अदालतका अध्यक्ष कुँवरले अदालतको व्यवस्थापनलाई नमुना बनाउने, सेवाग्राहीमैत्री वातावरणको सिर्जना, मुद्दाको अंग पुर्याइ ६ महिनाभित्र फैसला गर्ने योजनासहित काम गरिरहेको बताउँदै फैसला कार्यान्वयनलाई तीव्रता दिने काममा लागिरहेको जानकारी दिए । उनका अनुसार अदालतले नेपालका साथै विश्वको जुनसुकै स्थानबाट पनि भर्चुअल सुनुवाइ गरिरहेको छ ।

प्रतिक्रिया