पुँजी बजारमा बढ्दो आकर्षण

                                         केबी बस्नेत

नेपालको आर्थिक विकासका लागि तीन वर्ष अघि बनेको नयाँ सरकारले महत्वाकांक्षी विकास लक्ष्य सुरु गरेको दुई वर्षमा पर्याप्त आधार बनाउनमा केन्द्रित भयो । तेस्रो वर्ष विकासले गति लिने समयमा ०७६ को पुसदेखि नै चीनको वुहानबाट फैलिएको कोरोनाले नेपाल पनि प्रवेश ग¥यो । ०७६ चैत ११ गतेदेखि यहाँ पनि बन्दाबन्दी गरियो । फलतः यहाँका सम्पूर्ण उद्योग, व्यापार, यतायात र होटेल व्यवसाय ठप्प हुँदा अर्थतन्त्र थला पर्यो र सरकारले स्वास्थ्यबाहेक कुनै पनि क्षेत्रमा ठोस काम गर्न सकेन ।

शिथिल भएको विश्व अर्थतन्त्र कोरोना विरुद्धको खोप बजारमा आएपछि केही सुधार हुने संकेत देखिएको छ । केही महिनाअघि विकसित मुलुकहरूमा सुरु गरिएका खोप कार्यक्रम नेपालमा पनि सुरु गरिएका छन् । यसैले अब यहाँको अर्थतन्त्रले पुनरुत्थानको गतिलिन सक्ने आशा छ । वस्तुतः वर्तमान समयमा सबैभन्दा महत्वपूर्ण विषय भनेकै सबल अर्थतन्त्र हो । यसका लागि पुँजीबजारले महत्पूर्ण भूमिका खेल्न सक्छ । कुनै पनि देशमा पुँजीबजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । यसले आजको यथार्थता मात्र बताउँदैन, भोलिको सम्भावना पनि इंगित गर्छ । यही कारण हाल पुँजीबजारले गति लिन थालेको हो ।

वर्तमान समयमा आर्थिक सुधारका केही लक्षणहरू देखिन थालेका छन् । तसर्थ पुँजीबजारमा लगानीकर्ताहरूको विश्वास बढ्न थालेको छ । यथार्थतः अर्थतन्त्रको सुधारको सबैभन्दा बलियो प्रमाण भनेको पुँजीबजार प्रति लगानीकर्ताहरूको बढ्दो आकर्षण हो । केही महिना यता नेपालको स्टक एक्सचेन्जमा विभिन्न कम्पनीको सेयरका भाउ तीव्ररूपले बढिरहेको छ ।

आज विश्व अर्थतन्त्र सन् १९२० को दशकको महामन्दी पछिको ठूलो संकुचनमा गएको छ । यति मात्र होइन, कोभिड–१९ को संक्रमणपछि यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वव्यापी रूपमा अवलम्बन गरिएको उपायहरूबाट उत्पादनदेखि आपूर्तिसम्मको श्रृंखला बिथोलिएको छ । जसका कारण विश्व अर्थतन्त्र संकुचनमा गएको छ । यो संकुचनबाट नेपाल पनि अछुतो हुन सकेको छैन ।

यही कारणले एकातिर लगानीकर्ताहरूको मनोबल बढिरहेको छ भने अर्कोतिर उनीहरूको संख्या पनि दिनदिन नै बढिरहेको छ । वास्तवमा लगानीकर्ताहरूको माग एवं आकर्षणलाई दृष्टिगत गर्दा सर्वसाधारणसँग पुँजीको कमी देखिँदैन । परन्तु उक्त पुँजी परिचालनका लागि सही व्यवस्थापनको भने खाँचो छ । त्यसैले यसका लागि सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुन जरुरी छ ।

आजकाल नयाँ कम्पनीहरूको प्राथमिक सेयर खरिद गर्न आह्वान गरेको अन्तिम म्याद नपुग्दै चाहेको भन्दा धेरै गुण बढी माग गरिन्छ । फलतः थोरैले मात्र प्राथमिक सेयर खरिद गर्न पाउँछन् । यसको मूलकारण थोरै वितरण र धेरै माग हुनाले हो । केही महिना अघिसम्म धेरैजसो जलविद्युत् कम्पनीको सेयरहरू खरिद गर्न नचाहने लगानीकताहरू अहिले उक्त सेयरहरू खरिद गर्न इच्छुक छन् । यति मात्र होइन उनीहरू आफूसँग भएका सेयर विक्री गर्न पनि त्यत्तिकै तत्पर छन् । यसबाट यो कुरा प्रतित हुन्छ कि सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण दिन प्रतिदिन वृद्धि भइरहेको छ ।

कोभिड–१९ को महामारीपछि विश्वभर धरैजसो सेयर बजार सूचांकहरू बढेका छन् । पेट्रोलियम मूल्यमा गिरावट आउनाले बहुमूल्य धातु र सेयर बजारमा प्रभाव परेको छ । कोरोनाअघि हङकङ, साउदी अरोबिया, दक्षिण अफ्रिका, स्विट्जरल्यान्ड, सिंगापुर, जापान, मलेसिया, अस्ट्रेलिया, थाइल्यान्ड आदि मुलुकहरूमा धितोपत्र बजारको आकार अर्थतन्त्रभन्दा ठूला थिए । यी देशका धितोपत्र बजारमा पर्याप्त मात्रामा अन्तर्राष्ट्रिय लगानी आउने भएकाले पुँजीबजार बढेको हो ।

केही समय यता अन्तर्राष्ट्रिय स्तरका ठूला कम्पनी सूचीकृत भएका र संसारभरबाट लगानी गर्न सकिने बजारकै अनुपातमा नेपालमा पनि सेयर बजारको आकार बढ्न थाल्यो । वर्तमान समयमा नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ । धेरै वर्ष अघिदेखि सेयर बजारको पुँजीकरणलाई अर्थतन्त्रको दुबै सूचक अर्थात् जिडिपी र पिएनआईसँग तुलना गर्ने चलन छ ।

यद्यपि धेरैजसो देशका अर्थतन्त्रमा हालसम्म पनि यसलाई जिडिपीकै अनुपातमा दाज्ने चलन विद्यमान छ । तर, पछिल्लो समय यसलाई जिएनआईसँग तुलना गर्न उपयुक्त हुने विश्लेषण गरिन थालिएको छ । किनभने यसमा स्वदेशी नागरिकहरूले विदेशमा कमाएको रकमसमेत जोडिने भएकोले तथ्य परक मानिन्छ ।

प्रतिक्रिया