घिसिङलाई देवत्वकरण गर्नु लाजमर्दो

प्रा.डा.बद्रीविशाल पोखरेल

गोयबल्स शैलीका दुष्प्रचारमा परेर आठ/नौ वर्षका बालबालिकाहरूले समेत कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी अध्यक्ष पुनर्नियुक्ति गर्नुपर्छ भने । यही सतही सडक आवाजलाई पोखरेलले आड लिएर घिसिङलाई एक टेलिभिजन कार्यक्रममा देवत्वकरण गरको देखेर लाज नै लजायो ।

नेकपा स्थायी समिति सदस्य रहेका नेता लीलामणि पोखरेलका धेरैजसो अद्वन्द्ववादी विचार व्यक्त अचम्म लागेर यो लेख लेख्न बाध्य भइयो । गोयबल्स शैलीका दुष्प्रचारमा परेर आठ/नौ वर्षका बालबालिकाहरूले समेत कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी अध्यक्ष पुनर्नियुक्ति गर्नुपर्छ भने । यही सतही सडक आवाजलाई पोखरेलले आड लिएर घिसिङलाई एक टेलिभिजन कार्यक्रममा देवत्वकरण गरको देखेर लाज नै लजायो । ०७२ सालमा भारत र नेपालका प्रधानमन्त्री मोदी र ओलीका बीच विद्युत् खरिद सम्झौता गरेर ४०० के.भी.ए. प्रसारण लाइन उद्घाटन गरिएको थियो । अनि राधा ज्ञवाली ऊर्जा मन्त्री हुँदा ३० किलोमिटरमा आन्तरिक विवादका कारण नबनेको ६ वटा टावरसहित अन्य भौतिक संरचनाहरू भूतपूर्व प्रधानमन्त्री सुशील कोइरालाले सात करोड निकास गरिदिएर बनेको यथार्थ सत्य लीलामणिलाई थाहै भएन ।

कुलमानले ऊर्जा मन्त्री, प्रधानमन्त्री तथा सरकारले लोडसेडिङ अन्त्यका लागि सहयोग गरेको सतही कुरा गरे । तर, त्यसको अन्त्यका तथ्य, सत्य र वास्तविक आधारहरू उनी बताउनै चाहँदैनन् ।  यी सबै कुरा बताउँदा आफ्नो भूमिका कमजोर हुने अवस्था उनले देखे र भनेनन् । उपर्युक्त यति सामान्य तथ्य लीलामणिसमेत देख्न, सुन्न र भन्न किन सकिरहेका छैनन् ? विद्युत् प्राधिकरणमा विगतमा कार्यरत पोखरेल थरि कर्मचारी कवि तथा प्राज्ञलेसमेत घिसिङका पक्षमा र समर्थनमा फेसबुकमा स्टाटस उल्लेख गरेर पछि सत्य कुरा थाहा पाएर मेटाएको यस लेखकलाई बताएका छन् ।

उनलाई प्राधिकरणका उनैका उसबेलाका कर्मचारी मित्रहरूबाट घिसिङले मोटो आर्थिक लगानी गरेर आफ्ना पक्षमा मिडियाबाजी गरे गराएको थाहा पाएपछि पोखरेल पछि हटेका रहेछन् । प्रायोजित अराजक सडक आन्दोलनलाई समर्थन गर्ने नेकपाका स्थायी समितिका नेताहरूको अवस्था चिन्ताजनक देखिन्छ । माओले झैँ यिनलाई बेस्सरी समात भनेर सिकाउनुपर्ने अवस्था देखिन्छ । किनकि यिनीहरू के समात्ने, के नसमात्ने भन्ने नै जान्न छोडेका छन् । पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले कुलमानको चार वर्षे कार्यकालको यथार्थ सत्य उल्लेख गरेको पनि नसुनी कान नछामी माथिल्लो तहका नेता नै दौडिएको देखिन्छ । तैपनि कुलमानको व्यवस्थापकीय कौशल राम्रो रहेको बताइन्छ । ज्ञवाली भने कुलमानलाई पुनः कार्यकारी अध्यक्षमा पुनर्नियुक्ति गर्नै पर्ने औचित्य देख्दैनन् । अझ पार्टी प्रवक्ताले समेत कुलमानलाई देवत्वकरण गर्दै उनको पुनर्नियुक्तिका लागि दोबाटे टिप्पणी गरेर आफ्नो जग हँसाएका थिए । लीलामणि पोखरेलले आन्दोलनको अगुवाइ गर्ने लामो चुल्ठो पालेका एक थापा थरी चतुर युवाको जत्तिको सञ्चार प्रचारको महत्व नबुझेको देखेर अचम्म लाग्यो । ती थापा थरी युवाले सारमा गोयबल्स शैलीमा सामाजिक सञ्जाललाई भाइरल बनाएर आमजनतालाई सरकारविरुद्ध भड्काएर भ्रमजालमा पार्नु रहेको बताए ।

हुँदाहुँदा सूर्य थापाले एकपाखे भनेको विषयलाई पाखे भनेकै हो भन्ने सम्मको भ्रम समाज पस्किँदै प्रभावित पार्न केही युवाहरू क्षणिक रूपमा सफल पनि बनेको देखिन्छ । केही डप्फा युवाहरू बर्दीधारी साइबर सेनाका रूपमा सडकमा परिचालित देखिन्छन् । तिनले गोयबल्स शैलीमा ०६२÷६३ पछिको प्राप्त उपलब्धि उल्ट्याउने र सरकारका देश र केही नदेख्ने खालका भ्रमहरू भुइँ तहमा छरिरहेको देखिन्छ । नेकपामा तल्लो तह अझै बलशाली देखिन्छ । उनीहरू सरकारका सकार र नकार दुवै लेखाजोखा गर्न सक्षम देखिन्छन् । तर वर्दीबिनाका साइबर सेनाहरू पार्टीको स्थायी समितिमा नै रहेको यस लेखकले देखेको छ । तिनले ओली सरकारलाई हिलाको किलो झैँ अनावश्यक विवाद झिकेर हल्लाइरहेको स्पष्ट हुन्छ । ओलीको नेतृत्वमा सरकार बन्न नदिने, बनिहाले त्यसको विरोध मात्र होइन उछित्तो काड्ने र सरकार बनेको ६ महिनापछि नै ज्येष्ठ नागरिक भत्ता किन नबढाएको भनेर ओली समकक्षी नेताले सरकारविरुद्ध उत्तेजित अभिव्यक्ति दिएर कार्यकर्ता भड्काएका थिए । अहिले पनि आफू देशभरि घुम्छु तर कोही पनि सरकारका कामबाट खुसी छैनन् भन्छन् ती उपल्लै तहका नेता । जिल्ला तहका नेताहरूले त्यस्ता सडकछाप भ्रमहरू निवारण गर्दछन् भने तर माथिल्लो तहको नेता उल्टो गोयबल्स प्रचारको आगोमा घिउ हालिरहेको देखिन्छ ।

स्थायी समितिका नेताहरू अन्तर्वार्तामा पहिले नै सरकारका विरुद्ध प्रलाप गछनर्् अनि अन्त्यतिर मसिनो र सुस्त बोलीमा सरकारले काम नगरेको त होइन भन्छन् । नेताका बोलीमा कुनै जोणकोण पाइन्न । सरकारका सकारलाई प्रभावकारी रूपमा पक्ष पोषण नगर्ने अनि मात्र कमजोरी औँल्याउने काम गरेको देखिन्न । अचम्म त के छ भने लोककृष्ण भट्टराई तथा कमल कोइरालाजस्ता पाका नेताहरू काँचोकचिलो र एककाँटे अभिव्यक्ति दिइरहेको देखिन्छ । बरु नेता केशव बडाल, युवा विद्यार्थी ऐन महर छरिएका तमाम भ्रमहरू तर्कपूर्ण रूपमा खण्डन गरिरहेको देखिन्छ । बोना पार्टले चार वटा विरोधी पत्रिका चार हजार सेनाभन्दा डरलाग्दा हुन्छन् भनेका छन् । त्यस्तै अर्का वरिष्ठ पत्रकार ओस्कार वाइल्डले पनि अमेरिकामा राष्ट्रपतिले चार वर्ष शासन गर्छन् तर पत्रकारिताले सधैँसधैँ शासन गरिरहेको हुन्छ भनेका छन् । यसको अर्थ पत्रकारिता सही वा गलत जस्तो भए पनि त्यसको बहुतै गम्भीर तथा दूरगामी प्रभाव वा कुप्रभाव पर्छ । त्यति मात्र होइन लीलामणि पोखरेललगायत केही नेताहरू सैद्धान्तिक वैचारिक दृष्टिले कुहिराको काग बनेको देखिन्छ । सैद्धान्तिक उग्रवाद र अवसरवादका कारण नेताहरू जनताको बहुदलीय जनवादको हचुवा तालले विरोध गरिरहेको देखिन्छ ।

जननेता मदन भण्डारीले जबजमा समाजवादको स्पष्ट खाका कोर्नु भएको छ । उहाँले समाजवादमा पनि बहुदलीय प्रतिस्पर्धा हुने स्पष्ट उल्लेख गर्नु भएको छ । यसको अर्थ राजनीतिक र आर्थिक अधिकार सहितको समाजवादको स्पष्ट रुपरेखा कोरेको देखिन्छ । चीन र भारतको भन्दा भिन्न खालको जनतान्त्रिक वा लोकतान्त्रिक समाजवाद नै नेपालको समाजवाद हो । तर यस गम्भीर अन्तर्य पोखरेललगायत केही उपल्ला तहका नेताहरूले बुझेका छैनन् ।

जननेता मदन भण्डारीका अगुवाइ तथा नेतृत्वमा प्रतिपादित जनताको बहुदलीय जनवादले जनवादी क्रान्ति पूरा गर्ने मात्र होइन, यसले समाजवाद स्थापना गर्ने सुस्पष्ट दिशानिर्देश गरेको देखिन्छ । त्यसैले जननेता मदन भण्डारीले जबजमा ०४९ सालमा नै अहिले परिवर्तित संघीय लोकतान्त्रिक गणतन्त्र कालमा क्रमशः गर्नुपर्ने कामको प्राथमिकताका तीन अवधिहरू उल्लेख गर्नुभएको छ । उहाँले पहिलो अवधि – पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि । दोस्रो अवधि – नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसावले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि । तेस्रो अवधि –समाजवादमा संक्रमणका निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने अवधि ।

त्यसैले भण्डारीले समाजवादमा पुग्ने हतारोले नयाँ व्यवस्था र समाजको जग कमजोर छँदै एउटा खुट्टो दरोसँग नटेकी अर्को खुट्टा उचाल्ने पक्षमा छैनौँ पनि भन्नुभएको हो । अहिले प्राप्त उपलब्धि भनेको समाजको उपरिढाँचा वा आधेयमा भएको परिवर्तन हो । संघीय लोकतान्त्रिक गणतन्त्र अहिले सामन्तवादी जग र जरामाथि टुक्रुक्क बसेको अवस्था हो । कार्लमाक्र्सले भनेझैँ अहिले पनि नेकपाका धेरैजसो उपल्लै तहका नेताहरूमा पुरानै शाषक र शाषन व्यवस्थाका विचार र संस्कृति हाबी रहेको हुनाले समयसन्दर्भ विपरीत बोलिरहेको देखिन्छ ।

पुष्पलाललाई नेपाली कांग्रेसको पुच्छर र गद्दार घोषणा गरेपछि र यसका आधारमा पार्टी विस्तार गरेर लामो समय व्यतीत गरेपछि उहाँले लिएको सही संयुक्त जनआन्दोलनको दूरगामी सही नीति स्वीकार्न उग्रवादले छेक्यो । यसलाई समयमै नबुझेर ३०औँ वर्ष पछि परेझैँ जबजको दूरगामी महत्वको सिद्धान्त नबुझेर नेताहरू अरू लामो समय भौँतारिने खतरा देखिन्छ । ‘भुइँको टिप्न खोज्दा पोल्टाको खसेझैँ’ भयो भने त्यो जस्तो दुर्भाग्य केही हुँदैन ।

भोल्टेयरले ‘म आफ्ना प्रतिद्वन्द्वीसित एक्लै सामना गर्न सक्छु तर दया गरेर आफन्तहरूबाटै बचाउनु होला प्रभु’ भनेझैँ यो सरकार र अझ प्रधानमन्त्री ओली पार्टी स्थायी समितिका बर्दीबिनाका साइबर सेनाको चक्रब्यूहमा हुनुहुन्छ । तर, यस बेला ओलीप्रतिका इष्र्याभावले देशको शान्ति, समृद्धि र स्थायित्व खतरामा पार्नु हुँदैन । अहिले नेकपा इतिहासमै अत्यन्त कमजोर मात्र होइन निम्छरो देखिन्छ । आठ लाख सदस्य संख्या रहेको सबै हिसाबले सबल पार्टी भनिएको यो पार्टीलाई केही युवाहरूका प्रायोजित प्रोपोगण्डाका कारण हल्लिरहेको देख्नुपरेको छ । ‘सय थुकी नदी’ भनेझैँ सबै खालका भ्रमहरू फेसबुक आदि सामाजिक सञ्जाल प्रयोग गरेर निस्तेज गर्न सकिन्छ । तर, पार्टीमा यस खालका चुरो देखिन्न । सखुवाको रुखलाई सय वर्ष खडा, लडा र पडा पार्ने क्षमता त्यसको चुरो हो । तर, पार्टीमा पलाँस, बोक्रा, पात र हाँगाबिँगाहरू धेरै देखिन्छन् । पार्टीको मुहान नै धमिलो हुन थालेपछि तलतल सङ्लो पानी बग्न सक्तैन । अहिले त्यही भइरहेको देखिन्छ ।

प्रतिक्रिया