नेकपाका ६ शीर्ष नेता भैंसेपाटीमा, प्रधानमन्त्री शीतल निवासमा

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्व बिहीबार साँझ भैसेपाटीमा भेला भएका छन् ।

पार्टीको सचिवालयका बहुमत सदस्यहरू सहभागी भएको सो भेलाले अहिलेका लागि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु उपयुक्त हुने निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।

पार्टीको सल्लाह बिना नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा जानकारी गराएर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएर प्रमाणिकरण गराए पछि नेकपा भित्र विवाद चुलिएको थियो ।

यसै बीचमा बिहीबार नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उक्त दुवै भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए ।

त्यसलगतै सचिवालयका ६ नेताहरु भैंसेपाटीमा भेला भएका थिए । अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठबीच अनौपचारिक छलफल भएको स्रोतले बतायो ।

स्रोतका अनुसार सरकारले अध्यादेश फिर्ताको निर्णय गरेपछि सचिवालय बैठक बस्नेछ । त्यसपछि नेताहरुको मागअनुसार स्थायी कमिटी बस्ने सम्भावना रहने बताइएको छ ।

बुधबार मात्र नेकपाका २० स्थायी कमिटीका सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए । त्यस पछि पार्टी अध्यक्ष ओलाी दबाबमा परेको एक नेताले बताए ।

यस्तै दुई अध्यादेशले ल्याएर दवावमा परेका प्रधानमन्त्री ओली भने बिहीबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। सोमबार जारी भएका दुई अध्यादेश फिर्ता गर्ने जनाएका ओली त्यही विषयमा छलफल गर्न शीतल निवास पुगेका स्रोतको दाबी छ।

प्रतिक्रिया