राजनीतिक दूरदर्शितामा निकासको मार्ग

प्रदीप उप्रेती

सम्प्रभू नागरिक समूहको दृष्टिकोणबाट प्राप्त हुन आएको सन्देशले लोकतान्त्रिक अभ्यासलाई प्रखर रूपमा अगाडि बढाउँदै दूरदर्शितायुक्त राजनीतिक निकासको मार्ग पहिल्याउने कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने देखिन्छ ।

राजनीतिक दर्शनको मूलचुरो पहिल्याउने क्रममा सम्बद्ध मुलुकको नागरिक समाजसँग भिज्ने क्षमताको अभिवृद्धि हुनु अत्यन्त जरुरी छ । किनकी नागरिक चाहना विपरीत चालिएका कुनै पनि दर्शनले मूर्तरूप हासिल गर्न सक्ने अवस्था रहँदैन । प्रभावहीन राजनीतिक दर्शनले लक्ष्य प्राप्तिमा सफलता हासिल गर्न नसकेकै कारण समस्या निम्तिने गरेको हो । तसर्थः समन्वयगत सञ्चालनकर्ताको दूरदर्शितामा सम्बद्ध मुुलुकको राजनीतिक भविष्य निर्धारण हुने गर्दछ । जसले नागरिक समाजप्रति कर्तव्यपरायण रहने संस्कृतिको विकास गर्दै असल राजनीतिक संस्कारको विकासको सम्भावनालाई बढ्वा दिने गर्दछ भन्दा त्यति फरक नपर्ला ।

आज पर्यन्त मुलुकमा प्रस्तुत तथ्यगत राजनीतिक दर्शनको अभाव रहेकै कारण निकासको मार्ग प्रशस्त गर्न कठिनाइ उत्पन्न भएको हो । राजनीतिलाई समाज केन्द्रित बनाउँदै जनहितकारी कार्यमा अधिकतर समय खर्चिनुपर्नेमा सो नभई व्यापारीकरण गर्ने दलीय चाहनाको चरम विकृतिले निम्ताएको समस्याको रूपमा यसलाई उजाग्रहण गर्न सकिन्छ । चुनावी खर्चलाई कसरी व्यवस्थापन गर्ने र भावी चुनावलाई कसरी आफ्नो पकडमा पार्ने भन्ने गलत मनसायको अभिवृद्धिलाई पक्कै पनि निकासयोग्य राजनीतिक दर्शनको दूरदर्शिता मान्न सकिँदैन ।

प्रस्तुत प्रवृत्तिको विकासले अब्बल राजनीतिक दर्शनको सुखानुभूतिको अनुभूतिको नेपाली नागरिक समाजलाई महसुस गराउन नसक्नुको साथै चुनाव केन्द्रित मनस्थितिको उग्रताले निश्चित रूपमा द्रब्य आर्जनमुखी कार्यलाई मात्र प्रोत्साहित गर्ने देखिन्छ । परिणामतः भ्रष्टाचारजन्य व्यवहारलाई सधैँ नै आर्थिक उदारीकरणको मूलमन्त्र मान्ने संस्कृतिको विकासले मुलुकमा भएका २००७, ०३६, ०४६ र ०६२÷६३ को राजनीतिक जनविद्रोहको बावजुद प्राप्त भएको राजनीतिक उपलब्धतामा पनि नागरिक समाजले दलिय चरित्रप्रति पूर्णरूपले विश्वस्त हुन नसकेको वर्तमान अवस्था हो ।

द्विविधाजन्य राजनीतिक घटनाक्रमको विकासले नागरिक समाजलाई थप राजनीतिक अन्योल्यताको जटिलतामा सामेल गराई नागरिक हितभन्दा पनि दलीय हितमा आवद्ध रहने कार्यले प्रोत्साहन पाएको देखिन्छ । यसप्रकारको कार्यको विकासले मुलुक र जनहित नगर्ने भएकोले प्रेरणादायी भूमिका निर्वाह गर्न सक्ने दूरदर्शितायुक्त क्षमतावान राजनीतिज्ञ र लोकतान्त्रिक समूहको खाँचो आजको आवश्यकता हो । तर, दुःखका साथ भन्नै पर्ने हुन्छ प्रस्तुत प्रवृत्तिको विकासमा अभाव रहेकै कारण मुलुकको राजनीतिले सही मूलधार पक्रन नसकेको मात्र हो । जनचाहना अनुरूपको राजनीतिक दिग्दर्शनमा भ्रमको खेती गर्ने समूहलाई लोकतन्त्रको पक्षधर मान्न सकिँदैन ।

राष्ट्रको साझा समस्याको रूपमा रहेको गरिबी एवं आर्थिक पछौटेपनलाई राजनीतिक मूलमुद्दा बनाई त्यसमा नागरिक समाजको ध्यान केन्द्रित गर्न सक्ने हो भने जनतामाझ जान लोकतान्त्रिक समूहलाई कुनै किसिमको कठिनाइ झेल्नुपर्ने छैन । प्रस्तुत क्रियाकलापको अभावमा हरेक दशकजसो कुनै–कुनै प्रकारको अराजक राजनीतिक परिवेशको जन्म हुने गरेको पाइयो भन्दा हामी कसैको पनि दुईमत रहने छैन ।
किनकी निश्चित रूपमा गरिबी निवारण गर्दै मुलुकले समृद्धि हासिल गर्नेछ भन्ने नागरिक अभिलाषामा तुषारापात भएकै कारण आज पुनः मुलुकमा राजनीतिक अशान्तिको वीजारोपण हुन थालेको महसुस गर्न सकिन्छ । जुन पक्कै पनि शुभ संकेत होइन । मुलुकको आर्थिक समृद्धि र विकासका लागि अति आवश्यक तत्व मानिएको विकासको लक्ष्यलाई आत्मसाथ गर्दै लक्ष्यप्रतिको दीर्घकालीन गुरुयोजनाको विकास हुनुपर्नेमा खाकासमेत तयार गर्नमा भएको ढिलाइले अन्य विकास निर्माण कुरा गर्नु नागरिक समाजलाई दिवास्वप्न प्रदान गर्नुवाहेक अन्यथा केही होइन भन्ने कुरा प्रमाणित गरेको छ । आर्थिक विकासको लक्ष्य बोकेको हाम्रा आर्थिक योजनाहरूले निर्धारित समयसीमाभित्र राजनीतिक अराजकताका कारण लक्ष्य प्राप्तिमा हुने गरेको गतिरोधलाई राजनीतिक विकृतिले निम्ताएको परिणामको रूपमा लिन सकिनेछ । प्रस्तुत क्रियाकलापको विकासले विशेषगरी नागरिक समाज एवं लोकतान्त्रिक समूहको सामान्जस्यको गतिमा आशंका र वितिष्णा जन्माउनेवाहेक अन्य कुनै ठोस राजनीतिक उपलब्धता हासिल हुने छैन भन्न सकिन्छ ।

लोकतन्त्रको विकासमा राजनीतिक–नागरिक समूहको अस्तित्वलाई पृथक राख्न मिल्दैन । यी दुबैको आन्तरिक सह–सम्बन्ध विस्तारबाट निश्चित रूपमा सम्बद्ध मुलुकको लोकतन्त्रको विकासले उल्लेख्य मात्रामा ऊर्जा प्राप्त गर्न सक्नेछ भन्ने विश्वास लिन सकिन्छ । किनकी नागरिक समाज– लोकतन्त्र र राजनीतिक दल एक अर्काका परिपूरक तत्व हुन् । जसको यथार्थमा सम्प्रभू नागरिक समाजको समस्यालाई उच्च प्राथमिकतामा राखी आफ्नो कार्ययोजना विस्तार गर्नुपर्ने हुन्छ । जहाँ राजनीतिक समूहले लोकतान्त्रिक मूल्य मान्यता अनुरूप सम्बद्ध मुलुकको राजनीतिलाई व्यवस्थित गर्दै लोकतन्त्रप्रति उत्तरदायी बहन गर्ने क्षमता अभिवृद्धि गर्नेछन् । तदुपरान्त नागरिक समाजको मन जित्ने कार्यले उच्च प्राथमिकता हासिल गर्ने प्रवल सम्भावना जीवन्त रहन्छ । किनकी लोकतन्त्रमा राजनीतिक दलको अनुपस्थिति रहन गएमा सकारात्मक गन्तब्य हासिल गर्न नसक्ने ठोकुवा गर्न सकिन्छ ।

लोकतन्त्रको नाममा एकपक्षले अर्को पक्षलाई दोषारोपण गर्ने हो भने अराजक परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । जसलाई दलीय राजनीतिको सबैभन्दा खराबपक्षको रूपमा लिन सकिन्छ । प्रस्तुत प्रवृत्ति हावी भएकै कारण गणतन्त्र प्राप्तीको डेढदशक भन्दा अधिक समय भुक्तान भइसक्दा समेत समुच्च रूपमा मुलुकका कुनै पनि राजनीतिक समूहले सही गन्तब्य पहिचान गर्न नसकेकै कारण जहिले पनि द्वन्द्वगत मनोदशामा आधारित राजनीतिक कुचक्रको वाहुल्यतामा आपूm र आफ्नो समूहलाई समाहित गरेको पाइयो । तसर्थ राजनीतिक समूहले लोकतन्त्रको पक्षधर रहने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि पूर्ण रूपले लोकतान्त्रिक संस्कृति अनुरूपको व्यवहारमा आएको न्यूनताले समस्या सिर्जना हुने गरेको मात्र हो ।

जसमा विशेषगरी सम्बद्ध मुलुकको मूल कानुन संवैधानिक मूल्य मान्यताको धरातलमा आधारित रहँदै विधिको शासनलाई आत्मसाथ गरी व्यवहारमा प्रदर्शन गर्नुपर्ने हुन्छ । मूल रूपमा दलीय रणनीति, नागरिक समाजप्रतिको जिम्मेवारीपूर्ण उत्तरदायित्व लगायतका आवधिक निर्वाचनहरू लोकतन्त्रका सुन्दर पक्ष हुन् । जसले दलीय हैसियतलाई माथि उठाउनुको साथै जनउत्तरदायी बन्न प्रत्येकपल हौसला प्रदान गर्नेछ । त्यसो भएको हुँदा लोकतन्त्र प्रति आस्थावान समूहले कुनै पनि हालतमा जनहित विपरीतका कार्य गर्न मिल्दैन भन्ने विश्व प्रचलित राजनीतिक सिद्धान्तका मूल्य एवं मान्यतालाई नेपाल पनि आत्मसाथ गर्दै आएको वर्तमान परिपेक्ष हो । अतः सम्प्रभू नागरिक समूहको दृष्टिकोणबाट प्राप्त हुन आएको सन्देशले लोकतान्त्रिक अभ्यासलाई प्रखर रूपमा अगाडि बढाउँदै दूरदर्शितायुक्त राजनीतिक निकासको मार्ग पहिल्याउने कार्यमा सहयोगीको भूमिका निवार्ह गर्ने देखिन्छ ।

प्रतिक्रिया