देशव्यापी जनलहरले समाजवादी एक नम्बर हुने बाटोतर्फ लागिसक्याे : माधव नेपाल

झापा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष भित्रमा नै प्रदेश १ मा आफ्नो पार्टी बलियो बन्ने दाबी गरेका छन् । झापाको दमकमा सोमबार नेपाल खेलकुद महासंघ समाजवादीले गरेको प्रदेशस्तरीय भेलालाई सम्वोधन गर्दै उनले देशव्यापी जनलहरले समाजवादी एक नम्बर हुने बाटोतर्फ लागिसकेको बताए ।

अध्यक्ष नेपालले सुदूरपश्चिम तथा प्रदेश २ मा पार्टी एमाले भन्दा बलियो भइसकेको भन्दै अन्य प्रदेशमा पार्टीलाई सोही ढंगबाट बलियो बनाउने कार्यकर्तालाई निर्देशन दिए । ‘सुदूरपश्चिममा केपी ओलीको पार्टी खत्तम भइसक्यो अनि प्रदेश २ मा हरिबिजोग’ छ भन्दा कार्यकर्ताले हुटिङ् गरी उनलाई साथ दिएका थिए ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत रहेको दमकमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दमकमा समाजवादीले कार्यक्रम गर्ने भनेर सुने देखिनै केही व्यक्तिलाई चिट चिट पसिना आएको भन्दै व्यङ्ग्य पनि गरे ।

सो क्रममा नेता नेपालले मञ्चमै रहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईतर्फ ईङ्गित गर्दै प्रदेशको नाम छिटो राख्न निर्देशन दिए । उनले भने, ‘अरु प्रदेशले नाम राखिसके, प्रदेश १ र २ ढिलाई भएको छ । सबैलाई मान्य हुने नाम राख्न ढिला नगर्नू । यस अघिका सरकारले नगरेको काम चाँडै गरेर देखाउनु होला ।’

प्रतिक्रिया