सर्लाहीका सबैभन्दा धेरै मुसहर बालबालिका विद्यालय बाहिर

लालबन्दी । सर्लाही जिल्लामा सबैभन्दा धेरै मुसहर समुदायका बालबालिका विद्यालय बाहिर रहेका पाइएको छ । जिल्लामा ८ हजार बढी बालबालिका विद्यालय बाहिर रहँदा सबैभन्दा धेरै मुसहर समुदायका बालबालिका रहेको तथ्यांक छ ।

शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाको तथ्यांकअनुसार जिल्लाभर ८ हजार २७७ बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यार्थी भर्ना अभियान जारी रहँदा ती बालबालिकालाई विद्यालयमा भर्ना गराउन २० वटै पालिकाका विद्यालयले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

विद्यालय भर्ना हुने उमेर पुगिसकेका ५ वर्षदेखि १२ वर्षसम्मका ८ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेका पाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक सुनीलकुमार कुशवाहाले जानकारी दिए । विद्यालय बाहिर रहेका ती बालबालिका इँटाभट्टा, मोटरसाइकल ग्यारेज, यातायातका साधन, होटललगायतमा श्रम गरिरहेका छन् । विद्यालय बाहिर रहेका बालबालिकामध्ये ४ हजार ४८० जना बालक र ३ हजार ७९७ जना बालिका रहेका छन् ।

जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा बालबालिका विद्यालय बाहिर रहेका छन् । जिल्लामै सबैभन्दा बढी वडा अर्थात् १९ वटा वडा रहेको बरहथवामा ३६९ जना बालक र ४६३ जना बालिका विद्यालय बाहिर रहेका छन् । सबैभन्दा कम जिल्लामै सानो पालिकाको रूपमा ६ वटा वडा मात्रै रहेको पर्सा गाउँपालिकामा १२७ जना बालक र ११५ जना बालिका विद्यालय बाहिर रहेका छन् ।

४४२ वटा सामुदायिक विद्यालय रहेको सर्लाहीमा शैक्षिक सत्र २०८० को तथ्यांकअनुसार बालविकासदेखि कक्षा १२ सम्म १ लाख १ हजार ४ सय ३३ जना छात्रा र ९० हजार २६७ जना छात्र विद्यालयमा भर्ना भएका छन् ।

यसैबीच सर्लाहीका पाँच वटा पालिकाले यो वर्ष पाठ्यपुस्तक खरिदका लागि अझै रकम निकासा गर्न सकेका छैनन् । जिल्लाको कविलासी, हरिपूर्वा र गोडैता नगरपालिका तथा धनकौल र चन्द्रनगर गाउँपालिकाले बजेट निकासा नगर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । अन्य पालिकाहरूले भने पाठ्यपुस्तकको रकम निकासा गरेकाले विद्यार्थी भर्ना अभियानसँगै निःशुल्क पाठ्यपुस्तक वितरण भइरहेको छ ।

यसपालि समयमै पुस्तक विद्यार्थीको हातहातमा पुग्दा आफूलाई धेरै खुसी लागेको लालबन्दी नगरपालिका शिक्षा शाखाकी प्रमुख लक्ष्मी सिवाकोटीले बताएकी छन । उनले विद्यार्थी भर्ना अभियान सुरु भएसँगै पुस्तक पनि उपलब्ध हुँदा आफू अत्यधिक खुसी भएको बताइन् ।

प्रतिक्रिया