खतरामा दलीय व्यवस्था र लोकतन्त्र

डा. डिआर उपाध्याय

देशमा पटकपटक राजनीतिक परिवर्तन भए तर जनताको अवस्था हिजोजस्तो थियो आज पनि त्यस्तै छ । राजनीतिक परिर्वतन भए पनि जनताको अवस्थामा परिवर्तन आउन सकेको छैन । जनताको बलमा देशमा गणतन्त्र र लोकतन्त्र आएको छ । यसका साथै हामी अहिले संघीयताको अभ्यासमा छौँ । यो अभ्यासले के सिकाएको छ ? यो संघीयता देशका लागि अलि बढी महँगो भयो कि भन्ने बहस पनि चलेको छ । हामीले देखिरहेका छौँ कि आज यो व्यवस्था आएपछि राजनीतिक दल र तिनका नेताहरू मोटाउने र सर्वसाधारण जनता ऋण बोक्नेबाहेक अरू केही भएको छैन ।

राजनीतिक व्यवस्था परिवर्तन हुनु समयको माग थियो । तर राजनीतिक व्यवस्था परिवर्तन भएपछि जनताले जे अपेक्षा गरेका थिए, त्यो भने पाउन सकेका छैनन् । यो नै दुःखद् कुरा हो । नेपाली जनता आफैँ राजनीतिक परिवर्तनका लागि लडेर आएका हुन् । सत्तारूढ दल नेकपा एमालेले देश र जनताका लागि जे जति सेवा गर्नुपर्ने थियो, त्यो भने गर्न सकेको छैन । कारण के हो भने नेकपा एमालेभित्र आन्तरिक विवाद चरम रूपमा बढेर गएको छ । यसले देश र जनतालाई मात्र होइन, एमालेलाई समेत संकटमा पारेको छ । एमाले मिलेर जानुपर्नेमा विवाद गर्नु त्यति राम्रो कुरा होइन । आमजनता नेकपा एमालेको कार्यशैली देखेर निराश बनेका छन् । जनता निराश हुनु भनेको व्यवस्था माथिको नै खतरा हो । सकेसम्म जनतामा निराशा आउन दिनु हुँदैन ।

दलकै आसेपासे नातागोता आफ्ना कार्यकर्ताबाहेक अरूले रोजगार पाउन धेरै मुस्किल छ नेपालामा । देशमा जति राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । सरकारी प्रशासन जनताको पहुँच बाहिर छ । सेवा कतै निःशुल्क छैन । अस्पतालहरू, शैक्षिक संस्थाहरू बिचौलिया र व्यापारीको घेरामा छन् ।

आज देश बिचौलियाको घेराभित्र छ । यसरी देशको उन्नति, प्रगति हुँदैन । देश बनाउने सोच सबैमा हुनुपर्छ । आज देशमा सार्वजनिक सेवा प्रवाह त्यति सन्तोषजनक भइरहेको छैन । आफ्ना मान्छेलाई खुसी बनाउनेबाहेक अरू केही देखिएको छैन । यसरी जनताको भलाइ हुँदैन । जनताले लडेर ल्याएको व्यवस्था हो यो । नेताहरूले मनपरी गर्न पाइँदैन । जनताले विश्वास गरेर नेतालाई चुनाव जिताउँछन् ।

तर, चुनाव जितिसकेपछि जनतालाई बिर्सने बानी नेताहरूको छ । यसले गर्दा देशमा असन्तुष्टि बढ्ने गर्छ । जनप्रतिनिधिहरूले आफना जनतालाई सन्तुष्टि हुने खालको काम गरेर देखाउनुपर्छ । त्यसो भयो भने मात्र लोकप्रियता बढन सक्छ । जनप्रतिनिधिहरू दलाल र बिचौलियाको घेरा तोडेर अघि बढनुपर्छ । त्यसो भयो भने मात्र जनताले राहत पाउँछन । बेरोजगारलाई काम दिने भनियो, तर बेराजगारले काम पाएका छैनन् । अझै बेरोजगारी समस्या बढ्दै गएको छ ।

दलकै आसेपासे नातागोता आप्mना कार्यकर्ताबाहेक अरूले रोजगार पाउन धेरै मुस्किल छ नेपालामा । देशमा जति राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था हिजोजस्तो थियो आज पनि त्यस्तै छ । सरकारी प्रशासन जनताको पहुँच बाहिर छ । सेवा कतै निःशुल्क छैन । अस्पतालहरू, शैक्षिक संस्थाहरू बिचौलिया र व्यापारीको घेरामा छन् । संसारबाट कम्युनिस्ट पतन भएका थुप्रै उदाहरण छन् । कारण के हो ? नेतृत्वको व्यक्तिगत टकराव । कम्युनिस्टले विकास गरेको देश भनेको चीन हो ।

बिश्वको तुलनामा चीन कसरी अघि बढ्यो । चीनमा अनुशासन, इमानदारी र सुशासन छ । उद्योग र आर्थिक क्रान्ति नै भएको छ र पुँजीवादी अमेरिकासँग टक्कर गर्न सकेको छ । नेपालका कम्युनिस्टहरू नामधारी भए, व्यवहार र नीति कम्युनिस्ट भएन । नैतिकता, इमानको अभाव हुनु भनेको कम्युनिज्म हराउनु हो । जनताको टाउकोमा ऋण र महँगीको भार थपिएको छ । कम्युनिष्ट भनेको सर्वहारा वर्गका जनताको सेवा गर्ने पार्टी हो भनेर भनियो । तर, व्यवहारमा त्यस्तो देखिएन ।

त्यही विश्वासमा जनता कम्युनिस्ट पार्टीमा लागे । अब कम्युनिस्टहरूले सोच्ने बेला आएको छ । नेपालका सवै कम्युनिस्ट घटकहरू मिलेर एउटै कम्युनिस्ट पार्टी बनाइ देशमा विकासको फड्को मार्नुपर्ने देखिन्छ । फुटेर टुटेर कुनै कम्युनिस्ट पार्टीलाई फाइदा छैन । पछिल्लो समयमा आएर नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुबै नेता बीचको भेटवार्ताले साथर्कता पाओस् भन्ने आमकार्यकर्ताको चाहाना पनि छ ।

नेकपा एमालेका नेताहरू मिलेर जाँदा नै पार्टी बलियो हुन्छ । यदि मिल्न नसके पार्टी र नेताहरूलाई नै घाटा हुने हो । देश र जनताका लागि भन्दै भोकभोकै पार्टी निर्माण गर्न विगतमा कति कठिन भयो होला । आफैँले निर्माण गरेको पार्टी छाडेर अर्को पार्टी निर्माण गर्न खोज्नु कसैलाई राम्रो हुँदैन होला । पार्टीभित्र बसेर अन्तरसंघर्ष गर्नु सबैभन्दा राम्रो हुनेछ । एमालेको आन्तरिक किचलोले पार्टीलाई मात्र होइन, देशको भविष्यलाई समेत अन्योल बनाएको छ । पछिल्लो राजनीतिक गतिविधिले सबै कुरा गिजोलेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भए पनि एक हुने कुरामा अझै भरपर्दो र बलियो आधार निर्माण हुन सकेको छैन । हाम्रो विचार त मिलेर जानुहोस् भन्ने हो । प्रतिशोधको व्यवहार साँधेर बस्ने हो भने कसैलाई फाइदा छैन । दुवै नेताका अहंका कारण पार्टी विभाजन हुने खतरा बढेर गएको छ । यो पार्टी ओली र नेपाल मिलेर जोगाउनुहोस् ।

तपाईंहरूबीच अप्रत्यासित रूपमा भेटघाट भएको छ । यसलाई छिटो सार्थकता दिनुहोस् । बुधबार र बिहीबार तपाईंहरूबीच दुई चरणमा भएका संवादले आमकार्यकर्तामा केही सकारात्मक सन्देश तल्लो तहदेखि माथिसम्म दिएको छ । त्यसैले दुवै नेता मिलेर अघि बढनुहोस् । मेलमिलाप नै राम्रो कुरा हो । जनताको भरोसाको ख्याल राख्नुहोस् ।

फराकिलो छाती बनाएर पार्टीलाई एक ढिक्का बनाउनुहोस् । पार्टीको मिलनबिन्दु नै तपाईं दुई बीचको एकता हो । अघिल्लो चुनावपछि वाम गठबन्धनको बहुमत आउँदा जनतामा एकखालको उत्साह थियो । अहिले तपाईंहरू बीचको बेमेलले जनता निराश हुन पुगेका छन् । देशमा राजनीतिक अस्थिरता आउने हो कि भन्ने चिन्ता छ । गत निर्वाचनमा एमाले र माओवादी केन्द्र नमिलेको भए झण्डै दुईतिहाइ नजिकको बहुमत आउने थिएन । जनताले स्थिरताको जनादेश दिएका हुन् ।

तर, सत्ता स्वार्थको आन्तरिक खेलमा त्यो आधा कार्यकाल पनि राम्ररी टिक्न सकेन । एक वर्ष ननाघ्दै दलभित्रैबाट सरकारको खुट्टा तान्ने काम सुरु भएको थियो । यो नै मुलुक र पार्टी दुवैका लागि दुर्भाग्य भयो । सर्वोच्च अदालतको आदेशले दुवै पार्टीलाई आआफ्ना घरमा फर्कन बाध्य बनायो । माओवादीका धेरैजसो प्रभावशाली नेताहरू एमालेमै गए । दल कमजोर भए लोकतन्त्र पनि कमजोर हुन्छ । लोकतन्त्रमा दल फुटिरहे भने अरू शक्तिले फाइदा उठाउन सक्छन् ।

दलीय व्यवस्थामा दलहरू बलियो हुनुपर्छ । दलका नेताहरू सत्ता, पद र शक्ति जोगाउने खेलमा मात्र लागे भने देशमा सुशासन हुँदैन । देशले सुशासन खोजेको छ । नेताहरू झगडा नगर्नुहोस्, मिल्नोस् । त्यसो भयो भने मात्र देशको भलो हुन्छ । देशको अगुवाई गर्ने तपार्इंहरूले हो, मिलेर जानुहोस् । आज देश संकटमा छ, यसको निकास मिलेर छिटो दिनुहोस् । नेपाली जनताले अस्थिर राजनीति खोजेको होइनन् स्थिरता खोजेका हुन । जनताको भावना बुझेर नेताहरूले काम गर्नुपर्छ ।

नेताहरूले जनभावना विपरीत काम गरे जनताले निर्वाचनको माध्यमवाट दण्ड दिनेछन् । यो कुरा बुझेर काम गर्न जरुरी छ । लोकतन्त्रमा जनता भनेका सार्वभौमसत्ता हुन् । नेताहरूले जनतामाथि खेलवाड गरे चुनावबाट पत्तासाफ हुने निश्चित छ । देश र जनताको भविष्य निर्माणका लागि नेताहरू गम्भीर बन्न जरुरी छ । लोकतन्त्र प्राप्तिका लागि धेरैले ज्यान गुमाउनु परेको थियो ।

जनताको बलमा प्राप्त यी उपलव्धिहरूको रक्षा र संरक्षण गर्नु सवै लोकतन्त्रवादी शक्तिहरूको दायित्व र कर्तव्य हो । देशको विकास र जनताको भलाइ दलहरूले गर्नुपर्छ । दलबाहेक यो देशमा अर्को कुनै विकल्प छैन । दलीय व्यवस्थालाई बलियो बनाउन लोकतन्त्रवादी शक्तिहरू एक जुट भएर जानुपर्छ । दलहरू कमजोर हुँदा लोकतन्त्र कमजोर हुन सक्छ ।

प्रतिक्रिया