
हाम्रो समाज अहिले पनि डेढो आँखा भएका बच्चा जन्मिए भने भाग्यमानी हुन्छन्, उनीहरू सुखी हुन्छन् भन्ने अन्धविश्वास जीवितै छ । यही अन्धविश्वासका कारण बेलैमा उपचार नगर्दा धेरै बच्चामा एउटा आँखाको दृष्टि कम हुने गरेको पाइन्छ । अभिभावक अन्धविश्वासमा पर्दा बालकालिकाले बाचुन्जेल समस्या झेल्नुपर्ने हुन्छ । स्वास्थ्य विज्ञानले यस्ता धेरै समस्याका सामाधान निकालिसकेको छ । त्यसैले अब डेढा आँखा लिएर समस्याको बोझमा बस्न नपर्ने विज्ञ बताउँछन् ।
समयमै अभिभावकले उपचार नगराए पनि कतिपय बच्चा ठुलो भएपछि आफैँ उपचार गर्न आउँछन् तर त्यतिबेलासम्म उनीहरूको एउटा आँखाको दृष्टि कम भइसकेको हुने विज्ञ बताउँछन् । कतिलाई आँखा डेढो हुनु रूपसँग मात्रै सीमित छ भन्ने लाग्छ तर, विशेषज्ञ डाक्टरहरू भने यसमा सहमत हुन्नन् । आँखामा देखिने यो समस्याले मान्छेको सौन्दर्यमा मात्रै होइन दृष्टिमा समेत प्रभाव पार्ने गरेको डाक्टरहरूको भनाइ छ । यस्तो अवस्थामा आँ
खाको कस्मेटिक शल्यक्रिया गरेर सोझो बनाउने सकिने विज्ञ बताउँछन् ।
के हो डेढोपन ?
कुनै पनि वस्तुलाई एउटा आँखाले सिधा र अर्को आँखाले बांगो देख्यो भने त्यस्तो अवस्थालाई डेढो आँखा भन्ने गरिन्छ । बांगिएको आँखाले सिधा आँखाले जस्तो राम्रोसँग देख्दैन । एउटा आँखा बांगो छ भने ‘वान इन हाफ’ मात्र काम गर्ने विज्ञहरू बताउँछन् । दुवै आँखामा बराबर दृष्टि हुन्छ । देख्न त एउटा आँखाले पनि सकिन्छ तर एउटा आँखाले हेर्दा दुवै आँखाले हेरको जस्तो प्रष्ट नहुन सक्ने विज्ञ बताउँछन् । यदि दुवै आँखामा बराबरी दृष्टि छ भने मात्र कुनै पनि वस्तुलाई प्रष्ट रूपमा देख्न सकिन्छ ।
आँखा बल जस्तो गोलो आकारमा हुने भएकाले मांसपेसीको माध्यमबाट चल्ने गर्छ । विभिन्न कारणले आँखाको मांसपेसी कमजोर भएमा आँखा डेढो हुने विज्ञहरू बताउँछन् । कुनै बच्चामा एउटा आँखा मात्रा डेढो देखिने गर्छ भने कुनैकुनै बच्चाको दुवै आँखा पालोपालो गरेर डेढो हुने गर्छ । उमेर बढ्दै जाँदा विभिन्न कारणले चोटपटक लागेर पनि आँखा टेढो हुने गर्छ । उमेर बढ्दै जाँदा डेढो आँखाले कुनै पनि वस्तु २ वटा देख्ने डाक्टर बताउँछन् ।
एउटा आँखा डेढो छ भने त्यो आँखा अल्छी भएर बस्छ र विस्तारै दृष्टिमा कमी आउने बताइन्छ । दुवै आँखा पालोपालो गरेर डेढो हुन्छ भने त्यस्तो अवस्थामा आँखाको दृष्टि दुवै आँखाको बराबर हुने गर्छ । डेढोपन आनुवंशिक तथा क्रोमोजमको असन्तुलनले पनि हुने विज्ञहरू बताउँछन् । यस्तो समस्या कुनै बच्चामा जन्मजात हुन्छ भने कसैलाई स्कुल जाने उमेरमा पनि हुन्छ । एउटा आँखामा चोट लाग्यो भने, आँखाको पर्दा फाट्यो भने वा आँखाको नशामा प्यारालाइसिस भयो भने आँखामा डेढोपनको समस्या हुने विज्ञहरू बताउँछन् ।
नजिकको दृष्टि कम हुँदा प्लस पावरको चश्मा लगाउनुपर्नेमा लगाइएन भने पनि यस्तो समस्या देखिने बताइन्छ । यस्तै, चोटपटकका कारण आँखाको नशामा प्यारालाइसिस भयो भने, उच्च रक्तचापका कारण ब्रेन हेमरेज हुँदा वा टाउकोको चोटका कारण आँखा डेढो हुन्छ । जनसंख्याको २ देखि ४ प्रतिशत जनसंख्यामा यस्तो समस्या देखिएको अनुमान छ । डेढो आँखाको भिजन कम भएको अवस्थामा समयमा नै उपचार गराउनुपर्छ ।
टेढोपन हुने कारण एक मात्र छैन । विभिन्न कारणले आँखामा डेढोपन देखिन्छ । यो समस्या बच्चादेखि वयस्क उमेरसम्म बढी देखिन्छ । कसैमा गर्भ रहँदा भ्रुणमा चोटपटक लागेर वा हार्मोनल परिवर्तनले पनि टेढोपनको समस्या देखिन्छ, जुन जन्मजात टेढोपन हो । अर्को कारण भनेको चोटपटक लागेर वा कुनै रोगको कारणले आँखाको मांसपेशी कमजोर भई टेढोपन हुन्छ ।
२ देखि ४ वर्षको उमेरमा चस्मा लगाउन परेमा वा पावर बढेमा पनि यस्तो हुनसक्छ । त्यस्तै एउटा आँखाको कम पावर र अर्को आँखामा चस्माको पावर बढाउनुपरेमा पनि यो अवस्था आउँछ । यस्तोमा दुवै आँखामा पावर घटबढ भएमा आँखाको सन्तुलन बिग्रिएर आँखा टेढो हुन्छ । कुनै बच्चालाई उच्च पावरको चस्मा लगाउनुपर्ने हुन्छ । यदि बच्चाले लगाउनुपर्ने चस्मा नलगाउँदा आँखामा टेढोपन आउने गर्छ । आँखाको पर्दामा समस्या भएमा वा ट्युमरले पनि आँखा टेढो हुने गर्छ । त्यस्तै, वयस्कमा आँखाको नसामा चोटपटक, उच्च रक्तचाप, मधुमेह र स्नायु समस्याले पनि आँखा टेढो हुनसक्छ ।
यो समस्याको समयमा उपचार हुन नसक्दा एउटा आँखाले बिस्तारै कम देख्दै जाने मात्र होइन, आँखाको मांसपेशीमा कुनै गतिविधि नै नहुने विज्ञ बताउँछन् । जसलाई अल्छी आँखा भनिन्छ । अल्छी आँखालाई १२ वर्षको उमेरसम्ममा उपचार गर्नसके ठिक पार्न सकिन्छ तर त्यो उमेरपछि यसको उपचार प्रभावकारी नहुने विज्ञहरू बताउँछन् । यस्तोमा आँखाको कस्मेटिक सर्जरीले आँखा सिधा पार्न सकिन्छ तर पूर्णरुपमा दृष्टि भने फर्काउन सकिँदैन । यसो भनिरहँदा वयस्कमा पनि यसको उपचार असम्भव भने होइन । के कारणले आँखामा समस्या आएको हो त्यसमा पर पर्ने विज्ञहरू बताउँछन् । यदि चोटपटकले गर्दा हो भने शल्यक्रिया र मांसपेशीको थेरापीले ठीक पार्न सकिन्छ । स्नायुसम्बन्धी उच्च रक्तचाप र मधुमेहले तन्नेरी अवस्थामा टेढो भएको छ भने आँखामा समस्या हुनेबित्तिकै उपचार गरे ९० प्रतिशत ठीक हुने विज्ञहरू बताउँछन् । १० प्रतिशतलाई भने शल्यक्रिया नै गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
००००
डेढोपनको उपचार ?
डेढो आँखालाई एकैपटक अपरेसनभन्दा पनि नियमित परीक्षण गर्नुपर्ने बताइन्छ । नियमित परीक्षणपछि कस्तो खालको समस्या हो भन्ने पहिचान गरेर त्यसैअनुसारको उपचार गर्नुपर्छ । कसैले चस्मा प्रयोग गर्नुपर्छ भने कुनै अल्छी आँखालाई उपचार गर्नुपर्ने विज्ञहरू बताउँछन् । आफैँ सिधा नभए अप्रेसन गरी कस्मेटिकरूपले सिधा गर्नुपर्ने पनि हुन्छ । कसैलाई हाइपावरको चस्मा लगाएर पनि ठिक हुन्छ । अकोमोडेटिभ पावर बच्चाहरूमा धेरै हुन्छ । यो उमेर बढ्दै जाँदा कम हुँदै गएर ४० वर्षमा पुगेपछि जिरो लेवलमा पुग्ने बताइन्छ ।
सिधा आँखा छ भने पनि टाउकोमा सामान्य चोट लाग्दा भिजन बाहिर गएर डेढो हुने समस्या हुन्छ । केटाकेटी अवस्थामा नै यसको उपचार गर्यो भने यो समस्या हटाउन सकिने डाक्टहरू बताउँछन् । यस्तो समस्यामा कसैलाई अपरेसन, कुनैलाई औषधि राखिदिएर सिधा बनाइन्छ भने कसैलाई चस्मा दिनुपर्ने हुन्छ । कसैकसैलाई चस्मा लगाइदिएर पट्टी लगाएपछि दृष्टि सुधार गरिन्छ । दृष्टि जति छिटो सुधार गरिन्छ, त्यति नै राम्रो हुन्छ ।
२ वर्षदेखि ५ वर्षका बच्चाहरूको आँखाको अवस्थालाई क्रिटिकल पिरियड मानिन्छ । बच्चाको आँखा ७ देखि ८ वर्षभित्र पूर्ण रूपमा विकास भइसक्ने विज्ञ बताउँछन् । ८ वर्षपछिको उपचार अलि जटील हुन्छ, त्यसैले जतिसक्दो चाँडो चिकित्सकलाई भेटेर उपचार थालिहाल्नु राम्रो हुन्छ । कुनै बेला चस्मा लगाइदियो भने आँखा सोझो हुँदै आउँछ भने कसैमा भने चस्मा र सर्जरी आवश्यक हुन्छ ।
आँखालाई डेढो हुनबाट बचाउन चोटपटक लाग्नबाट जोगाउनुपर्छ । चोट लागेर दृष्टि कम भयो भने आँखा डेढो हुन्छ । एउटा आँखा डेढो छ भने आँखाको भिजन बराबर हुँदैन । यदि क्षयरोग भएर आँखाको ६ नम्बर नशामा प्यारालाइसिस भएको छ भने फिजियोथेरापी गरेर निको बनाउन सकिने विज्ञ बताउँछन् । त्यसैले आँखामा आउन सक्ने यी समस्याको सामाधानका लागि सचेत हुनुपर्ने देखिन्छ ।
००००
डेढोपनका मुख्य कारण ।
-जेनेटिक कारण हुन सक्छ ।
-कुनैकुनै बच्चाको डेढोपन बिनाकारण पनि हुन सक्छ ।
-बच्चा जन्मँदा आँखाको नशामा चोट लागेको छ भने पनि डेढोपन हुने गर्छ ।
-चोटपटक लागेर वा कुनै रोगको कारणले आँखाको मांसपेसी कमजोर भई डेढोपन हुन्छ ।
-प्यारालाइसिस भएर पनि डेढो पन हुनसक्छ ।
-कुनै बेला आँखाको मांसपेसी कडा भई आँखामा डेढोपन आउने गर्छ ।
-कुनै बच्चालाई हाइपावरको चस्मा लगाउनुपर्ने हुन्छ । यदि बच्चाले लगाउनुपर्ने चस्मा नलगाउँदा आँखामा डेढोपन आउने गर्छ ।
-आँखाको पर्दामा समस्या छ भने पनि आँखा डेढो हुने गर्छ ।
-आँखामा ट्युमर भएको अवस्थामा पनि यो समस्या आउन सक्छ ।
००००
डेढोपनको उपचार हुन्छ, भ्रममा नपर्नु : डा.इन्दुप्रसाद ढुंगेल, आँखा रोग विशेषज्ञ

बालबालिकामा आँखाको समस्याका रूपमा डेढोपन पनि एक रहेको छ । यसले विस्तारै आँखाको दृष्टि कम हुनका साथै मान्छेको रूपसमेत बिगार्ने काम गर्छ । हाम्रो समाज अहिले पनि डेढोपनलाई उपचार गर्ने खुलेर लागेको पाइन्न । कतिपय अवस्थामा त आँखा डेढो भएको मान्छे भाग्यमानी हुन्छ भन्ने अन्धविश्वास छ । यस्ता कुराको पछि लाग्नु हुँदैन ।
कतिपय बालबालिका जन्मँदै डेढो भएर जन्मन्छन् भने कतिपय ३ वर्षपछि डेढो भएको पाइन्छ । यसको कारण भनेको आँखामा दृष्टि दोष वा अरू कुनै विकार भएको अवस्थामा पनि हुन्छ । अर्को भनेको आँखा भित्र जाने, बाहिर जाने वा तलमाथि जाने अवस्थामा पनि हुन्छ । महŒवपूर्ण कुरा के हो भने, जुन आँखामा दृष्टि कम हुन्छ, त्यो आँखा डेढो वा बांगो हुन्छ । जब बच्चाको एउटा आँखाले कम देख्न थाल्छ तब उसमा डेढोपनको सुरुआत हुन्छ ।
कुनै पनि बालबालिकामा एउटा आँखा बाहिर निस्केको छ वा जुन आँखाले राम्रो देख्दैन, त्यो आँखा टेडो हुन्छ । जब आफ्नो बालबालिकाको आँखा टेडो भएको छ भने, बुझ्नुपर्छ उसले प्रष्ट देखेको छैन भन्ने । खासगरी बच्चाको आमाले यसमा ध्यान दिनुपर्छ । आफ्नो बच्चाको आँखा बांगो छ भन्ने शंका लागेमा तुरुन्त उपचार गराउनुपर्छ । आँखा डेढो हुँदैमा उपचार नहुने भन्ने होइन, यसको राम्रोसँग उपचार हुन्छ । यस्ता समस्यामा भ्रममा परेर बस्ने होइन, उपचार गराउने र समस्याबाट छुटकारा पाउने हो ।
बच्चामा दृष्टि दोष वा आँखाका अरू समस्या पनि हुन सक्छ । कतिपय बच्चालाई मोतिविन्दु पनि हुन सक्छ । मोतिविन्दु भए पनि दृष्टिदोष हुन सक्छ । ती सबै प्रकारका समस्याको उपचार छ । समस्या देखिएमा वा शंका लागेमा उपचारको प्रक्रियामा आउनुपर्छ । यी समस्याका लागि सुरुमा चस्माले हुन्छ कि, एक्ससाइजबाट हुन्छ कि वा अप्रेसन नै गर्नुपर्छ ? भन्ने अवस्था हेरेर उपचार गरिन्छ । यी सबै प्रकारको समस्याको उपचार छ । राम्रो उपचार हुन्छ । आफ्ना नानीबाबुमा त्यस प्रकारका समस्या भएमा तुरुन्त उपचार गराउनुपर्छ ।
प्रतिक्रिया