सप्तरीका सुरक्षा प्रमुखद्वारा बलान नदी कटानको निरीक्षण

सप्तरी । डुबान र कटानको समस्या निम्त्याउने सप्तरीका मुख्य नदीहरूमध्ये बलान र खडकको संयुक्त निरीक्षण गरिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा सुरक्षा प्रमुख निकाय प्रमुखहरु बिहीबार निरीक्षण गर्नु भएको छ। हिउदयाममा बाँधलाई मर्मत गर्नुको साथै स्परको लन्चींगलाई व्यवस्थित बनाएमा १५/२० बर्ष सम्म केही गर्नु पर्दैन तर त्यसो नभएको कारण नै बर्सेनी बाढी र कटानको समस्या झेल्नु परेको स्थानीयले बताएका हुन् । उक्त समस्याहरूलाई पहिचान गरेर समाधान गर्नमा आवश्यक पर्ने प्रशासनीक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको समेत प्रजिअ थापाले आश्वस्त पारे ।

पछिल्लो समयमा बलान नदीले विभिन्न स्थानमा कटान गरिरहेको क्षेत्रमा कटानस्थलमै पुगेर समस्या बुझ्ने काम सुरक्षा प्रमुखहरूका साथै नदी नियन्त्रण कार्यालय प्रमुखले गरेका छन् । टोलीले बलान बिहुल गाउँपालिकाको बलान नदीले स्परलाई क्षति पुर्याएर बाँध कटान गरी ठूलो क्षति पुर्याएको र अहिले पनि अवस्था जोखिमपूर्ण रहेको स्थलगत निरीक्षणको क्रममा देखिएको छ । नदीले कटान गरेर समस्या बढाएको देखिएकोले तत्काल नियन्त्रण गर्न प्राविधिकहरूलाई प्रजिअ थापाले निर्देशन दिएका छन् ।

निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी किरण थापा, राष्ट्रिय अनुसन्धानको एसपी सुरेन्द्र कोइराला, सशस्त्र प्रहरीका डिएसपी मोहनराज बिष्ट, नेपाली सेना सहायक सेनानी दिपक बोहरा, जलस्रोत तथा सिचाइ डिभिजन कार्यालयका प्रमुख रमन साह, बोदे बर्साईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंह, बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव सहित प्राविधिकहरूको सहभागिता रहेको थियो ।

प्रजिअ थापाले बलान नदीले बर्षेनी बाँध कटान र त्यसबाट हुने सम्भावित खतराबाट त्रसित बनेका स्थानीय बासिन्दाहरूको चिन्तालाई समाप्त पार्ने दिशामा काम हुनुपर्ने निर्देशन दिएका छन् । नदीको वहावलाई वास्तविक अवस्थाको पहिचान र तत्काल नियन्त्रण गर्नुपर्ने कार्य अनिवार्य रुपमा गरेर असोज पछि दिर्घकालिन रुपमा स्परलाई मर्मत गरेर बाँध कटानको समस्यालाई समाधान गर्नपर्नेमा नदी नियन्त्रण कार्यालयको ध्यान जानुपर्ने प्रजिअ थापाले बताएका छन् ।

‘वर्षा र बाढीको समयमा आपतकालिन काम मात्रै गर्ने हिउद याममा सुतेर बस्ने काम अब हुदैन, पहिला जे भयो अब जनताको जिवन रक्षाको साथै राज्यको अर्बौ लगानी भएको संरचनालाई सुरक्षित राख्ने कार्य सम्बन्धित कार्यालयको रहेको हुँदा गुणस्तरिय रुपमा एक पटक मर्मत भएमा आउदो १० बर्ष सम्म केही गर्नु नपर्ने देखिन्छ’ निर्देशनको क्रममा प्रजिअ थापाले बताए । सप्तरी जिल्लामा बाढी, डुबान र कटानको समस्या समाधान हुनुपर्ने स्थानीयको माग रहेको छ ।

प्रतिक्रिया