संसद् विघटनको संकेत

महेन्द्र पाण्डे

पार्टीका अत्यन्त सिनियर पाँच जना नेताहरूलाई दुत्कारेर पठाएपछि प्रधानमन्त्री ओलीले एक मिडियालाई अन्तर्वार्ता दिँदै भनेका छन्। ‘उहाँहरू आउनुभयो । पत्र बुझाएर जानुभयो । के छ त्यसमा, हेर्न बाँकी छ ।’ तर, बैठक बोलाउनेबारे ओलीको भनाइ छ, ‘जसले जतिखेर भन्यो त्यतिखेर बैठक बस्ने कुुरा होइन । जग हँसाउन बैठक बस्दैन ।’

आफ्नो पदको निरन्तरताका लागि मुलुकको शासन व्यवस्थालाई नै दाउमा राख्न प्रधानमन्त्री केपी शर्मा ओली उद्धत देखिएका छन् । मुलुकमा राज्यको उपस्थिति छ भन्ने अनुभव जनतालाई दिलाउन नसकेका कारण अलोकप्रिय बन्दै गएका प्रधानमन्त्री ओलीले ढाँट तथा छलकपटको राजनीतिलाई अरू तीव्र बनाएका छन् । ओलीकै कारण पार्टी नै धरासायी हुन लागेको भन्दै नेकपाकै वरिष्ठ नेताहरूले बैठक बोलाउन आग्रह गरेका छन् । तर त्यो आग्रहलाई प्रधानमन्त्री ओलीले अस्वीकार मात्रै गरेका छैनन्, थप चुनौती दिएका छन् ।

मुलुक विषम परिस्थितिमा पुगेको बेला संसद्को बैठक बोलाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पटकपटक आग्रह गर्दै आएको छ, तर गत असारमै बजेट अधिवेशन हठात अन्त्य गरेका प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशन बोलाउने कुनै सुरसार गरेका छैनन् । सकेसम्म संसद्को अधिवेशन नै नबोलाउने रणनीतिमा उनी छन् । तर, संविधानले नै संसद्को एउटा अधिवेशन र अर्को अधिवेशनको अवधि ६ महिनाभन्दा बढी नहुने वाध्यकारी व्यवस्था गरेकोले आगामी पुस भित्रमा उनले कुनै पनि हालतमा संसद्को अधिवेशन बोलाउनु पर्नेछ ।

तत्कालीन एमाले र माओवादी एकीकरण भई नेकपा निर्माणका क्रममा ओली र प्रचण्ड दुवै जना अध्यक्ष रहने व्यवस्था गरिएको थियो । तर यो व्यवस्थालाई ओलीले धोती लगाइदिएका छन् । ओलीले भनेका छन्, ‘म प्रथम अध्यक्ष हो । उहाँ द्वितीय अध्यक्ष । हामीकहाँ प्रथम अध्यक्षचाहिँ झन् सेरोमोनियल हुन्छ र ? द्वितीय अध्यक्ष भनेको द्वितीय अध्यक्ष नै हो । तैपनि, सभापतित्व गर्नुस् तपाईं भनेर छाडिदिएको छ । चलाउनुस् न त, छाडिदिएकै छ । अनि के पुगेन अझै ?’

मुलुकको संविधान तथा निर्वाचन आयोगले नेकपाको अध्यक्षका रूपमा ओलीलाई मात्रै चिन्ने भएका कारण पनि प्रचण्ड संकटमा परेका छन् । एकीकरणका बेला प्रचण्डले ‘जम्बो जेटका हामी दुई जना पाइलट’ भन्दै उद्घोष गरेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका ओलीले यतिबेला दुई अध्यक्षको प्रावधानलाई धोती लगाइदिएपछि प्रचण्ड संकटमा छन् । गत शनिबार उनी पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल तथा पूर्व उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई लिएर सचिवालयको बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । यो टोलीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई छिटो बैठक बोलाउन माग गर्दै निवेदन पनि दिएको छ । बैठक बोलाउनकै लागि ओलीलाई निवेदन दिनुपर्ने हैसियतमा पुगेका प्रचण्डले अझै पनि पार्टीको अध्यक्ष हुँ भन्न छाडेका छैनन् । यदी उनले आपूmलाई पार्टीको अध्यक्ष ठानेका हुन्थे भने आफै बैठक बोलाउने थिए । बैठक बोलाइदेउ भन्दै निवेदन लिएर ओलीकहाँ डेलिगेसन जानुपर्ने थिएन ।

प्रचण्डले के का लागि सचिवालयको बैठक बोलाउन माग गरेका हुन् ? र ओलीले बैठक बोलाउन किन आनाकानी गरेका हुन् ? भन्ने कुरा प्रष्ट छ । पार्टीको सचिवालय नौ सदस्यीय छ । जसमा प्रधानमन्त्री ओली, तीन जना उपप्रधानमन्त्री प्रचण्ड, नेपाल र खनाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, दुई जना पूर्वउपप्रधानमन्त्रीहरू बामदेव गौतम र नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा छन् । जसमध्ये पाँच जना प्रचण्डतिर छन्, चार जना ओलीतिर छन् । प्रचण्डले सचिवालयको बैठकमा आफ्नो राजीनामाको प्रस्ताव राख्ने र त्यो प्रस्ताव बहुमतले पारित हुने कुरा ओलीलाई थाहा छ । त्यसैले उनी बैठक राख्न तयार छैनन् । त्यसैले बैठक बोलाउन माग गर्दै शनिबार बालुवाटार पुगेका पाँच जना नेताहरूलाई प्रधानमन्त्री ओलीले दुत्कारेर पठाएका हुन् । ओलीले प्रष्ट भनिदिएका छन् , ‘कसैले माग गर्दैमा बैठक बस्दैन, आवश्यकताअनुसार बैठक बोलाउँछु, यदि मेरो यो कुरा मान्य छैन भने तपाईंहरूले जे सक्नुहुन्छ त्यही गर्नोस्, मैले जे सक्छु त्यही गर्छु ।’

पार्टीका अत्यन्त सिनियर पाँच जना नेताहरूलाई दुत्कारेर पठाएपछि प्रधानमन्त्री ओलीले एक मिडियालाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘उहाँहरू आउनुभयो । पत्र बुझाएर जानुभयो । के छ त्यसमा, हेर्न बाँकी छ ।’ तर, बैठक बोलाउनेबारे ओलीको भनाइ छ, ‘जसले जतिखेर भन्यो त्यतिखेर बैठक बस्ने कुुरा होइन । जग हँसाउन बैठक बस्दैन ।’

उनले भनेका छन्, ‘गुटमा सधैँ प्रधानमन्त्रीको आलोचना गरेको छ, प्रधानमन्त्री भएन भनेको छ । प्रधानमन्त्री भएन भनेको के हो ? को हुनुपर्छ भनेको ? आफू हुनुपर्छ भनेको हो ?’ यसैगरी ओलीले भनेका छन्, ‘त्यसभन्दा अगाडिको लडाइँ केका लागि थियो ? के इस्यु थियो ? व्यक्तिगत स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा, व्यक्तिगत कुण्ठा र ईष्र्याबाहेक के थियो ? सैद्धान्तिक मुद्दा थियो ? वैचारिक मुद्दा थियो ? राष्ट्रिय मुद्दा थिए केही ? केही पनि थिएनन्, खाली गुटबन्दी गर्ने, गुटका बैठक बस्ने, त्यहाँबाट निहुँ खोज्ने, त्यति न थियो । त्यो दुष्प्रयास सफल नभएपछि सहमति खोज्नुपरेको हो । सहमति खोज्न मानियो । मञ्जुर गरियो । सहमति जसरी भए पनि चाहिएको थियो । जे–जे भनेर सहमति हुन्छ भने त्यही गरौँ भनेर गरियो । म महाधिवेशनबाट निर्वाचित अध्यक्ष हँु । अहिले पनि त्यही हैसियतमा यता पनि प्रथम अध्यक्ष हँु । अरू कसैको कतै बहुमत छ, मेरो प्रतिस्पर्धामा प्रतिद्वन्द्वितामा कसैको बहुमत छ, म अल्पमतमा परेँ भन्ने कसैलाई भ्रम नरहोस् ।’

प्रधानमन्त्री ओलीले आफ्ना कुरा सार्वजनिक रूपमै प्रष्ट गरिसकेका छन् । प्रचण्डका अगाडि कि त पार्टी विभाजन, कि त आत्मसमपर्णबाहेक अर्को विकल्प छैन । यदी यी पाँच जनाको साथ सहयोग प्रचण्डले पाउनसके भने ओलीलाई फाल्न सजिलै सक्छन् । तर, साथ सहयोग लिनका लागि उनी आपैmँ भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत भएर संभव छैन । माधव नेपाल समूहसँग पनि प्रचण्डप्रति ओली जत्तिकै तीतो अनुभव छ । केही महिना अघिसम्म ओलीले प्रचण्डकै सहयोगमा आपूmलाई पेलेको तीतो अनुभव नेपालसँग छ । त्यतिबेला प्रचण्डले ओली र नेपालबीच फाटो ल्याउने र आपूm हावी हुने रणनीति अवलम्वन गरेका थिए । यो रणनीतिमा उनी सफल भए, तर आपूm हावी हुने रणनीतिमा भने सफल हुन सकेका छैनन् । माधव नेपालको साथविना उनले ओली फाल्दैनन् । आफू प्रधानमन्त्री बन्ने अवस्था भए मात्रै ओली फाल्न माधव तयार हुने अवस्था छ । ओलीलाई फालेर माधवलाई प्रधानमन्त्री बनाउनु भनेको प्रचण्डका लागि अर्को आत्माघाती कदम हुनेछ ।

यता ओलीलाई फाल्ने एक मात्रै बाटो भनेको प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याउनु हो । तर, नेपाली कांग्रेसको सहयोगविना ओलीविरुद्ध ल्याइने अविश्वासको प्रस्ताव सफल हुन सक्दैन । प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि कांग्रेसले साथ दिने संभावना छैन । किनकी ०७४ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीति दाउमा राखेर प्रचण्डकी छोरीलाई भरतपुर महानगरपालिकाको मेयर बनाए । तर, असोज सकिँदा नसकिँदै देउवालाई ज्यादै ठूलो धोका दिएर प्रचण्ड ओलीसँग मिल्न गए । त्यसैले फेरी अर्कोपटक धोका पाउनका लागि देउवाले प्रचण्डलाई साथ दिने संभावना छैन । यता तत्कालीन माओवादीद्वारा निर्वाचित भएका ५३ सांसदमध्ये आधाजसोले प्रचण्डको साथ छाडिसकेका छन् । उदाहरणका लागि रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लेखराज भट्ट, चक्रपाणि खनाल, मणि थापा, टोपबहादुर रायमाझीलगायत तत्कालीन माओवादीका धेरै नेताहरू प्रचण्डलाई कुनै पनि हालतमा पार्टीमा हावी हुन नदिने अभियानमा छन् । यता नारायणकाजी श्रेष्ठ लगायतका केही नेताहरू माधव नेपालको पक्षमा उभिएका छन् । प्रचण्डको यो कमजोर अवस्थाका कारण नै ओली उत्साहित भएका हुन् । तर, ओलीको यो उत्साहको परिणाम मुलुककै लागि घातक हुने देखिएको छ ।

प्रतिक्रिया