नेपाली पत्रकारितामा अनुमान र हनुमानकारिताको रोग

नेपाली पत्रकारिताको गरिमा ओरालो लाग्दै छ । पत्रकारहरूप्रतिको जनविश्वास हराउन थालेको देखिन्छ । अब पत्रकारिताको गरिमा उचो राख्नु र जनविश्वासलाई पुनर्जीवित गर्नु नेपाली पत्रकारहरूको कर्तव्य हो । आज विश्व पत्रकारितामा नयाँ नयाँ प्रविधि र प्रभावको गतिशीलतामा क्रान्तिकारी परिवर्तन समय क्रममा तीव्र छ । यस्तो विश्व परिवेशमा नेपाली पत्रकारिताले भने परम्पराको दायराबाट माथि उठ्न नसकेको आरोप खेपिरहेको छ 

विश्व पत्रकारिताको इतिहासमा नेपाली पत्रकारिताको इतिहास धेरै लामो छैन । नेपालको समग्र विकास प्रक्रियाको अरू क्षेत्रसँग तुलना गर्दा पत्रकारिताको विकास भने छोटो समयमा धेरै भएको भन्दा फरक पर्दैन । विश्व पत्रकारिताको विकास र नेपालको सन्दर्भ हेर्दा आज पनि नेपाली पत्रकारिताको प्रवृति र आयाम समय अनुकूल विकसित हुन नसकेको सत्य हो ।

हामीले यो सत्यलाई छोप्न खोजे पनि आजको नागरिक पत्रकारिताले उदांगो बनाउँदै लगेको छ । सत्यमाथि नै गम्भीर प्रहार गर्ने पत्रकारको चारित्रिक विशेषता नै नेपाली पत्रकारिताको टिठलाग्दो वास्तविकता बनेको छ । जसका कारण पत्रकारलाई हेर्ने र नेपाली पत्रकारितालाई बुझ्ने राष्ट्रिय दृष्टिकोणबाट नेपाली पत्रकारिताको गरिमा आरालो लाग्दै छ । पत्रकारहरूप्रतिको जनविश्वास हराउन थालेको देखिन्छ ।

अब पत्रकारिताको गरिमा उचो राख्नु र जनविश्वासलाई पुनर्जीवित गर्नु नेपाली पत्रकारहरूको कर्तव्य हो । आज विश्व पत्रकारितामा नयाँ नयाँ प्रविधि र प्रभावको गतिशीलतामा क्रान्तिकारी परिवर्तन समय क्रममा तीव्र छ । यस्तो विश्व परिवेशमा नेपाली पत्रकारिताले भने परम्पराको दायराबाट माथि उठ्न नसकेको आरोप खेपिरहेको छ । नेपाली पत्रकारिता माथि लागेका सबै आरोपहरू सार्वभौम भन्ने होइन तर समय क्रममा परिवर्तनको गोरेटो पक्रन नसकेको सत्य हो ।

नयाँ खोजीको तृष्णामा लम्किरहेको मानवीय रुचीलाई केही हद मेटाउने जिम्मा पत्रकारिताको हो । नेपाली पत्रकारिताले अहिलेको मान्यतालाई र गतिशील समयसाथ परिवर्तन भएको नेपाली रुचिलाई परिपूर्ति गर्न नसकेको साँचो हो । हामीले मिडिया खोल्ने र पत्रकार बन्ने कुरालाई पत्रकारिताको विकास ठानेर बसेका छौँ । यो मान्यता हिजोलाई सान्र्दभिक थियो होला । अब यो मान्यतालाई खण्डित गरेर समय सापेक्ष पत्रकारिताको विकास र प्रभावकारिताको बहस आवश्यक छ ।

बहसको सुरुआत कहाँबाट र कसले गर्ने ? सामाजिक जीवनका अरू क्षेत्रमा भएका परिवर्तनको प्रतिबिम्ब पत्रकारितामा देखिनु पर्दछ । मिडिया हाउस धेरै सञ्चालन हुनु र संख्यात्मक रूपमा पत्रकार धरै बन्नुलाई मात्र पत्रकारिताको विकास भन्न सकिन्नँ । यसो भनौँ नेपाली पत्रकारिताको विकास हुँदै गएको छ, प्रभावकारिता हराउन थालेको हो की ? यसर्थ आज विश्वव्यापीकरण हुँदै गएको आर्थिक, सामाजिक, राजनीतिक सम्बन्धलाई पनि नेपाली पत्रकारिताले प्रतिनिधित्व गर्नुपर्ने हो ।

तर, देशकै समग्र अवस्थाको प्रतिबिम्ब नभेटिने तितो यथार्थता बोकेर नेपाली पत्रकारिता हिँडिरहेको छ । निश्चय नै यो नेपाली पत्रकारिताको सुखद पक्ष होइन । यसैमा रमाउन खोज्ने हाम्रो मानसिकताले कसरी अगाडि बढ्छ नेपाली पत्रकारिता ? यो प्रश्नको उत्तर खोज्नु जरुरी छ । नेपाली पत्रकारले पत्रकारिताको महत्व र अस्तित्वको खोजी जसरी गरिरहेका छौँ, त्यसरी प्रभावकारिता र बहुआयमिकताको खोजी गर्न जरुरी छ ।

अरुका सबै रङ देख्ने रातोलाई कालो र कालोलाई रातो बनाउन सहज हुने , आपूmमा लागेको दाग भने नभेटाउने हाम्रो पत्रकारिताको रोग हो । यसको उपचार हामीले समयमा खोज्नु आधुनिक युगको माग हो । अहिले पत्रकारहरूले सीमाहीन प्रेस स्वतन्त्रताको खोजी गर्नु र सरोकारवाला निकायले संवैधानिक अधिकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन गर्न खोज्नु नेपाली राष्ट्रिय मनोविज्ञानको पराकाष्टा हो भन्नुमा दुईमत छैन ।

पत्रकारहरूले खोजेको स्वतन्त्रता अराजकताको पराकाष्टा हो भन्ने एक थरी बुझाइ र पत्रकारितामा अनुशासनको अनिवार्यतालाई निरंकुशताको प्रतीक देख्ने अर्को जडता अहिले सतहमा पोखिएका छन् । सारमा स्वतन्त्रता र अनुशासन एक अर्काका परिपूरक हुन भन्ने सार्वभौम सत्यलाई सबैले आत्मसात गर्नुको विकल्प छैन । पत्रकारिताले बदलिदो नेपाली परिवेशका सन्दर्भहरूलाई आत्मसात गर्न नसकेको भन्ने आरोप नीति निर्माणको तहमा बसेकाहरूको छ ।

नीति निर्माणको तहमा रहनेहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको मर्मबोध गर्न नसकेको हाम्रो आरोप हो । यी दुबै बुझाइ र भोगाइ सत्य हुन् । यही सत्यलाई स्वीकार गरी सहकार्य र साझेदारीमा अगाडि बढ्नु पर्दछ । यसैबाट सबैको जित पक्का छ । हामीले अहिले चाहेको स्वतन्त्रता अुशासनविहीन हुन सक्दैन । आजको राजनीतिक व्यवस्था निर्माण लागि नागरिक चेतनाको विकास हाम्रो पत्रकारिताले हिजो गरेकै हो ।

आजको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीका लागि नीति निर्माणको तहमा रहेको राजनीतिक नेतृत्वले हिजो त्याग, तपस्या र बलिदान गरेकै हो । योे वास्तविकतालाई कसैले भुल्न सम्भव छैन । तर, कसैको देवत्वकरण र कसैलाई दानवीकृत गरेर नत इतिहासको सम्मान हुन्छ नत वर्तमानको पहिचान दिन र भविष्यको मार्गदर्शन गर्न सक्छ । नेपाली पत्रकारिता यस्तै समस्यामा छ अहिले ।

पत्रकारिताको घाँटी निमोठेर राजनीतिक प्रणाली लोकतान्त्रिक र जवाफदेखि बन्न सक्दैन । विश्वका महाशक्ति राष्ट्रहरूका लागि अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध र रणनीति निर्माणमा ती देशको पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर नेपाल पत्रकारिता भने अनुमानकारिता र हनुमानकारिता अभ्यासमा दौडिन खोजिरहेको छ । यो गन्तव्यहीन उद्देश्य बोकेर नेपाली पत्रिकारिता कता जाँदै छ यो हाम्रो चासोको विषय हो ।

अनुमानका भरमा प्रहरी, न्यायालय, अख्तियार आफैँ बनिदिने अनि कसैलाई संसारकै सर्वशक्तिमान देखाउन हनुमानको आज्ञाकारिता प्रर्दशन गर्ने हाम्रो पत्रकारिताको महारोग छ । पात्रको प्रवृतिको कुरा मात्र होइन तर पत्रकारिताको चरित्र नै यस्तो देखा पर्दा चिन्ताको विषय हो । यही रोगले ग्रस्त पत्रकारितालाई कसरी स्वस्थ बनाउने अब । देशभरी सञ्चालनमा रहेका विभिन्न मिडियाहरूबाट बज्ने, छापिने र देखाइने सामाचारबाट नेपाली मनोविज्ञानलाई दिग्भ्रमित बनाउने काम भएको प्रष्ट छ ।

आज आम पाठक र विष्लेषकहरूले यही वास्तविकताको धरातलमा टेकेर पत्रकार र पत्रकारिताप्रतिको आफ्नो दृष्टिकोण किन नबनाउने ? यसरी निर्माण भएको दृष्टिकोणका आधारमा हाम्रो स्थान कहाँ हुन्छ ? यस्तो दृिष्टकोणका विरुद्ध लड्ने हाम्रो नैतिक र वैधानिक हतियार नै भुत्ते किन नहोस् त ? यसर्थ हनुमान र अनुमानकारिताको रोगबाट नेपाली पत्रकारितालाई कसरी मुक्त गराउने ? आजको आवश्यकता यही हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा कसैसँग सम्झौता गर्न सकिन्नँ । तर अनुमान र हनुमानकारितामा हामी हरेकसँग सम्झौता गरिरहेका छाैँ । यो कटु सत्य आरोपलाई पनि कतिपयले पचाउन नसकेर बर्बराउँछन् । त्यो आधुनिक पत्रकारिताको मान्यता विरुद्धको सोच हो । यस्तो मनोदशाबाट नेपाली पत्रकारहरू मुक्त हुन अनिवार्य छ ।

व्यक्तिगत फाइदालाई काइदा बुझ्ने प्रवृति साझा बनेर हुर्कंदै गरेको प्रति हामी आँखा चिम्लेर कहिलेसम्म बस्ने ? पछिल्लो समय स्थानीय सरकारको गठनसँगै हरेक खालका गलत क्रियाकलामा खबरदारीमा होइन साझेदारीमा कलम चल्न थालेका छन् । सबै खालका विकृति विसंगति बिरुद्ध रखबारी र खबरदारी गर्नु पर्ने पत्रकारिता क्षेत्र नै हिस्सेदारी साझेदारी बन्दै गएको सर्वत्र सुनिने गरेको छ । आज नेपालको राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक सन्दर्भका आयामहरू परिवर्तन भएका छन् । ती परिवर्तनका प्रतिबिम्बहरू नेपाली पत्रकारितामा देखिनु र भटिनु पर्ने हो ।

तर, त्यो वास्तविकता पाउन नसकेको गुनासो सबैतिर सामाजिक सञ्जालमा छरपष्ट पोखिन्छन् । यस्ता गुनासोको सम्बोधन हाम्रो पत्रकारिताले गर्नु पर्दैन अब ? आधुनिक युगको पत्रकारिताले राष्ट्र निर्माणको हिस्सेदारी बोक्ने हो । सामाजिक सदभाव, राजनीतिक सहकार्य, आथिक समृद्धि र संस्कृतिक सवलीकरणको आयाम बलियो बनाउने हो । अभ्यासमा भने लाभमा साझेदारी, फाइदालाई काइदा ठान्ने, राजनीतिक बिखण्डन र बिग्रहलाई प्रोत्साहन गर्ने, नेपालीहरूको साझा बुझाइमा विभाजन गर्ने दौड चलेको छ । यस्तो गलत बाटोतर्फ उन्मुख प्रतिस्पर्धालाई निरुत्साहित गर्न पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र पेशागत संघ संगठनहरूले बिलम्ब गर्नु हुँदैन । अन्यथा पत्रकारितालाई राज्यको चौथो अंग मान्ने संवैधानिक मान्यतामाथि नागरिक तथा राजनीति प्रश्न जब्बर बन्दै जाने छ ।

प्रतिक्रिया