आचार्यद्वयको कवाली गीत

काठमाडौं । गायक तथा संगीतकार दाजुभाईद्वय सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत रहेको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ गीत भिडियो सार्वजनिक भएको छ । कवाली शैलीको गीतमा राज खानदानमा प्रयोग हुने आदरार्थी शब्दको प्रयोग गरिएको छ । गीतमा शब्द अमृत खतिवडा (भाञ्जा भाई) तथा आचार्य दाजुभाईकै रहेको छ ।

सुदीप बरालको छायांकन रहेको भिडियोको सम्पादन अर्जुन जिसीले गरेका छन् । दीपकराज सुनारको कोरियोग्राफी गरेको भिडियो दरबारीया शैलीमा निर्माण गरिएको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोमा विवाहका लागि राजकुमारीलाई हेर्न दरबार पुगेका दुई राजकुमारलाई देखाइएको छ । जसमा उनीहरुबीच चलेको कवाली शैलीमा कथाको रुपमा प्रस्तुत गरिएको छ ।

अभिनेता पल शाहको दोहोरो भूमिका रहेको भिडियोमा राजकुमारीको भूमिका छुकिला शेर्पाले अभिनय गरेकी छन् । अभिनेता पलले राजकुमार दाजुभाईको भूमिकामा देखिएका छन् । साथै भिडियोमा गायक दाजुभाईद्वय आचार्यले कवाली गाएका छन् । त्यस्तै, होटल याक एण्ड यतीमा छायांकन गरिएको भिडियोमा कोरस कलाकारलाई समेत राजशाही ढंगले प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया