मत-विमत

सांस्कृतिक सौन्दर्य : गोदना

एससी सुमन २०७८ जेठ २७ गते ६:३४ मा प्रकाशित

एस.सी. सुमन

चित्रको माध्यमले स्वर्गमा आफ्नो समुदायसँग भेट हुने जनविश्वास रहेको पाइन्छ । कतै गोदनालाई चिकित्सकीय उपयोग पनि गरिन्छ । बच्चा अपांग भएमा उसको हातखुट्टाको विशेष स्थानमा गोदना खोपिन्छ, जसले गर्दा त्यो अंग क्रियाशील होस् भनेर । जसलाई विद्वानले चिनियाँ चिकित्सकीय ‘अकुपञ्चर’ पद्धतिसँग जोडने गर्छन् । कतै–कतै बच्चा नहुने महिलाको नाभीको तल्लो भागमा गोदना खोपी उनको कोख खुलाउने प्रथा पनि रहेको पाइन्छ ।

गोदना एउटा प्राचीन कला हो । गोदना खोप्ने वा गोद्ने प्रथा हामी कहाँ मात्र होइन, सम्पूर्ण विश्वमा यो प्राचीनकालबाट चल्दै आएको छ । गोदनाको शाब्दिक अर्थ हो कुनै सतहलाई पटकपटक छेडनु, अर्थात छिद्रित गर्नु । अर्थात् शरीरमा सियोको टुप्पोले खोपी बनाइने कलालाई गोदना, गोडैना वा ट्याटु कला भनिन्छ । यो एकचोटि खोपेपछि चित्राकृति शरीरमा रहिरहन्छ । आदिवासी जनजाति समुदायमा गोदना ज्यादै लोकप्रिय छ । हामीकहाँ पूर्व, मध्य तथा पश्चिम तराईका जिल्लामा बसोवास गर्ने विभिन्न समुदाय विशेष रुपले थारू, दुनुवार, सतार, उराँव, राजवंशी लगायत मिथिलाञ्चलमा विशेष गरेर महिलामा यो प्रथा अधिक देखिन्छ । गोदनाको उत्पत्ति र विकासको कुनै निश्चित प्रमाण उपलब्ध छैन । सामान्यतया विद्वानहरूको मान्यता छ कि मानव सभ्यताको विकास सँगसँगै यसको उत्पत्ति र विकास भएको हो । केही विद्वानको राय यस्तो छ कि जसरी आगोको अविष्कार जंगलमा एक्कासी रुख–रुखबीच वा ढुंगा–ढुंगाबीचको घर्षणबाट भयो त्यसरी नै गोदनाको अकस्मात भयो होला । एक्कासी काँडा घोचि वा काटिँदा भएको घाउबाट रक्तश्राव रोक्न खरानीको प्रयोगले घाउ निको भइसकेपछि जिउमा भएको अमिट चिन्हले यसको आविष्कारतिर औँल्याउँछ ।

गोदना खोप्ने कार्य कुमारी अवस्थामा तथा विवाह उपरान्त दुवै अवस्थामा हुने चलन रहेको छ । कुमारी कन्यालाई खोपिएको गोदनालाई ‘कुमाईर’ गोदना भनिन्छ । थारू समाजमा गोदना विषयमा आफ्नै धाराणा रहेका छन । विवाह भई पहिलोपटक बेहुली माइतीघर गएपछि गोदना बनाउने प्रचलन रहेको पनि पाइन्छ । शरीरका हात, गोडा, घाँटीमा गोदना खोपाएर नवविवाहिता बेहुली घर जाने चलन छ । गोदनाको सन्दर्भ आआफ्नो जाति समुदायमा विविध हुने गरेको पाइन्छ । कतैकतै विभिन्न प्रकारको गोदना अलंकरणलाई पहिचान चिन्हको रूपमा लिइन्छ । एक व्यक्तिलाई अर्को व्यक्तिसँग, एक जातीय समूहलाई अर्को जातीय समूहबाट र एक सांस्कृतिक क्षेत्रलाई अर्को सांस्कृतिक क्षेत्रसँग छुट्टयाउने गर्छ । यिनै चित्रको माध्यमले स्वर्गमा आफ्नो समुदायसँग भेट हुने जनविश्वास रहेको पाइन्छ । कतै गोदनालाई चिकित्सकीय उपयोग पनि गरिन्छ । बच्चा अपांग भएमा उसको हातखुट्टाको विशेष स्थानमा गोदना खोपिन्छ, जसले गर्दा त्यो अंग क्रियाशील होस् भनेर । जसलाई विद्वानले चिनियाँ चिकित्सकीय ‘अकुपञ्चर’ पद्धतिसँग जोडने गर्छन् । कतै–कतै बच्चा नहुने महिलाको नाभीको तल्लो भागमा गोदना खोपी उनको कोख खुलाउने प्रथा पनि रहेको पाइन्छ ।

कतिपय पुरुषले आफ्नो स्वयंको वा आफ्नो प्रियको, आफ्नो इष्टदेवी देवताको नाम खोपाउने चलन पनि रहेको छ । महिलाद्वारा आफ्नो पतिको नाउँ लेखाउने चलन पनि रहेको भेटिन्छ । केही देशमा त यसलाई व्यक्तिको साहससँग जोडेर पनि हेरिन्छ । आदिवासी जाति जसको अंगमा जति गोदना हुन्छ, त्यो स्त्री उति नै साहसी र निर्भीक हुन्छ भन्ने धारणा पनि रहेको छ । हुन पनि हो यतिको पीडा सहेर कुनै पनि सहासिलो व्यक्तिले नै गोदना गोदाउने साहस गर्छ ।

सर्वमान्य मान्यता यो छ कि गोदना महिलाको सर्वाधिक महत्वपूर्ण आभूषण हुने गरेको छ । गोदना निर्धन वर्ग समुदायका महिलाको सस्तो र सुलभ शृंगारको साधन रहेको छ । कुनै पनि सामाजिक जीवनको संरचनामा केही मौलिक तहको महत्वपूर्ण हात हुन्छ । जसले सम्पूर्ण जीवनशैलीलाई एउटा निश्चित धारतिर डो¥याइरहेको यथार्थलाई पनि गोदनाको अवधारणाबाट बुझ्न सकिने कुरा यस मैथिली लोकोक्तिले प्रस्ट पार्छ, ‘गोर देहमे गोदना, कारी देहमे गहना’ अर्थात् गोरो जिउ वा कालो जिउमा गोदनाले मानवद्वारा निर्मित मानवीय स्वभावको दिग्दर्शनको बोध गराउँछ ।

गोदनाका प्रसंगमा एउटा यस्तो अवधारणा पनि छ कि यो एउटा पवित्र गहना हो ‘जुन मृत्युपश्चात् सबै आभुषण मृत्यु भुवनमा रहे पनि गोदनासँगै जान्छ ।’ मृत्युपश्चात् केही सँगै जादैन सबै गरगहना यो मृत्युलोकमा नै रहिरहन्छ, सँगै केही जाँदैन । परलोक जाँदा मात्र गोदनाको साथ शरीरसँग रहन्छ । यिनै विश्वासको कारण गोदनाको स्थान गहनासरी नै शरीरको त्यो अंगमा बनाइन्छ जसरी त्यो अंगको गहना लगाइन्छ । कालान्तरमा स्थानीय परिस्थिति एवं जातिगत विश्वासको कारण गोदनासँग अनेका–अनेक मान्यता जोडिँदै गयो । यसरी यिनै मान्यताहरूबीच एउटा मान्यता यो पनि हो कि गोदनाको कारण प्रेतात्माले बिगार गर्न सक्दैन । यो शरीरको विभिन्न भागमा जस्तो अनुहार, घाँटी, छाती, हात, बाहुला, तीघ्रा, पिठ्ँयु, खुट्टा, हातखुट्टाको पञ्जामा खोपिन्छ । भिन्न–भिन्न जाति समुदाय्मा यसको छुट्टाछुट्टै अंगमा खोपिएको विशेष आकार–प्रकारको गोदनाको अभिप्राय भिन्न रहेको हुन्छ । तसर्थ यसलाई अंग लेखन पनि भनिन्छ । तर गोदना गोप्य अंगमा खोपिँदैन ।

‘बुंदकिया’ गोदना प्रायः सबै जाति समुदायमा अत्यधिक लोकप्रिय छ, जसमा बिन्दुको समूहले चित्राकृतिको निर्माण हुन्छ । बुंदकिया शब्दले बिन्दुलाई जनाउँछ । बाहुलामा पहुँची, बाजुबन्द, घाँटीमा हँसुलि, हैकल तथा गृमहार, हातमा हतशंकर जस्ता गरगहनालगायत ज्यामितीय आकारका तिनकोणमा, चौकोण, वृत्ताकार चित्राकृतिको बाहुल्यता रहेको हुन्छ । सूर्य, चन्द्रमा, बिच्छु, मयुर, हात्ती, घोडा, माछा, कछुवाको आकृति खोपिन्छ । मिथिला लोकचित्रकलामा यस्ता प्रचलित प्रतीकात्मक चिन्ह बनाउने प्रचलन रहेको छ । बिन्दुको समूहबाट सरलरेखा खोपिन्छ, जसलाई ‘सोझ डोरी’ भनिन्छ, यसैगरी वक्ररेखा बनाइन्छ, जसलाई ‘लहरिया’ डिजाइन भनिन्छ । फल, फूलपात, रुख, लहरा एवं जंगललाई प्रतीकात्मक रुपमा पनि बनाइन्छ । महिला र पुरुषमा बनाइने चित्राकृति फरक–फरक हुने गर्छ । पुरुषमा पुरुषार्थको प्रतीक भगवान विष्णुको शंख, चक्र, गदा, पद्म, भगवान शिव सँगसँगै ॐ, त्रिशूल, शिवलिंग वा हनुमान जस्ता चित्राकृति खोपाउने चलन रहेको छ ।

यसमा खोपिने चित्राकृतिहरू सरल र सहज स्वरुपमा खोपिन्छ । जो चित्रकलाको प्रारम्भिक चरण, जसलाई आदिमकालको रेखाचित्रको पुनरावृत्ति भन्न सकिन्छ । त्रिकोण, चतुर्भुज, षट्कोण, अष्टकोण, वृत्ताकारजस्ता ज्यामितीय आकारको बाहुल्यताले यसको पुष्टि गर्छ । आजको आधुनिक कालखण्डमा आधुनिक मेसिनको सहायताले जटिलभन्दा जटिल तथा सघन चित्राकृति खोपिन्छ । जसले गर्दा आधुनिक फेसनमा ट्याटुको लोकप्रियता बढ्दो छ । आजकल बनाइने आधुनिक ट्याटुमा विभिन्न रङ र चित्राकृतिमा व्यापक प्रयोग हुने गरेको छ ।

गोदना गोद्ने वा खोप्नको लागि तीन÷ चारवटा सियोलाई समूहमा बाँधिन्छ । टुकी बालेर माथि माटोको भाँडामा मोसो जम्मा गरी बाख्रीको दुधमा पानी वा मट्टितेलमा घोलेर बाक्लो घोल बनाइन्छ । कतै–कतै विशेष प्रकारको कालो मसी (कालो तिललाई राम्ररी भुटेर ल्यास–ल्यास तरल पदार्थ तयार पारिन्छ) प्रयोगमा ल्याइन्छ । बाँधिएको सियोको समूहले यो घोलमा चोपी शरीरको माथिल्लो छाला (त्वचा) मा पटकपटक बिस्तारै खोप्ने प्रक्रिया दोह¥याइन्छ । गोदना खोप्दा हुने पीडा (कष्ट) कम होस् भनी गोदना गोदने काम सामान्यतः बिहान चिसो समयमा गरिन्छ । जिउमा चित्राकृति खोपिसकेपछि बगिरहेको रगतमाथि तयार पारिएको कालो मसी दलिन्छ, जसले गर्दा कालो रङ छालामा भित्रसम्म जान्छ । तत्पश्चात् गोदना गोदिएको भागमा तेल र बेसारको घोलको लेप लगाइन्छ । यो कार्य सम्पादन गर्दा हुने अत्यधिक कष्ट बिर्सन विभिन्न प्रकारका गीत गाउने चलन पनि छ । यी लोक गीतहरू गोदना गीतको नाउँले प्रसिद्ध छन् ।

गोदना गोदने कार्य मुस्लिम महिलाले पनि गरेको पाइन्छ । जसलाई नट–नटिन भनिन्छ । यी घुमन्ते जाति हुन् । जसका पुरुषले शिकार तथा ‘अल्लाह–रुदल’ को गीत गाइ आफ्नो जीवनयापन गर्छन् भने महिलाहरू गोदना गोदने काम गर्छन् । यिनीहरू भिख माग्दैनन् । मध्यकालमा महिलाप्रति बढदै गएको हिंसा सम्भ्रान्त परिवारका लोग्नेमान्छे, राजा महाराजाले कसैका राम्रा छोरीबुहारी देखे लैजान्थे । यिनको शोषणबाट बच्न गोदनाले सौन्दर्य बढाउने खालका नभई कुरुप बनाउने शृंगारका रुपमा प्रचलित भयो । कथित तल्लो जाति भनेर हिन्दू मन्दिरमा उनीहरूलाई प्रवेश एवं शास्त्र पाठन बर्जित हुँदा, गोदनाको प्रयोग सामाजिक प्रतिकारको रूपमा आरम्भ गरियो । अतः उनीहरूले गोदनालाई यस प्रतिबन्धको विरोध स्वरुप आफ्नो शरीरमा राम–राम, ॐ, ॐ नमः शिवाय लेखी आफूहरू पनि हिन्दू हुँ भनी प्रतिकार गर्दा मन्दिर प्रवेश, पूजाआजा तथा शास्त्र पठन सहज बनाउँदै लगेको थियो । आज यस्ता शब्दावलीको प्रयोग फेसनको रुप लिइसकेको छ । अहिले त्यही गोदना आधुनिकतासँगै ट्याटुको रूपमा प्रयोग भइरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय