नेपालमा डेंगी विरुद्धको खोप भित्र्याउने बारेमा बेलाबेलामा चर्चा भए पनि त्यो चर्चामै सीमित छ । प्रत्येक वर्ष डेंगी देखिए पनि डेंगी विरुद्धको खोप सहज उपलब्ध हुन सकेको छैन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोपको प्रभावकारिता बारे विश्व स्वास्थ्य संगठन र प्राविधिक रूपमा विज्ञहरूसँग छलफल गरे पनि ठोस निष्कर्षमा पुग्न नसकेका कारण खोप भित्र्याउने बारे अन्योल कायमै छ ।

नेपालमा हरेक वर्ष डेंगीका कारण समस्या हुने गरेको छ । डेंगीका कारण मानवीय क्षतिसमेत हुने गरेको छ । कतिपय मान्छेले लामो समय स्वास्थ्य समस्या झेल्ने गरेका छन् । कतिपय रोगका खोप सहजै भए पनि नेपालमा डेंगी विरुद्धको खोप अहिलेसम्म उपलब्ध छैन । यसमा सम्बन्धित निकायले जति चासो दिनेपर्ने हो दिएको पाइन्न । नत्र छिमेकी मुलुक भारतले भित्र्याएको खोप हामी किन पाउँदैनौँ ?
नेपालमा डेंगी विरुद्धको खोप भित्र्याउने बारेमा बेलाबेलामा चर्चा भए पनि त्यो चर्चामै सीमित हुने गरेको छ । पटक–पटक छलफल भए पनि हालसम्म यो कार्यान्वयनमा आउन सकेको छैन । प्रत्येक वर्ष डेंगी देखिए पनि डेंगी विरुद्धको खोप सहज उपलब्ध हुन सकेको छैन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोपको प्रभावकारिता बारे विश्व स्वास्थ्य संगठन र प्राविधिक रूपमा विज्ञहरूसँग छलफल गरे पनि ठोस निष्कर्षमा पुग्न नसकेका कारण खोप भित्र्याउने बारे अन्योल कायमै छ ।
नेपालमा हरेक वर्ष डेंगी संक्रमण पुष्टि हुन्छ । डेंगीकै कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । तर, यसमा सम्बन्धित निकायको तदारुकता देखिन्न । रोग लागिसकेपछि वा रोग लाग्नुभन्दा अगाडि व्यवस्थापन गर्नुपर्ने हो । तर, खोप ल्याउने र समस्या न्यूनीकरण गर्नेमा सरकारको ध्यान कमै देखिन्छ । नेपालमा हरेक समस्यालाई समान्य ठानने र क्षति भएपछि चिन्ता लिने बानी पूरानै हो ।
डेंगीको समस्या झेलेका विभिन्न मुलुकलगायत अन्तर्राष्ट्रियस्तरमा विभिन्न अनुसन्धानमूलक काम र खोपको विकास चर्चा भने नहुने गरेको होइन । खोप विकासको चरण कुन तहमा पुगिसक्यो ? त्यसको लाभ विश्वमा कतिले लिइसके भन्ने बारेमा चासो कमै छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा डेंगी खोप सुरुआत सम्बन्धमा विश्व स्वास्थ्य संगठन र प्राविधिक रूपमा विज्ञहरूसँग छलफल भएको र निष्कर्षमा पुग्न नसकिएको स्वीकार्छ ।
महाशाखाका अनुसार विश्व स्वास्थ्य संगठनले २ वटा खोपलाई मास भ्याक्सिनेसन ग्रुपमा होइन कि व्यक्तिगत समूहमा लक्षित समूहलाई लगाउन मिल्ने विश्वव्यापी सुझाव दिएको छ । त्योमध्ये एउटा खोप ‘डेंगभ्याक्सिया’ उत्पादन गर्ने कम्पनी नै बन्द भएको र अर्को टकेडा भन्ने समूहले खोप बनाएको छ । जानकारका अनुसार डेंगीमा खासगरी ४ वटा सेरोटाइप हुन्छन् । त्योमध्ये २ वटा सेरोटाइपमा सो खोपको कार्यक्षमता देखिएको छ । बाँकी २ वटा सेरोटाइपमा प्रभावकारिताको थप अध्ययन भइरहेको छ ।
नेपालमा ४ वटै सेरोटाइप देखिएका कारण त्यो खोप पनि १६ वर्ष उमेर समूहसम्मलाई मात्रै लगाउँदा प्रभावकारी बढी भनिएको विज्ञ बताउँछन् । १६ वर्षभन्दा बढी उमेर समूहलाई कम प्रभावकारिता हुने र नेपालमा डेंगी प्रभावित धेरैजसो १५ वर्षभन्दा बढी उमेर समूहमा देखिने गरेको छ । त्यसैले ४ वटै सेरोटाइपमा सर्कुलेसन भएपछि २ वटा सेरोटाइपका लागि मात्र काम गर्ने खोप ल्याएर नहुने बताइन्छ ।
डेंगी भाइरस विभिन्न किसिमको हुन्छ, जसलाई सेरोटाइप भनिन्छ । चिकित्सकहरूका अनुसार नेपालमा डेंगी–१, २, ३ र ४ गरी ४ वटा सेरोटाइपको संक्रमण देखिएको छ । सन् २०१५ मा विकसित भएको ‘डेंगभ्याक्सिया’ (सी.वाइ.डी.– टी.डी.भी.) डेंगी विरुद्ध प्रमाणित भएको विश्वकै पहिलो खोप हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका अनुसार डेंगी लामखुट्टेको टोकाइबाट सर्ने एकप्रकारको कीटजन्य रोग हो । एडिस एजिप्टाई/एलबोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । नेपालमा पहिलोपटक सन् २००४ मा डेंगी संक्रमण भेटिएको हो ।

००००
डेंगी के हो ?
विज्ञका अनुसार डेंगी लामखुट्टेको टोकाइबाट सर्ने एकप्रकारको भाइरस हो । एडिस जातको लामखुट्टेले यो भाइरस सार्ने गर्दछ । यो लामखुट्टे सेतो कालो रङको हुन्छ भने दिनमा बढी सक्रिय हुने गर्दछ । संक्रमित लामखुट्टेको अन्डाबाट उत्पन्न हुने लामखुट्टेमा पनि भाइरस फैलिने हुँदा एक ठाउँमा देखिसकेको डेंगीले सो ठाउँमा निरन्तरता पाइरहने गर्दछ । संक्रमित लामखुट्टेले टोकेको ४ देखि १० दिनमा डेंगी का लक्षणहरू देखिन थाल्दछ ।
डेंगी संक्रमण हुँदा ज्वरो आउने, टाउको दुख्ने, जिउ र जोर्नी अधिक दुख्ने, आँखाको गेडी खस्ला जस्तो हुने, शरीरमा स–साना राता बिबिराहरू देखिने, खानेकुराको नाम सुन्नेबित्तिकै वाकवाक लाग्ने र कतिपयलाई पखाला लाग्ने जस्ता लक्षणहरू देखापर्छन् । अधिकांश संक्रमितमा ८–१० दिनपछि स्वास्थमा क्रमिक सुधार हुँदै जान्छ । तर थप जटिल हुँदै गएमा भने शरीरमा रक्तश्राव देखिन थाल्छ । तत् पश्चात पनि बेवास्ता गरिए विभिन्न अंगहरूमा समेत समस्या देखिन थाल्दछ ।
पछिल्लो केही वर्गयता नेपालमा अधिकांश डेंगी संक्रमितले आफ्नो स्वास्थको खासै ख्याल गरेको पाइँदैन । तर डेंगीको वार्निंङ साइन देखिए भने डेंगीले जटिल अवस्था लिन सक्ने सम्भावना प्रबल हुने विज्ञ बताउँछन् । पेट असाध्य दुख्नु, तारन्तार बान्ता हुनु, नाक तथा गिजाबाट रगत आउनु र अति अलश्य हुनु डेंगी वार्निंङ साइनका संकेतहरू हुन् ।
यी बाहेक अस्पतालमा गरिने परीक्षणबाट पेट वा छातीमा पानी जमेको देखिए, कलेजोको आकार बढेमा, र रगत परीक्षणमा प्लेटेलेट्सको संख्यामा तीव्र गिरावट देखिए डेंगीको वार्निङ साइन भएको मानिन्छ । नेपालमा हाल डेंगी संक्रमित भएर अस्पताल आउनेको सख्यामा उल्लेखनीय कमी देखिएकोले डेंगी वार्निङ साइनको प्रचारको खाँचो देखिन्छ ।
नेपालमा डेंगी पुष्टि भएको २१ वर्ष भइसकेको छ । तर, डेंगीको ठुलो आउट ब्रेक भने पहिलोपटक सन् २०१९ मा देखियो । आधिकारिक तथ्यांक हेर्दा झन्डै १८ हजारको हाराहारीमा डेंगी संक्रमित पुष्टि भएको थियो । त्यो बेला काठमाडौँमा डेंगी फैलिँदा झन्डै १ महिना जति निरन्तर डेंगी बिरामीलाई परीक्षण गरेको सम्झना छ ।
डेंगी तीव्ररूपमा फैलिन थालेपछि टेकु अस्पतालले पहिलोपटक ‘फिबर क्लिनिक’ को स्थापन गरेर बिरामीको परीक्षण गरिएको थियो । त्यो बेला अधिकांशमा डेंगीको बारेमा अनविज्ञता देखिन्थ्यो । यससँगै अनेक थरिका मिथ्यहरू पनि फैलिएको देखिन्थ्यो । त्यसको ३ वर्षमा अर्थात् सन् २०२२ मा नेपालको इतिहासमा नै डेंगीबाट सबैभन्दा बढीको मृत्यु भयो । त्यो बेला कम्तीमा ५४ हजारमा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु डेंगीको कारणले भएको तथ्यांक देखिन्छ ।
यी २ ठुला डेंगी प्रकोप ठिक कोभिड–१९ महामारीको अघि र पछि भएको देखिन्छ । नेपालको तथ्यांक नियाल्दा २–३ वर्षको अन्तरालमा डेंगी आउट ब्रेक हुने गरेको देखिन्छ । त्यो पछिल्लो आउट ब्रेकभन्दा थप जटिल र व्यापक भएको पाहिन्छ । यसर्थ पनि आगामी दिन नेपालमा डेंगी निरन्तर स्वास्थ चुनौतीको रूपमा खडा हुने देखिन्छ । नेपालमा डेंगी रैथाने संक्रामक रोगका रूपमा स्थापित भइसकेको छ ।
०००
डेंगी खोपको आवश्यकता ?
हाम्रो स्वास्थ्य अवस्था हेर्दा सन् २०२२ मा काठमाडौँमा डेंगीले ठुलो मानवीय क्षति गरेको थियो । काठमाडौँ मात्र होइन धरान, पोखरा, बुटवल, सर्लाहीलगायतका अन्य ठाउँमा पनि डेंगी ले व्यापक प्रभाव पारिसकेको छ । अझ पछिल्लो समय डेंगी नेपालको लगभग सबै जिल्लामा पुगिसकेको सरकारी विवरण छ ।
डेंगी भाइरस फैलाउने एडिस जातको लामखुट्टे पनि विगतको भन्दा व्यापक हुँदै गइरहेको देखिन्छ । तसर्थ लामखुट्टे नियन्त्रण गर्नु नै डेंगी नियन्त्रण गर्ने एकमात्र विकल्प हो । तर दुर्भाग्यवशः लामखुट्टे नियन्त्रण गर्नेतर्फ हामी सबैको ध्यान खासै गएको भने देखिँदैन । यसकारण पनि डेंगीले हरेक वर्ष फैलने मौका पाइरहेको छ । सम्भवतः आगामी दिन हाम्रालागि डेंगीको कठिन अवस्थाको सामना गर्नुपर्नेमा २ मत नहोला । डेंगी फैलाउने लामखुट्टेको नियन्त्रणप्रति देखाएको निराशा तथा आगामी दिनमा डेंगीको थप सम्भावित घातक आउट ब्रेकलाई मध्यनजर गर्दा खोप नेपालका लागि पनि अपरिहार्यता भइसकेको देखिन्छ ।
००००
नेपालमा कहिले आउला ?
नेपालमा डेंगी एक रैथाने संक्रामक रोगको रूपमा स्थापित भइसकेकाले डेंगी विरुद्धको खोप अपरिहार्य विकल्प हो । भारतको स्वास्थ तथा परिवार कल्याण मन्त्रालयले देशमा पहिलोपटक डेंगी विरुद्धको खोपको प्रयोगलाई स्वीकृति प्रदान गर्यो । जुलाई २१ मा समाजिक सञ्जाल ‘एक्स’ मन्त्रालयको विज्ञप्ति राखी यसको जानकारी दिइएको थियो ।
यो जापानिज कम्पनी ताकेडाले विकास गरेको ‘क्युदेंगा’ नामक खोप हो । यो खोप ४२ भन्दा बढी देशहरूले स्वीकृत प्रदान गरिसकेको र २४ मिलियन डोजभन्दा बढी प्रयोग भइसकेको सो सो विज्ञप्तिमा उल्लेख छ । विश्व स्वास्थ संगठनबाट पनि प्रयोगका लागि योग्य मानिसकेको यो खोप युरोपका विभिन्न देश, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया लगायतका देशहरूमा प्रयोगमा आइसकेको छ ।
उक्त खोप ४ देखि ६० वर्ष उमेरकालाई दिन सकिन्छ भने ३ महिनाको अन्तरालमा २ मात्रा ०.५ एमएल छालामुनि (सब–क्युटानस) दिइने बताइएको छ । भारतको ‘नेसनल सेन्टर फर भेक्टर बर्न डिजिजेस कन्ट्रोल’ को पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या सन् २०२३ मा भएको देखिन्छ । जसमा २ लाख ८९ हजार २३५ संक्रमित र ४८५ जनाको मृत्यु भएको थियो । यसपछि सन् २०२४ र २०२२ धेरैमा संक्रमण पुष्टि र मृत्यु भएको देखिन्छ । अब खोपको प्रयोगसँगै भारतमा डेंगीबाट मृत्यु हुने वा कडा डेंगीको संख्या घट्ने विश्वास गरिएको छ ।
०००
खोप प्रभावकारी छ भन्ने सिद्ध भएपछि नेपालमा आउँछ : डा.अनुज भट्टचन, स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक

नेपालमा डेंगीको खोप कहिले आउने भन्ने बारेमा चासो बढेको छ । अझ भारतमा ल्याउन अनुमति दिएपछि यसको चासो चुलिएको हो । नेपालको सन्दर्भमा पनि हामीले विभिन्न तहमा छलफल गरेका छौँ । खोप ल्याउनु पहिला त्यसको उपदेयीताका बारेमा प्रष्ट हुनपर्छ । त्यस बारेमा छलफल अध्ययन जारी छ ।
नेपालमा अहिले भने, डेंगी ओरालो लागेको अवस्था छ । डेंगीको भार ओरालो लाग्दा हामी उत्साही छौँ । जहाँसम्म खोपको कुरा छ । खोप प्रति नेपालीको ठुलो विश्वास छ । तर, नेपालमा डेंगीको अवस्था ठाउँ हेरर फरक छ । त्यसैले कसरी भित्र्याउने भन्ने बारेमा हामी सोच्दै छौँ । खोपको प्रभावकारिता बलियो बन्दै गएको अवस्थामा नेपालमा पनि प्रयोग हुने छ ।
यसमा विश्व स्वास्थ्य संगठनको पनि सल्लाह लिएर यसको प्रयोगको बारेमा निर्णय हुने छ । डब्लुएचओले विश्वभरको डेंगीको अध्ययन गरेर कहाँ खोपको उपादेयता हुन्छ भन्ने किटान गर्छ । त्यसलाई हामी सुक्ष्म रूपमा हेर्छौं । नेपाल आफैँ पनि खोपको विशेषज्ञ छन् । वैज्ञानिक रूपमा अध्यन गरेर नेपालका विज्ञ र डब्लुएचओले सिफारिस गरेर नेपालले प्रयोग गर्दा हुन्छ भनेको अवस्थामा नेपालमा प्रयोग हुन्छ ।
अहिले आएको खोपको बारेमा पहिला हामी प्रष्ट हुनेछौँ त्यसपछि मात्रै प्रयोगमा ल्याइने छ । हाम्रो रोगको प्रकृति र स्वास्थ्यको अवस्थाअनुसार खोपको आवश्यक देखिएमा अपनाइने छ । यदि त्यसो भएन भने, अहिले जुन विधि अपनाइएको छ त्यही मान्नुपर्छ । खोप भनेको रोग लाग्न नदिन स्वास्थ्य मान्छेलाई दिने भएकाले प्रयोग अघि बुझ्नुपर्छ । त्यसमा हाम्रो ध्यान केन्द्रित छ । स्वस्थ्य मान्छेलाई दिने कुरामा त्यसको सुरक्षा र प्रभावकारीताका बारेमा गम्भीर हुनुपर्छ ।
नेपालमा खोप भित्र्याउने विषयमा नजरअन्दाज गरिएको छैन । मात्रै प्रभावकारी खोप आओस् भन्ने हाम्रो अपेक्षा छ । खोप विकास गर्ने क्रममा भाइरसको गुणमा केही चुनौती आएको छ । त्यसले गर्दा हामीले सहजै स्वीकार नगरेका हौँ । खोप प्रभावकारी छ भन्ने सिद्ध भएपछि नेपालमा आउँछ । खोपको प्रभावकारिता पुष्टि भएर डब्लुएचओले सिफारिस गरेपछि नेपालमा ल्याउने छौँ ।
प्रतिक्रिया