
काठमाडौँ । पछिल्लो १ सातायता देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । देशका विभिन्न जिल्लाका प्रमुख ग्यास डिपोहरूमा ग्यास सिलिन्डर भर्नेको लाइन लागेको छ । मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि नेपाल आयल निगमले गत २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो ।
पछिल्लो समय पेट्रोलियम पदार्थको आयात सहज भएसँगै निगमले ३१ असारदेखि बजारमा भरी सिलिन्डर ग्यास (१४.२ केजी नै) बिक्री गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै बजारमा ग्यास अभाव देखिएको हो । खाली भएर थन्किएका सिलिन्डर एकै पटक भर्न ल्याउँदा अभाव भएको उद्योगीहरूको दाबी छ । आधा सिलिन्डर ग्यास चाँडो खाली भएको र विगतदेखि नै खाली भएर जगेडा राखिएका सिलिन्डर भर्न बजार पठाउँदा अभाव देखिएको उनीहरू बताउँछन् । यस्तै, धेरैजसो उपभोक्ताले सिलिन्डर जगेडा राख्दा पनि समस्या भएको उनीहरूको भनाइ छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकै पटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको बताए । उनले भने, ‘आयात र ढुवानीमा कुनै समस्या छैन । आपूर्ति नियमित छ । धेरै खाली सिलिन्डर एकै पटक भर्न ल्याइएको र उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो ।’ चन्दले अस्थायी समस्या भएकाले १५–२० दिनभित्र समाधान हुने बताए । चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन । हाल दैनिक १०० बुलेट हाराहारी ग्यास आपूर्ति भइरहेको छ । उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने उनले बताए । हाल बजारमा १ करोड ५० लाख थान सिलिन्डर छन्, जसमध्ये ५० लाख सिलिन्डर डिपोसँग छन् । हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग सञ्चालित छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेकी छन् । बजारमा ग्यासको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले नियालिरहेको उल्लेख गर्दै उनले उपभोक्तालाई त्रसित नहुन आग्रह गरेकी हुन् । ग्यास वितरणका क्रममा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मन्त्री यादवले सर्वसाधारणलाई तत्कालका लागि अत्यावश्यक मात्रामा मात्र ग्यास खरिद गरी स्थिति सहज बनाउन सहयोग गर्न अनुरोध गरेकी छिन् । अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न पनि उनले अनुरोध गरेकी छिन् । साथै, मन्त्री यादवले बजारमा देखिएको हालको समस्यालाई तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन आयल निगमलाई आवश्यक निर्देशनसमेत दिएकी छिन् ।
प्रतिक्रिया