डिआइजीदेखि सिडिओसम्म फेरिए, छानबिन समिति गठन

आपसी विवादले उग्र रूप लिँदा सुनसरीको अवस्था तनावग्रस्त

काठमाडौँ । सुनसरीको देवानगन्ज नगरपालिका–३ स्थित कप्तानगन्जमा आइतबार राति २ समूहबीच भएको विवादले उग्र रूप लिएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । घटनामा १ जनाको मृत्यु भएको छ भने २ दर्जनभन्दा बढी घाइते भएका छन् । घटनापछि प्रदेश र जिल्लाको प्रशासनिक नेतृत्व परिवर्तन गरिएको छ भने स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कफ्र्यु लगाएको छ ।

आइतबार राति कप्तानगन्जको एक समूह साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाएर यात्रा गरिरहेको थियो । तर, त्यसरी यात्रा गर्दा डिस्टर्ब भएको भन्दै अर्को समूहले अवरोध गरेपछि २ समूहबीच झडप भएको थियो । स्थिति उग्र बनेपछि पुगेको प्रहरीसँग समेत समूहले प्रतिवाद गरेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो ।

घटनापछि सोमबार दिनभर प्रदर्शन, तोडफोड र सडक अवरुद्धको शृंखला भयो । स्थानीय प्रशासनले सोमबार बिहानैदेखि कफ्र्यु लगाए पनि त्यसको उल्लंघन गर्दै प्रदर्शन जारी रह्यो । प्रधानमन्त्री कार्यालयका अनुसार १ जनाको मृत्युसहित ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् । स्थानीयका अनुसार घटना आइतबार साँझ डिजे बजाएर यात्रा गर्नुसँग मात्रै सम्बन्धित छैन । एक समुदायले १ महिनाअघि मोहर्रम खेल्ने स्थानमा राखेको झन्डाको विषयमा पनि विवाद हुँदै आएको थियो । अर्को समुदायले झन्डा हटाउन आग्रह गरे पनि नहटाएपछि २ समुदायबीच भित्रभित्रै अस्तित्वको लडाइँ चलिरहेको थियो । अन्ततः सोही विवादले हिंसात्मक रूप लिएको बताइएको छ ।

अरू जिल्लामा पनि बाछिटा

घटनाका कारण सोमबार दिनभर सुनसरी तनावग्रस्त बन्यो । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहान ७ बजेदेखि ५ स्थानमा अनिश्चितकालीन कफ्र्यु जारी गरे पनि कफ्र्यु उल्लंघन गर्दै सदरमुकाम इनरुवा बजार, लौकहीलगायत क्षेत्रमा प्रदर्शन भए । प्रदर्शनकारीले देवानगन्जका विभिन्न स्थानमा तोडफोड, आक्रमण तथा आगजनी गरे । स्थिति उग्र बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेना पनि सडकमा उत्रिनुपरेको थियो । सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन भएको थियो । कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै राजमार्ग अवरोध गरिएको थियो । पछि प्रहरीले राजमार्ग खुलाएको थियो ।

यस्तै, सप्तरीको राजविराजमा पनि प्रदर्शन भएको थियो । प्रदर्शनकारीले टायर बालेर घटनाको छानबिन, पीडितलाई न्याय र दोषीमाथि कारबाहीको माग गरेका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । जनकपुरको रामानन्द चोकमा पनि प्रदर्शन भएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री वालेन्द्र शाह र उनका राजनीतिक सल्लाहकार असिम शाहविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरे ।

प्रहरी प्रमुखदेखि सिडिओसम्म तानिए, छानबिन समिति गठन

घटनालाई गम्भीरतापूर्वक लिएर समयमै कदम नचालेको भन्दै कोसी प्रदेश प्रहरी प्रमुख र सुनसरीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालय तानेर उनको ठाउँमा संखुवासभाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई पठाएको छ । त्यस्तै, कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक शेखर खनाललाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेबेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पठाएर उनको स्थानमा त्यहाँ कार्यरत प्रहरी उपरीक्षक पुष्पराज मल्ललाई खटाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल कप्तानगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएर उनको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक मदन नाथलाई पठाइएको छ । यस्तै, घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिलाई १ साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

मानवअधिकार आयोगले थाल्यो अनुसन्धान

घटनाका विषयमा मानवअधिकार आयोगले पनि अनुसन्धान थालेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्तिमार्फत् आयोगको कोसी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरी मानवअधिकारको दृष्टिबाट सूक्ष्म अनुसन्धान सुरु गरेको जानकारी दिएका हुन् । आयोगले सामाजिक सद्भाव कायम राख्न अपील गर्दै शान्ति सुरक्षा मजबुत बनाई दोषीमाथि कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ । ‘सुनसरीमा देखा परेको कमजोर शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

घटनालाई उत्तेजित नबनाउन मुख्यमन्त्रीको आग्रह

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घटनालाई उत्तेजित नबनाई संयमित रहन आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले संवेदनशील समयमा सम्पूर्ण नागरिकलाई अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आग्रह गरेका हुन् । उनले नेपाल सरकारलाई अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाई जनताको जिउधनको रक्षा गर्नसमेत अनुरोध गरेका छन् । ‘सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएका छौँ । यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको गम्भीर सुरक्षा कमजोरीका कारण गोली चलेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै उनले परिस्थितिको समयमै आकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु सरकारको गम्भीर सुरक्षा कमजोरी भएको बताएका हुन् । ‘सरकारले यसको जबाफ दिनुपर्छ, घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ । सुरक्षा निकायका प्रमुख परिवर्तन मात्र होइन, छानबिन सही र निष्पक्ष हुनुपर्छ,’ उनको भनाइ छ । उनले तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

सामाजिक सद्भाव कायम गर्ने सर्वपक्षीय सहमति

जिल्लामा क्रियाशील राजनीतिक दलहरूले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेका छन् । सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहने र सुरक्षा निकायलाई सहयोग गर्ने सहमति गरेको हो ।

प्रतिक्रिया