विद्यालय भवन पुनर्निर्माणले गति लिँदै

अच्युत रेग्मी

सरकारले भूकम्पले क्षति पुर्याएको भौतिक संरचनाको पुनर्निर्माणका लागि आवश्यक बजेट एकद्वार प्रणालीबाट विनियोजन गरेको भए तोकिएको समयभन्दा चाँडो पुनर्निर्माण सम्पन्न हुने थियो । यस्तै बजेटका लागि विद्यालय समिति विभिन्न निकाय धाउनुपर्ने थिएन ।

०७२ वैशाख १२ शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न गरेको भए पनि सरकारी भौतिक संरचना तथा सम्पदाको पुनर्निर्माणले केही समययतादेखि गति लिएको छ । नागरिकका व्यक्तिगत संरचना अथवा घर पनि पहिलेको अवस्थामा आउनेक्रम जारी नै छ ।

राजधानी काठमाडौंबाट पश्चिम क्षेत्र गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पका कारण देशभर कोलाहल मच्चियो । ठूलो मानवीय तथा भौतिक क्षति पुग्यो । अहिले भने भूकम्पले ढालेका भौतिक संरचना विस्तारै उठेसँगै भूकम्पको त्रासदीबाट मानिस पनि बाहिर निस्किँदै छन् र मानसिक रूपमा बलियो बन्दै गएका छन् । नागरिकले अहिले भने त्यो त्रासदीलाई विस्तारै भुल्दै जान थालेका छन् । ‘गोरखा भूकम्प’ नाम दिइएको यस प्राकृतिक विपत्तिबाट ८ हजार ९ सय ७० व्यक्तिले ज्यान गुमाएका थिए भने १० लाख ७२ हजार ९३ निजी आवासमा क्षति पुगेको थियो । गोरखा भूकम्पले गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर काठमाडौं, भक्तपुर, ललितपुर र ओखलढुंगामा सबैभन्दा धेरै क्षति पुर्याएको थियो ।

यसैबीच नेपालका धेरै क्षेत्रसँगै यस गोरखा भूकम्पले मुलुकको शैक्षिक क्षेत्रमा पनि ठूलो असर पु¥याएको थियो । नेपालका ठूलो संख्याका शिक्षण संस्थाका भवन यस भूकम्पले ढलाएको थियो । जसका कारण निकै लामो समयसम्म देशको शिक्षा क्षेत्र समस्यामा प¥यो भने आफ्ना विद्यालयका भत्किएका भवन देख्दा विद्यार्थीमा पनि मानसिक असर प¥यो । तर, भूकम्प शनिबार गएकोले धेरै विद्यार्थीको ज्यान भने जोगियो । भूकम्पले हाम्रो देशमा धेरैको उठीवास गराए पनि यस कुरामा भने भगवान्ले हात थापेर हजारौँ बालबालिका तथा शिक्षकशिक्षिकाको ज्यान बचाएका थिए पनि भन्ने गरिन्छ । तर, विद्यालयका भौतिक संरचनामा भने ठूलो क्षति पुग्यो । गृह मन्त्रालयका अनुसार गोरखा भूकम्पका कारण देशभर ९ हजार ३ सय ५३ विद्यालयका ५५ हजार ३ सय ६७ कक्षाकोठामा क्षति पुगेको थियो । जसमध्ये २२ हजार ४ सय १ कक्षाकोठामा पूर्ण क्षति पुग्नुका साथै ३२ हजार ९ सय ६६ कक्षाकोठा आंशिकरूपमा क्षति पुगेको थियो । भूकम्पले शिक्षा क्षेत्रमा मात्र ३२ अर्ब बराबरको क्षति भएको थियो ।

भूकम्पको पाँच वर्ष पूरा भएको छ । उक्त भूकम्पले देशको राजधानी काठमाडौंका विद्यालयमा समेत ठूलो क्षति पुगेको थियो । गोरखा भूकम्पले काठमाडौंमा रहेका २ सय ८१ विद्यालयमध्ये १ सय ९२ विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल बताउँनुहुन्छ । काठमाडौंमा १ सय ६७ माध्यमिक विद्यालय र १ सय १४ आधारभूत तथा प्राथमिक विद्यालय रहेका छन् । भूकम्पका कारण झण्डै दुई महिना निजी तथा सामुदायिक विद्यालय बन्द रहेका थिए । काठमाडौंमा ११ वटा स्थानीय तह रहेका छन् । जसमध्ये काठमाडौं महानगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी–मनहरा नगरपालिका र शंकरापुर नगरपालिका हुन् ।

काठमाडौंका विद्यालय पुनर्निर्माणको जिम्मेवारी भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले लिएको छ । भूकम्पले क्षति पु¥याएका १ सय ९२ विद्यालयमध्ये १ सय २८ पुनर्निर्माण, ३४ रेट्रोफिट र ३० पुनर्निर्माण तथा रेट्रोफिट गर्नुपर्ने भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का इञ्जिनियर सागर पौडेल भूकम्पले क्षति पुगेका १ सय ९२ विद्यालयमध्ये ८० विद्यालय पुनर्निर्माण सम्पन्न भइसकेको बताउनुहुन्छ । सम्पन्न भइसकेका विद्यालय हस्तान्तरणसमेत भइसकेको उहाँको भनाइ छ ।

पुनर्निर्माण भएका ८० विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिको सक्रियतामा ५५ विद्यालयका ५ सय २१ कक्षाकोठा, एसियाली विकास बैंकको ऋण सहयोगमा १३ विद्यालयका २ सय ७१ कक्षाकोठा र सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा १२ विद्यालयका १ सय ३६ कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ । भूकम्पले क्षति पुगेको विद्यालयमध्ये बौडेश्वर माध्यमिक विद्यालय झोर पनि एक हो । भूकम्पले उक्त विद्यालयका दुई वटै भवनमा क्षति पु¥याएको थियो भने अर्को एक भवन बन्दै थियो । भूकम्पले विद्यालय भवन भत्काएपछि पढाइ सञ्चालन गर्न निकै समस्या परेको विद्यालयका प्रधानाध्यापक उत्तमप्रसाद अधिकारी बताउनुहुन्छ । १ रोपनी ११ आना क्षेत्रफलमा रहेको बौडेश्वर माविले पुनर्निर्माणमा भने निकै समस्या झेल्नुपरेको थियो । ‘भूकम्पले विद्यालयका सबै भवन भत्कियो, एकातिर विद्यार्थीलाई छाप्रोमा राखेर पढाउनुपर्ने, अर्कोतिर रकम छरिएर आउँदा विद्यालय पुनर्निर्माणको काम तीव्रगतिमा गर्न नपाउँदा समस्या झेल्नुप¥यो’, उहाँ भन्नुहुन्छ । विद्यालय व्यवस्थापन समितिको सक्रियतामा निर्माण गरिएको उक्त विद्यालय पुनर्निर्माणका लागि भूकम्प पुनर्निर्माण प्राधिकरण (शिक्षा) शाखाले ६५ लाख, वाग्मती प्रदेश सरकारले २० लाख र टोखा नगरपालिकाले १४ लाख सहयोग गरेको थियो । १ करोड १५ लाख हाराहारीमा सम्पन्न भएको उक्त विद्यालय पुनर्निर्माणको बाँकी रकम टोखा नगरपालिका–१ ले सहयोग गरेको थियो ।

यस्तै काठमाडौंका ६० विद्यालय पुनर्निर्माणको चरणमा रहेका छन् । जसमा ४० विद्यालय विद्यालय व्यवस्थापन समिति, १० विद्यालय एसियाली विकास बैंकको ऋण सहयोग, तीन विद्यालय सरकारी तथा गैरसरकारी संस्था, चार विद्यालय भारतीय राजदूतावास, एक विद्यालय चीन सरकार र दुई विद्यालय युएसआइडीमार्फत पुनर्निर्माण हुँदैछन् । जसमा भारतीय राजदूतावासले कान्ति भैरव माध्यामिक विद्यालय डाँछी, धापासी मावि धापासी, विष्णुदेवी मावि तीनथाना र चम्पादेवी मावि दक्षिणकाली निर्माण गर्दैछ । यस्तै चीन सरकारले दरबार हाइस्कुल, युएसएआइडीले कन्या मावि न्हौख्या र भगवती मावि साँखु निर्माण गर्दैछ ।

यसैगरी काठमाडौंका ४३ विद्यालय रेट्रोफिटिङ गर्नुपर्ने भए पनि २१ विद्यालय रेट्रोफिटिङ हुँदै छ । काठमाडौंका २५ विद्यालय पुनर्निर्माण गर्न आवश्यक रहे पनि पाँच विद्यालयमा भने हालसम्म कुनै कार्यक्रम परेका छैनन् । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकामा भूकम्पले २४ सामुदायिक विद्यालयमा क्षति पुगेको थियो । जसमध्ये १९ विद्यालय पुनर्निर्माण भइसकेका छन् । पुनर्निर्माण हुन बाँकी रहेकामध्ये तीन विद्यालय रेट्रोफिटिङ गर्नुपर्नेछ । यस्तै भैरवनाथ आधारभूत विद्यालय बोतीगाउँ र सेतीदेवी आधारभूत विद्यालय मातातीर्थ भवन पुनर्निर्माण गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका शिक्षाशाखा प्रमुख, उपसचिव कर्णबहादुर भुवाजी भूकम्पबाट क्षति पुगेका विद्यालय नेपाल पुनर्निर्माण प्राधिकरणअन्तर्गत रहेको जिल्ला कार्यान्वयन इकाइ (शिक्षा) ले गर्ने भएकाले भवन निर्माणमा हुने पारदर्शिताबारे नगरपालिकालाई थाहा नहुने बताउनुहुन्छ । ‘विद्यालय भवन निर्माण सम्पन्न भएपछि उद्घाटनको समयमा विद्यालय व्यवस्थापन समितिले स्थानीय तहलाई निमन्त्रणा गरेर बोलाइन्छ, भवन कसरी बन्यो, कसरी सम्पन्न भयो, भवन निर्माणका क्रममा कतिको पारदर्शिता अपनाइयो भन्नेबारे स्थानीय तहलाई थाहा हुँदैन’, उहाँ भन्नुहुन्छ । चन्द्रागिरिमा हालसम्म भूकम्पले भत्काएका विभिन्न विद्यालयका २६ भवन निर्माण भएको छ ।
काठमाडौंका विभिन्न १३ विद्यालय पुनर्निर्माण गर्न खोजे पनि उक्त विद्यालयका नाममा पर्याप्त जग्गा नहुँदा समस्या भएको छ । विद्यालय पुनर्निर्माणका लागि जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले सम्बन्धित स्थानीय तहलाई जग्गा उपलब्ध गराउनपत्रसमेत पठाइसकेको छ ।

सरकारले आगामी दिनमा यस्तै क्षति बेहोर्नुपरेको खण्डमा विगतमा गरेका कमीकमजोरीलाई सच्याएर एकद्वार प्रणाालीमार्फत बजेट विनियोजन गरेर पुनर्निर्माण सम्पन्न गरेको खण्डमा सहज हुने देखिन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली भूकम्प गएको पाँच वर्षमा शैक्षिक संस्था पुनर्निर्माणमा प्राधिकरणले महत्वपूर्ण प्रगति हासिल गरेको बताउनुहुन्छ । प्राधिकरणले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि भदौ ८ देखि ११ गतेसम्म राष्ट्रिय परिसंवाद कार्यक्रमसमेत गरेको छ । सरकारले भूकम्पले क्षति पु¥याएको भौतिक संरचनाको पुनर्निर्माणका लागि आवश्यक बजेट एकद्वार प्रणालीबाट विनियोजन गरेको भए तोकिएको समयभन्दा चाँडो पुनर्निर्माण सम्पन्न हुने थियो । यस्तै बजेटका लागि विद्यालय समिति विभिन्न निकाय धाउनुपर्ने थिएन । (रासस)

प्रतिक्रिया