कांग्रेसको लज्जा

नेपाली कांग्रेसको तर्फबाट बाग्मती प्रदेशसभामा प्रतिनिधित्व गरेका सांसद नरोत्तम वैद्यविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा फौजदारी अभियोग दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने घोषणा गरेको भन्दै उनीविरुद्ध सत्तारूढ दलका कानुन व्यवसायीहरूले फौजदारी अभियोगको मुद्दा दर्ता गरेका हुन् । गत शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा बोल्ने क्रममा सांसद वैद्यले भनेका थिए, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक प¥यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्नेछु ।’

सांसद वैद्यको यो अभिव्यक्तिलाई उनकै पार्टी नेपाली कांग्रेसले आपत्ति जनायो । यो अभिव्यक्तिको सूचना पाउनासाथ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै आत्मालोचनासहित आफ्नो भनाइ फिर्ता लिन सांसद वैद्यलाई निर्देशन दिए । भोलिपल्ट शनिबार विशेष समय लिएर बोल्दै सांसद वैद्यले माफी मागे । आफ्नो भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरे । त्यसको भोलिपल्ट आइतबार सांसद वैद्यविरुद्ध फौजदारी अभियोग दर्ता भएको छ ।

यो प्रकरणले नेपाली कांग्रेसको साखमाथि ठूलो चुनौती थपेको छ । गरिमामय संसद्मा नेपाली कांग्रेसले कस्ता व्यक्तिलाई पु¥याएको रहेछ ? भन्ने प्रश्न एकातिर उत्पन्न भएको छ भने अर्कातिर प्रधानमन्त्री ओलीसँग माफी माग्नुपर्ने अवस्थामा नेपाली कांग्रेस पुगेको छ । जसको क्रियाकलापविरुद्ध संघर्ष गरिरहेको छ उसैसँग माफी माग्नुपर्ने अवस्था उत्पन्न्न हुनु भनेको नेपाली कांग्रेसका लागि सानोतिनो लज्जाको विषय होइन । राणा सरकारसँग माफी मागेर जेल मुक्त हुनुभन्दा जेलमै अनशन बसेर मृत्यु रोजेका कृष्णप्रसाद कोइरालाले जन्माएको पार्टी हो नेपाली कांग्रेस । पञ्चायत सरकारसँग कागज गरेर छुट्नुभन्दा आजीवन जेल बस्न तयार हुने कृष्णप्रसाद भट्टराईले हुर्काएको पार्टी हो नेपाली कांग्रेस । तर, आज आफ्नै पार्टीको नीति तथा सिद्धान्तविरुद्ध सांसदद्वारा आपराधिक चरित्र प्रदर्शन गरेकै कारण माफी माग्नुपर्ने अवस्थामा नेपाली कांग्रेस पुग्यो ।

यता माफी मागिसकेपछि पनि प्रधानमन्त्री ओलीको तर्फबाट सदासयता अपनाउन सकेको देखिएन । संसद्को बैठकमा सांसदहरूले दिएको अभिव्यक्ति विरुद्धको मुद्दा प्रक्रिया के कसरी अघि बढ्छ ? भन्ने सन्दर्भमा संविधानमै स्पष्ट व्यवस्था छ । तर, यो मामिलामा सरकार पनि चुक्यो ।
नेपाली कांग्रेसभित्र प्रशिक्षण तथा अध्ययनको कमी रहेको स्पष्ट देखिएको छ । विश्वमा जनअधिकारका लागि हुने क्रान्तिका दुई वटा मोडलहरू स्थापित छन् । एउटा हो हिंसात्मक प्रक्रिया । अर्को हो अहिंसात्मक प्रक्रिया । हिंसात्मक प्रक्रियाका प्रतिपादक रसियाका भ्यादिमिर इलिच लेनिन् हुन् ।

अहिंसात्मक प्रक्रियाका प्रतिपादक महात्मा गान्धी हुन् । नेपाली कांग्रेसले महात्मा गान्धीलाई आदर्श मान्छ । हिंसात्मक प्रक्रियाद्वारा गरिएको परिवर्तनको अन्त्य हिंसात्मक प्रक्रियाबाटै हुन्छ तर अहिंसात्मक प्रक्रियाबाट गरिएको परिवर्तन चिरस्थायी हुन्छ भन्ने महात्मा गान्धीको आदर्शलाई संयुक्त राष्ट्र संघले समेत अनुमोदन गरेको छ । महात्मा गान्धीको जन्म दिनलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवस घोषणा गरेको छ । नेपाली कांग्रेसले वर्षको दुईपटक गान्धी जयन्तीको दिन र महेन्द्रनारायण निधि जयन्तीको दिन अहिंसा दिवसका रूपमा विविध कार्यक्रम गर्छ । दूरदर्शी राजनेता गान्धीसँग प्रधानमन्त्री ओलीको तुलना गर्नु आपैm“मा असन्तुलित दिमागको उपज हो । त्यसमा पनि नेपाली कांग्रेसका सांसदद्वारा ओलीलाई गान्धीसँग तुलना गर्नु आपैmँमा अर्को आश्चर्य हो ।

सांसद वैद्यलाई फिर्ता बोलाउने निर्णय गरेको भए मात्रै पनि नेपाली कांग्रेसको साख बढ्ने थियो । मधेसीदल तत्कालीन संघीय समाजवादी पार्टीले यस्तो नजीर कायम गरिसकेको थियो । करिव एक वर्षअघि नेपालको चुच्चे नक्सा अनुमोदन गर्ने क्रममा आफ्नो पार्टीकी सांसद सरिता गिरीले संसद्मा आपत्तिजनक अभिव्यक्ति दिएपछि संघीय समाजवादी पार्टीले सांसद गिरीलाई तत्काल वर्खास्त गरेको थियो । मधेसीदल जत्तिको पनि सुझबुझ कांग्रेसले राख्न सकेन ।

प्रतिक्रिया