
काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बढ्दै गएको देखिन्छ । मूल्य भने प्रायः घट्नुको साटो वृद्धि भएको देखिन्छ । आँप उत्पादन गर्ने किसानदेखि आमउपभोक्तासम्म पुग्न कम्तिमा तीन तहका व्यावसायी हुने भएकाले उत्पादन र उपभोग्य मूल्यमा ठुलो अन्तर देखिने गरेको आरोप लाग्ने गरेको छ । नेपालमा स्वदेशी उत्पादनदेखि भारत र चीनबाट आयात हुने विभिन्न प्रजातिका आँपको वैशाखदेखि असोजसम्म उपभोग हुने गरेको छ ।
नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार नेपालमा वार्षिक औषतमा स्वदेशको उत्पादन र भारतबाट आयात हुने २–२ अर्ब रुपैयाँ तथा चीनबाट आयात हुने १ अर्ब रुपैयाँ जतिको आँप खपत हुन्छ । चीनबाट पछिल्लो २ वर्षदेखि मात्र बढी मात्रामा आँप आयात हुन थालेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबारको आँप (मालदह) र आँप (दशहरी)को मूल्य प्रति केजी न्यूनतम् १८० र अधिकतम् २०० रुपैयाँ रहेको छ । बाँकी अन्य थोक बजार र विभिन्न सहरमा फरक फरक मूल्यमा बिक्री भइरहेको देखिन्छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालिमाटी बजरमा मात्र वैशाखदेखि ११ साउनसम्म १ हजार २३० टन आँप आयात भएको र त्यसमध्ये २८० टन आँप भारतबाट आयात भएको जानकारी दिए ।
यसपाली आँपको मूल्य तुलनात्मक उच्च
यसपटक आँपको मूल्य विगतभन्दा धेरै तल नझरेको बताउँदै उनले नेपालमा सबैभन्दा बढी मालदह प्रजातिको आँप बिक्री हुने गरेको र त्यसपछि दशहरी, कलकते, चोसा, अम्रपालीलागायत जातका आँपहरू बिक्री हुने गरेको उल्लेख गरे । असारसँगै आपको मुख्य सिजन सकिन्छ भने त्यसपछि कम मात्रामा आँप पाइने गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्यांक हेर्ने हो भने मुलुकभित्र आँपको उत्पादनको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा मुलुकभर ५३ हजार ४५८ हेक्टर क्षेत्रफलमा ४ लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको थियो । त्यस्तै आव २०७९/०८० मा ५२ हजार ४४९ हेक्टर क्षेत्रफलमा ५ लाख १३ हजार ५५ टन आँप उत्पादन भएको थियो ।
त्यस्तै २०८०/०८१ मा ५२ हजार ९७५ हेक्टर क्षेत्रफलमा कुल ५ लाख १७ हजार ५५२ टन आँप उत्पादन भएको केन्द्रका प्रमुख महेशचन्द्र आचार्यले जानकारी दिए । आव २०८१/०८२ मा ५२ हजार ४३३ हेक्टर क्षेत्रफलमा ५ लाख ५ हजार १३७ टन आँप उत्पादन भएको थियो । उनका अनुसार नेपालको उत्पादनको करिब ७७ प्रतिशत आँप मधेस प्रदेशमा उत्पादन हुने गरेको छ । उत्पादन वृद्धि भए पनि भारतबाट समेत ठुलो परिणाममा आँप आयात हुने गरेको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा भारतबाट कुल ९६ लाख ५४ हजार २९२ केजी आँप आयात भएको थियो भने गत आव २०८२/०८३ मा ८८ लाख १२ हजार ९६६ केजी आँप आयात भएको देखिन्छ ।
हावापानीको दृष्टिकोणले तराईदेखि मध्य पहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ । आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीँ ३–४ वर्षमा १ वर्ष मात्र पनि राम्रो उत्पादन प्राप्त हुने गर्दछ । उत्पादन क्षेत्रमा फूल लाग्ने समयमा प्रतिकूल मौसम हुनु, केही जिल्लामा उत्पादन घट्नु, सुरुआतमा भारतीय आयात सुस्त हुनु, ढुवानी, मजदुरी र प्याकेजिङ खर्च बढ्नु, यामको सुरुमै माग बढी र आपूर्ति कम हुनुलगायत विषयले आँपको मूल्य नघट्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ ।
नेपाल फलफूल थोक व्यावसायी संघ, कुलेश्वरका अध्यक्ष अमर बाँनियाले आँपको मूल्यमा उत्पादनदेखि उपभोक्ताबीचका व्यवसायीले बढी नाफा लिए भन्ने हल्ला मात्र भएको बताए । उनका अनुसार किसानको बगानमा आँपको फूल फूल्ने बित्तिकै एकथरी व्यवसायीले ठेक्का लिन्छन् । त्यसपछि ती ठेकेदारले बगानको गोडमेल, मलजल, श्रम र जोखिमसहित नाफा/घाटा लिन्छन् ।
नेपालमा आँप उत्पादन हुने प्रमुख जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धाडिङ, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर पर्दछन् । फलको राजाको रूपमा चिनिने आँपको महत्व विशिष्ट स्वाद, सांस्कृतिक, महत्वपूर्ण भिटामिन र खनिजहरूका कारण धेरै रहेको छ ।
प्रतिक्रिया