पहिचानको मुद्दा अस्वीकृत हुने संकेत

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको प्रारम्भिक मतगणनाले प्रदेशको नाम कोसी राखेदेखि तरंगित भएको पूर्वी पहाडको राजनीतिले कोल्टे फेर्ने संकेत देखाएको छ । पूर्वी पहाडमा पुराना दल, त्यसमा पनि खास गरी नेकपा (एमाले) पहिचान पक्षधरको तारो बनेको थियो । तर, निर्वाचनको आइतबार अबेरसम्मको रुझानले त्यसलाई चिर्ने स्पष्ट संकेत गरेको छ ।

निकै रस्साकस्सीपछि प्रदेश नम्बर १ को नाम कोसी राखिएको थियो । कोसी नामकरणको प्रस्ताव एमालेको थियो, नेपाली कांग्रेस र पहिचानको मुद्दाको बीजारोपण गर्ने नेकपा माओवादी केन्द्रसमेत एमालेको प्रस्तावमा सहमत हुन आएपछि कोसी नामकरण भएको थियो ।

प्रदेशको नाम कोसी राखेदेखिनै पहिचान पक्षधर एमालेप्रति खनिएका थिए । यस क्रममा भएको आन्दोलनमा १ जनाको मृत्यु पनि भएको थियो । एमाले नेता महेश बस्नेत प्रमुख अतिथि रहेको झापाको कार्यक्रम होस् वा एमाले सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराई गृह जिल्ला जाँदा होस्, निर्धक्क हुन सकेका थिएनन् । यहाँसम्म कि किराँत समुदायकै वसन्त नेम्वाङले पनि गृह जिल्ला पाँचथरमा निर्धक्क पार्टी गतिविधि गर्नमा बाधा थियो ।

एमालेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्रामा पहिचान पक्षधरले धेरै बाधा पु¥याएको सो यात्रामा सहभागी बताउने गर्छन् । ‘यात्रा पूर्वी पहाड प्रवेश गरेपछि धेरै बाधा आए ती सबै ढाकछोप भए, मिडियामा आएनन्,’ यात्रामा सहभागी एक एमाले कार्यकताले भनेका थिए ।

राजनीतिक विश्लेषक भन्छन्, ‘यो उपनिर्वाचन दलहरूको मूल्यांकनको आधार हुन सक्दैन, तर उनीहरूको दाबीको परीक्षा भने अवश्य हुनेछ ।’ पहिचान पक्षधर मात्र होइन, २०७९ को निर्वाचनमार्फत् राष्ट्रिय राजनीतिमा जबरजस्त उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको मिसन–२०८४ को प्रारम्भिक रुझानको पनि आकलन हुने विश्लेषक बताउँछन् ।

इलाम–२ को उपचुनावलाई रास्वपा र पहिचान पक्षधरले प्रतिष्ठाको विषय मात्र बनाएका थिएनन्, यसले दिने राजनीतिक सन्देश पनि महत्वपूर्ण थियो । किनकि रास्वपाले यो चुनाव जित्ने गरी तयारी गरेको थियो । रास्वपा सभापति तथा उपप्रधानमन्त्री रवि लामिछाने पटक–पटक इलाम पुगेका थिए भने पार्टीका अन्य नेता पनि डेरा जमाएरै इलाममा बसेका थिए । तर, मतगणनाको रुझान भने उनीहरूको पक्षमा देखिएन ।

आन्दोलनले बलेको पूर्वी नेपालमा पहिलो पटक भएको यो चुनाव पहिचान पक्षधरका लागि पनि आफ्नो शक्ति देखाउने अवसर थियो । इलाम–२ आदिवासी जनजाति मतदाताकै बाहुल्य भएको निर्वाचन क्षेत्र पनि हो । त्यसैले पहिचान पक्षधरले पनि निकै तयारीका साथ यो चुनावमा उम्मेदवार उतारेका थिए ।

कांग्रेस र एमाले त परम्परागत प्रतिस्पर्धी नै हुन् । त्यसैले यी दुई ठुला दलले चुनाव जित्ने नै गरी प्रयास गर्नु स्वाभाविक थियो । चुनावी परिणाम जे आए पनि इलाम–२ ले भने नयाँ पहिचान पक्षधरलाई अस्वीकार गर्ने प्रष्ट देखिएको छ । कुनै अप्रत्यासित घटना नभए कांग्रेस र एमालेमध्येकै विजेता तथा निकटतम प्रतिद्वन्द्वी हुने संकेत देखिएको छ ।

प्रतिक्रिया