कसरी गर्ने नेपाली कांग्रेसको रूपान्तरण ?

रामचन्द्र पौडल

संसद् जोगिएर एउटा खड्को टरे पनि लोकतन्त्रमाथिको संकट अझै टरेको छैन । महत्वाकांक्षीहरूबाट लोकतन्त्र जोगाउन मैले आफ्नै पार्टीभित्र पनि अथक संघर्ष गर्नु परिरहेको छ । जति भोग गरे पनि तृप्त नहुने नेतृत्वको पदलिप्सा, साम, दाम, दण्ड, भेद नीति अपनाएर आफ्नो सत्ता अकण्टक राख्ने प्रवृत्ति र नीतिभन्दा पनि नेतालाई महत्व दिने कार्यकर्ताको बानी व्यवहार लोकतन्त्रका लागि समस्या बनेका छन् ।

नेपालमा लोकतन्त्रको स्थापना र रक्षाको निमित्त नेपाली कांग्रेसले सधैँ अग्रमोर्चामा रहेर काम गरेको छ । नेपाली कांग्रेस नेपालमा लोकतान्त्रिक पद्दतिको मापदण्ड बनेको छ । नेपाली कांग्रेसका क्रियाकलाप र गतिविधिहरू अन्य पार्टीहरूको निमित्त उदाहरण र नजिर बन्ने गरेका छन् । तर, कांग्रेसको आफ्नै अवस्था भने लोकतन्त्रको आदर्श अनुरूप हुन नसकेको देखिएको छ । निरंकुश जहानियाँ शासनविरुद्ध २००७ सालमा क्रान्ति गर्ने पार्टी, तानाशाही पञ्चायतविरुद्ध निरन्तर ३० वर्ष लडेको पार्टी, लोकतन्त्रको पुनस्र्थापनाको निमित्त ०४६ र ०६२/६३ को जनआन्दोलनको नेतृत्व गरेको पार्टी, नेपालको नयाँ संविधान जारी गर्न अगुवाई गर्ने कांग्रेस पार्टी, अहिले यसमा आन्तरिक लोकतन्त्रको अभाव खड्किँदै छ । संसदीय निर्वाचनमा कम्युनिस्टहरूसँग हार बेहोर्नु परेको छ ।

अहिले विशेष परिस्थितिमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएता पनि नेपाली कांग्रेसका आदर्श, मूल्य र मान्यता अनुरूप हामीले सरकारमा उपस्थिति जनाउन सकेका छैनौँ । कम्युनिस्टहरूको फुटलाई नै अवसरको रूपमा हेर्नुपर्ने अवस्था कांग्रेसको निमित्त गर्वको कुरा कदापि होइन । लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि र विधानअनुरूप चलोस् र अन्य पार्टीहरूलाई पनि मार्ग निर्देशन गरोस् भन्ने जनअपेक्षा छ ।

तर, वर्तमान पार्टी नेतृत्वले पटकपटक विधान मिचेर, यसका व्यवस्थाहरूको ठाडो उल्लंघन गरेर त्यो जनअपेक्षामाथि कुठाराघात गरेको छ । महाधिवेशनभन्दा एक वर्षअघि वितरण गरिसक्नुपर्ने क्रियाशील सदस्यता महाधिवेशन ढोकैमा आइसक्दा पनि विवादित छ । भ्रातृसंस्था भताभुंग छन्, विभाग र प्रतिष्ठानमा मनपरितन्त्र छ । महाधिवेशन सम्पन्न भएको ६ महिनामा पूर्णता दिनुपर्ने विभागहरूलाई विधान नाघेर गठन गरिएको छ । स्वयं सभापतिजीको जिल्लाका पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ । पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरूलाई पाखा लगाइएको छ । नीतिनियम र विधानविपरीत हजारौँ चिठी काटिएका छन् ।

देशको राजनीति विषम मोडमा छ । विगत तीनचौथाइ शताब्दीदेखि लोकतन्त्रको निमित्त गरिएका संघर्षले आशातित परिणाम दिन सकेका छैनन् । आममानिसमा राजनीतिप्रति वितृष्णा पैदा भएको स्थिति छ । युवाहरू राजनीतिबाट क्रमशः पलायन हुँदै गएको पाइन्छ । आमनागरिकमा राजनीति, राजनीतिक दल र नेतृत्व वर्गप्रति सद्भाव र सम्मानको भाव घट्दै गएको छ । राजनीतिप्रतिको यो वितृष्णा पैदा हुनुको कारणमा नेतृत्व सम्हालेका व्यक्तिको आचरण, व्यवहार र चरित्र जिम्मेवार छन् ।

विगत ७५ वर्षदेखि आमनागरिक लोकतन्त्रको स्थापनार्थ र रक्षार्थ लगातार सडकमा उत्रनु परिराखेको छ । तर, लोकतन्त्र केही सीमित स्वार्थी तत्वहरूको हतियार भएको छ । लोकतन्त्रलाई चुनावमा सीमित गर्न खोजिएको छ र त्यही चुनाव पनि इमानदारीपूर्वक हुन सकेको छैन । पार्टीको होस् वा राजनीतिको होस्, पैसाको खोलो बगाएर चुनाव जित्ने प्रवृत्तिबाट जनता दिक्क छन् ।

आवधिक निर्वाचनले मात्र लोकतन्त्रको ग्यारेन्टी गर्दैन, यो त एउटा संस्कार हो । व्यक्तिव्यक्तिमा लोकतान्त्रिक आचरण, हरेक संस्थाहरूमा लोकतान्त्रिक व्यवहार र हरेक पार्टीमा लोकतान्त्रिक संस्कारले मात्र लोकतन्त्र मौलाउँछ । लोकतन्त्रको जग मजबुत हुन्छ । आवधिक निर्वाचनका साथसाथै संस्थाहरू पारदर्शी, जिम्मेवार र जवाफदेही भए मात्र लोकतन्त्र मजबुत हुनसक्छ । यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अन्ततः देशमा लोकतन्त्रको विकास गर्ने जिम्मेवारी पार्टीहरूको हो । त्यसैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रविना देशमा लोकतन्त्रको संस्थागत विकास हुन सम्भव छैन ।

आपैmँले निर्धारण गरेको संगठनको ढाँचाअनुसार, आपैmँले बनाएको विधानअनुसार पार्टी चल्न सक्ने कि नसक्ने ? आज बुद्धिजीवीहरूले प्रश्न उठाइरहेका छन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रश्न बारबार कांग्रेसमाथि उठिरहेको छ । नेता बलिया, पार्टी कमजोर । अर्थात् कमजोर पार्टीको बलियो नेता लोकतन्त्रका लागि हितकर मानिँदैन । कुनै पनि लोकतान्त्रिक दलमा नेता होइन नीति अपरिहार्य हुनु पर्दछ । विधि, पद्दति र नियम अपरिहार्य हुनु पर्दछ । यसो भए मात्रै पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित हुन्छ । नेताको अनुकूलमा विधि–पद्दति चल्ने होइन, विधि–पद्दति अनुकूल नेता चल्नु पर्दछ । चाहे पार्टी सञ्चालन होस् या राज्य, व्यक्ति होइन, विचार र विधिप्रधान हुनुपर्छ ।

हामी लोकतन्त्रको संस्थागत विकास गर्ने क्रममा छौँ । यस्ता कुरातर्फ गम्भीर नहुने हो र आफ्ना सुविधा अनुकूल विधि–पद्दति सञ्चालन गर्ने हो भने यहाँ लोकतान्त्रिक व्यवस्थाको निर्माण हुनै सक्तैन । अहिले नेपालमा जवाफदेहिताको अभाव खड्किँदै गएको छ । जनताप्रति उत्तरदायित्वको भावनाको परित्याग भइरहेको छ । जनताले दिएको जिम्मेवारी भुलेर जनप्रतिनिधिले सदनको उपेक्षा गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा नै विघटन गरिदिने र समस्याको समाधान खोज्न राजनीतिक मञ्चभन्दा बाहिर अदालतको शरणमा पुग्नुपर्नेजस्ता अवस्थाहरूको सिर्जना भइरहेका छन् । यसरी राजनीतिक क्षेत्र पंगु बन्दै जान थालेपछि, राजनीतिक संस्थाहरूमा भर पर्न नसकिने भएपछि समाधानको खोजीमा कहाँ कहाँ पुग्नुपर्ने हो, अराजकता बढ्दै जाँदा राजनीति कसको हातमा पुग्ने हो ? गम्भीर प्रश्न उठिरहेका छन् ।

आज कांग्रेसलाई आफ्ना नेताहरूका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता छ । नेताको भक्तिमा लिप्त नभइकन, मुलाहिजामा नलागिकन निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनु पर्दछ । महाधिवेशनले कसलाई कुन पदमा चयन गर्छ भन्ने मात्र प्रश्न होइन, यो भन्दा अहं प्रश्न यसले कुन दिशामा पार्टीलाई लैजान्छ भन्ने हो । कुन विचार र पद्दति स्थापित गर्छ भन्ने मुख्य चासो हो ।

नेपालमा लोकतन्त्र सुरक्षित र दीगो बनाउन नेपाली समाजमा लोकतन्त्रको जरा गहिरो गरी गाड्ने अभियानस्वरूप नेपाली समाजलाई लोकतान्त्रीकरण र लोकतान्त्रिक व्यवहार र आचरणमा अभ्यस्त गराउने अभियान नै चलाउनु अपिहार्य छ । यो अभियान अरू कसैले चलाउन सक्तैन, लोकतन्त्रकै लागि जन्मेको र लोकतन्त्रको पहरेदार रहँदै आएको नेपाली कांग्रेसले नै चलाउनु पर्नेछ ।

नेपाली समाजमा लोकतान्त्रीकरणको अभियान चलाउने अभिभारा बोक्नुपर्ने पार्टी नेपाली कांग्रेस पहिले आफैं आचरण, व्यवहार र अठोटबाट लोकतान्त्रिक हुनु जरुरी छ । अर्थात्, कांग्रेस पार्टीभित्रै आन्तरिक लोकतन्त्र र लोकतान्त्रिकरणको आवश्यकता छ । र, यसका लागि लोकतान्त्रिक र वैचारिक नेतृत्व आवश्यक छ । विचारले नै कुनै पार्टी र समाजलाई अगाडि जाने बाटो देखाउँछ । लोकतान्त्रिक विचार र आचरण नभएको नेतृत्वले न पार्टीलाई रूपान्तरण गर्न सक्छ न देशलाई नै ।

प्रथम राष्ट्रपति निर्वाचन प्रसंगमा मेरो नाम अघि सारिँदा मैले गिरिजाबाबुसँग भनेँ, ‘देशमा लोकतन्त्र अझै सुरक्षित हुन सकेको छैन । लोकतन्त्रको लडाइँ बाँकी नै देख्छु । त्यसैले म त्यो लडाइँ मैदानमै रहेर लड्न चाहन्छु ।’ नभन्दै त्यो बेलाको मेरो अन्दाज आज सही सावित भयो । लोकतन्त्रकै लागि हामीले अहिले पनि लड्नु परेको छ । जसरी राजाद्वारा लोकतन्त्रको अपहरण हुँदा मात्र होइन कम्युनिस्टबाट हामीमाथि हिंसा गरिँदा पनि हामी लडेका छौँ । राजाको तानाशाहीविरुद्ध १४ वर्ष जेल यातना र अनेक प्रताडना बेहोरेको मैले लोकतन्त्र पुनर्वहालीपछि पनि केपी ओलीबाट नयाँ संविधानमाथि आक्रमण गरियो त्यहाँ पनि मैले नै लड्नुप¥यो । त्यो लडाइँ मैले तनहुँको बुल्दीपुल उद्घाटन काण्डदेखि लडिरहेको छु । अधिनायकवादी सोचले अघि बढेको सरकारविरुद्ध बुल्दी पुलबाट सुरु भएको लडाइँ कानुनी मैदानमा पुगेर सकिएको छ । तर, यस्ता लडाइँ फेरि पनि लड्नु नपर्ला भन्नसक्ने अवस्था देखिँदैन ।

अमेरिकी लोकतन्त्रको दुई सय वर्षको इतिहासमा कहिल्यै नभएका कुराहरू लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाए । सत्ता पाएपछि मरिगए पनि छोड्नै नचाहने जुन प्रवृत्ति उनले देखाए, त्यो प्रवृत्ति अहिले नेपालमा पनि देखिइराखेको छ । आफ्नै पार्टीको बहुमत भएको संसद् दुई÷दुईपटक भंग गरेर केपी ओलीले जुन अधिनायकवादी चरित्र देखाए, त्यसविरुद्ध यहाँसम्म लड्नुपर्यो ।

संसद् जोगिएर एउटा खड्को टरे पनि लोकतन्त्रमाथिको संकट अझै टरेको छैन । महत्वाकांक्षीहरूबाट लोकतन्त्र जोगाउन मैले आफ्नै पार्टीभित्र पनि अथक संघर्ष गर्नु परिरहेको छ । जति भोग गरे पनि तृप्त नहुने नेतृत्वको पदलिप्सा, साम, दाम, दण्ड, भेद नीति अपनाएर आफ्नो सत्ता अकण्टक राख्ने प्रवृत्ति र नीतिभन्दा पनि नेतालाई महत्व दिने कार्यकर्ताको बानी व्यवहार लोकतन्त्रका लागि समस्या बनेका छन् ।

राम्रो काम गरेर ख्याति कमाउन नसक्ने, तिक्डमको भरमा सधँै सत्तामा हावी भइरहनुपर्ने प्रवृत्ति घोर अलोकतान्त्रिक चरित्र हो । तेस्रो विश्वका मुलुकहरू यस्तै म्याकियावेलियन प्रवृत्तिबाट आक्रान्त छन् । मैले चाहेको प्रवृत्ति परिवर्तन भनेको यो प्रवृत्तिलाई परास्त गर्नु हो । मेरो लडाइँ यही प्रवृत्तिविरुद्ध छ ।

संविधानसभाबाट निर्माण गरिएको संविधान र बहुलवादमा आधारित संसदीय लोकतन्त्र र संघीय गणतन्त्रलाई अनेकतिरबाट प्रहार गर्ने प्रयत्न भइरहेका छन् । फेरि पनि लोकतन्त्र रक्षाका खातिर संघर्षको विकल्प छैन । उमेरले अनुमति दिन्न कि भनेर विश्राम लिने अवसर मिलेकै छैन । आफ्नै करङ भाँच्चिने गरी प्रतिगमन विरुद्ध होमिनुपर्ने कर्तव्यको बाध्यता कायमै छ ।

महाधिवेशनको जिम्मेवारी
विषम परिस्थितिबीच हुन लागेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा देश र जनताको उज्ज्वल भविष्य निर्माण गर्ने महाधिवेशन बन्नुपर्छ । यो महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र मात्र नभएर समग्र राष्ट्रमा लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अवसर र थलो हुनु आवश्यक छ । माथिका विषयहरू निश्चय पनि महाधिवेशन अन्तर्गतका प्रक्रियामा सहभागी भइरहेका पार्टीका कार्यकर्ताका लागि सोचनीय विषय हुन् । त्यति मात्र होइन, गुटहरूमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने कि पार्टीको माया गर्ने ? पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्रको माया गर्ने, देशको माया गर्ने ? यी प्रश्न पनि गम्भीर छन् ।

कोरोना महामारी नसकिँदै हामी १४औँ महाधिवेशन गर्न बाध्य छौँ । यो नेतृत्वले थोपरेको बाध्यता हो । मैले गत ०७५ मंसिरको महासमितिमै कांग्रेसको सुनौलो भविष्यका लागि महाधिवेशन मात्र होइन पार्टीलाई जीवन्त गराउने क्यालेन्डर बनाऔँ र त्यसभित्र रहेर सबै काम सम्पन्न गरौँ भनेको थिएँ । त्यो कुरालाई नमानेर महाधिवेशनलाई धकेल्दै धकेल्दै ल्याएर यस्तो असहज अवस्थामा पुर्याइएको छ ।

कुनै देशको भविष्य त्यो देशको राजनीतिक सिद्धान्त, प्रणाली र आचरणले निर्धारण गर्दछ । हामी लोकतान्त्रिक समाजवादी सिद्धान्तमा विश्वास राख्ने मानिस हौँ । सरकार मात्र होइन हाम्रो पार्टी पनि यही सिद्धान्तबाट निर्देशित हुनु पर्दछ । हाम्रा नीतिमा मात्र लोकतान्त्रिक समाजवाद लेखेर लोकतान्त्रिक र समाजवादी हुँदैन हाम्रा नीति निर्माण प्रक्रिया, हाम्रा आचरण र व्यवहार पनि लोकतान्त्रिक र समाजवादी आदर्श अनुरूप हुनु पर्दछ । तर हाम्रो पार्टीमा लोकतान्त्रिक पद्दतीको क्षयीकरण भइराखेको महसुस हुन्छ । पार्टीको विधान अनुरूप पार्टी नचल्ने, राम्रालाई भन्दा हाम्रालाई मौका दिनेजस्ता कुराले पार्टीको साख गिराएको छ ।

लोकतन्त्रको जीवनाधार र गतिशीलताको आधार जनचाहाना र जनमतको अभिव्यक्तिको आधार आवधिक निर्वाचन हो । यसमा कुनै हेलचेत्र्mयाइँ हुनु हुँदैन । ‘कम्युनिस्ट फुटे हाम्रो फलिफाप हुनेछ’ भन्ने सोचाइ नादान हो । कांग्रेस आफ्नै दूरदर्शी दृष्टिकोण, खँदिलो विचार शक्ति, संगठन कौशल र निष्ठाको बलमा राष्ट्र र जनताको सेवा गरेर सम्पूर्ण नेपालीलाई आकर्षित गर्ने पार्टी बन्नुपर्छ । कठोर परिश्रम तथा नैतिक र चारित्रिक शक्तिको बलमा बहुसंख्यक मतदाताले सहजै पत्याइएको पार्टी बन्नुपर्छ । आफ्ना आदर्श र सिद्धान्त पूरा गर्न कांग्रेसलाई सुदृढ र एकताबद्ध पार्टी पंक्ति आवश्यक पर्छ । भाग्यमा भरपर्ने होइन कर्ममा विश्वास गर्ने कर्मशील कांग्रेस मेरो विश्वास हो । मिहिनेतको फल सारगर्भित हुन्छ, सर्वजन हिताय हुन्छ । लोकतन्त्र बचाउन, राष्ट्र जोगाउन र राष्ट्रको सर्वतोमुखी उन्नति गर्न कर्मशील कांग्रेस चाहिन्छ । कांग्रेसको लोकतान्त्रीकरण हुनुपर्छ । जनताको भरोसाको केन्द्र बन्ने गरी पार्टी सुदृढीकरण हुनुपर्छ ।
(आशन्न १४औँ महाधिवेशनका सन्दर्भमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडलले जारी गरेको अपिलको सम्पादित अंश)

प्रतिक्रिया