विश्वकै उत्कृष्ट सूचीमा मुस्ताङको शिन्तामणि होटल

काठमाडौँ । मुस्ताङको शिन्तामणि होटल विश्वकै उत्कृष्ट होटलको सूचीमा परेको छ । अन्तर्राष्ट्रिय प्रसिद्ध लक्जरी लाइफस्टाइल म्यागेजिन रोब रिपोर्टले सन् २०२६ अनुसार विश्वभरका उत्कृष्ट होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई उछिन्दै नेपालको यो रिसोर्ट ‘रैरेफाइड प्यान्थियन’ अर्थात विश्वकै अद्वितीय विलासी गन्तव्यको सूचीमा परेको हो ।
रोब रिपोर्टले विश्वका ५० उत्कृष्ट लक्जरी होटलहरूको सूची सार्वजनिक गरेको छ । विश्वभरका उत्कृष्ट होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई उछिन्दै नेपालको यो रिसोर्ट ‘रैरेफाइड प्यान्थियन’ अर्थात विश्वकै अद्वितीय विलासी गन्तव्यको सूचीमा राखेको हो ।

कालीगण्डकी नदी नजिकैको यो रिसोर्ट प्रख्यात म्याक्सिमलिस्ट डिजाइनर बिल बेन्स्लीको परिकल्पना हो । परम्परागत बाग्लुङ ढुंगा प्रयोग गरी बनाइएको यस भवनका २९ वटा कोठा सबैबाट हिमालको अद्भूत दृश्य देख्न सकिन्छ ।
यात्रा विशेषज्ञ क्रिस्टोफर विल्मोट–सिटवेलले यसलाई शरीर, मन र आत्माको शान्तिका लागि परम विश्रामस्थल भनेर व्याख्या गरेका छन् ।

एभरेस्ट क्षेत्रको तुलनामा कम जनघनत्व भएको र शान्त रहेको मुस्ताङको यो क्षेत्र पर्यटकका लागि निकै आकर्षक मानिन्छ । मुस्ताङ आउने पर्यटकहरूले घोडचढी, धनुषबाण र पदयात्राको आनन्द लिन सक्छन् । ८०० वर्ष पुरानो लुब्रा गाउँको भ्रमण, बोन बौद्ध धर्मको संस्कृति र रिसोर्टमै उपलब्ध परम्परागत तिब्बती चिकित्सकको सेवा यसका मुख्य आकर्षण हुन् ।

रोब रिपोर्टले तयार पारेको शीर्ष १० होटलहरूको सूचीमा शिन्तामणि मुस्ताङ (नेपाल), सिंगिता क्विटोन्डा (रुवान्डा), होप लज (स्कटल्यान्ड), पार्क हयात टोकियो (जापान) र शक्ति प्राण (भारत) रेका छन् । त्यस्तै, कलेजियो अला क्वेर्से (इटाली), क्लेरिजेज (बेलायत), ले ब्रिस्टल पेरिस (फ्रान्स), इस्लास सेकास (पानामा) र कासा बोनाभिटा (माल्टा) उत्कृष्ट १० को सूचीमा परेका छन् ।

प्रतिक्रिया