हिन्दू अधिराज्य किन ?

दीर्घराज प्रसाईं

हिन्दू समाजभित्र छुवाछुत जातभात, लिंगभेद हिन्दूधर्मभित्रको उपज नभएर धेरै पछि समाजभित्रैको विकृतिको उपज हो । १) युद्धबन्दी, २) राज्यले जात झारेका र ३) हाडनाता करणीको मामिलाबाट समाज बहिष्कार हुनपुगेकाहरूबाट उब्जेका समस्याहरूको कारणले छुवाछुत प्रथाले संस्कारको रुप लिनपुगेको हुनाले हिन्दू समाजभित्र सामाजिक असमानताका कुराहरू उठेका छन् । यसबाट समाजलाई उन्मुक्त गराउन राज्यबाटै सशक्त कार्यक्रमहरू अभियानको रूपमा चलाउन सक्नुपर्दछ ।

वैदिक सनातन हिन्दू दर्शन हिमवत्खण्ड नेपालको उपज हो । यही हिन्दूस्थलमा २५६० वर्ष अगाडि हिन्दू राजा शुद्धोधन र रानी मायादेवीबाट सिद्धार्थ गौतमको जन्म वैशाख पूर्णिमाको दिन भएको थियो । गौतम बुद्धको जन्मथलो लुम्बिनी नेपालको मध्य दक्षिणको तराईमा पर्छ । उनी जन्मेको सातौँ दिनमा आमा मायादेवीको मृत्यू भएपछि कान्छी आमा प्रजापति गौतमीले उनको लालनपालन गरेकी थिइन् । सोह्रवर्षको उमेरमा गौतमको विवाह सुप्रबुद्धकी छोरी यशोधरासँग भयो र ३५ वर्षको उमेरमा उनको छोरा राहुलको जन्म भयो ।

वैशाख पूर्णिमा गौतम बुद्धको जन्म हुनु, वैशाख पूर्णिमाका दिन मै गौतम बुद्धले बोधिसत्व प्राप्त गर्नुु र त्यही वैशाख पूर्णिमाको दिनमा ८० वर्षको उमेरमा, भिक्षु आनन्द तथा अन्य भक्तजनहरूसँग वार्तालाप गर्दागर्दै, कुशीनगरमा बुद्धको स्वर्गारोहण हुनुले ‘वैशाख पूर्णिमा’ गौतम बुद्धको लागि एक असाधारण दैवीक तीथिको रूपमा देखिन्छ । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा बैराग्य भएर श्रीमती, छोरा, परिबार, दरबार, राजपाठ छोडेर ज्ञानको खोजीमा लाग्नु भयो ।

धेरैदिनको ज्ञानको खोजीपछि गौतम बुद्धले बोधिवृक्षमा तपस्या गरेर उनले बुद्धत्व प्राप्त गरे । सम्पूर्ण खराबीबाट मुक्त रहनु, मनलाई स्वस्त राख्नु, जे राम्रो लाग्छ त्यो गर्नु भन्ने विचारमा आधारित भएर सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीव, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक समाधि आदि उपदेशहरू गौतम बुद्धमा सिद्धि वाणीहरू हुन् । उपदेशहरूलाई ठीकसँग प्रयोग गर्न अभिप्रेरित गराउन गौतम बुद्धले आफ्ना भक्त बौद्ध भिक्षुहरूलाई संसारमा धर्म प्रचार गर्न धर्मदूत रूपमा पठाउने चलन चलाए ।

बुद्धले बताएका उपदेशहरूलाई लिखितरूपमा उतारिएको थिएन । बुद्धको शेषपछि उनका अनुयाईहरूले बौद्ध सम्मेलन गरेर त्यसपछि बौद्ध उपदेशको संग्रह गरे । बुद्धका उपदेशहरू ‘धम्मपद’ मा संग्रहित छन् । धम्मपद बुद्धका उपदेशका प्रसिद्ध संग्रह मानिन्छ । सम्यक् व्यायामअन्तर्गत विपश्यना ध्यान गौतम बुद्धद्वारा देशित चित्त विशोधन विधि हो । यसलाई बुद्ध योग भने पनि हुन्छ ।

हिन्दूहरूका प्रवर्धनमा वैदिक ग्रन्थ, उपनिषद्, मनुस्मृति लगायत गोरखनाथ मार्गदर्शक हुन् । आध्यात्मिक साधनाको क्षेत्रमा गुरु गोरखनाथको योगदान अद्वितीय छ । गुरु गोरखनाथको दर्शनले एकातिर वैदिक दर्शन÷संस्कृति र बौद्ध दर्शन÷संस्कृतिलाई नजिक्याएको छ भने अर्कोतिर तन्त्र र मन्त्रको सुन्दर सामन्जस्य गरी हाम्रो पूर्वीय दर्शनलाई धनी बनाएको छ । यसैगरी एकातिर उच्च षडंग योगदर्शनको शिक्षा दिएको छ ।

हिन्दु तथा बौद्धभित्र मूर्ति पूजा गर्ने, मूर्ति पूजा नगर्ने, जनै लगाउने, जनै नलगाउने, टुप्पी पाल्ने टुप्पी नराख्ने, मान्साहारी, शाकाहारी, आस्तक, नास्तिक, बैरागी, सन्यासी यी सबै एकसाथ सहअस्तित्वको हिन्दूत्व र बुद्धत्वमाथि विश्वास गर्छन् । ‘‘ॐकारको साधना” नै प्रमुख साधना हो । ॐकारको साधना ‘‘सो द्र हं”का माध्यमबाट श्वास प्रश्वासमा समाहित हुन्छ तब यही आत्मामा नै परमात्माको दर्शन हुन्छ ।

हिन्दू समाजभित्र छुवाछुत जातभात, लिंगभेद हिन्दूधर्मभित्रको उपज नभएर धेरै पछि समाजभित्रैको बिकृतिको उपज हो । १. युद्धबन्दी, २. राज्यले जात झारेका र ३. हाडनाता करणीको मामिलाबाट समाज बहिष्कार हुनपुगेकाहरूबाट उब्जेका समस्याहरूको कारणले छुवाछुत प्रथाले संस्कारको रूप लिनपुगेको हुनाले हिन्दू समाजभित्र सामाजिक असमानताका कुराहरू उठेका छन् ।

यसबाट समाजलाई उन्मुक्त गराउन राज्यबाटै सशक्त कार्यक्रमहरू अभियानको रूपमा चलाउन सक्नुपर्दछ । युद्धबन्दी र राज्यले जात झारेका अछुत भनिएकाहरूलाई राज्यले छुवाछुत मुक्त गराउनु पर्दछ र हाडनाता करणीको मामिलाबाट समाज बहिष्कृत भएकाहरूलाई त्यस्तो सम्बन्ध तोडाएर राज्यले पत्या अर्थात् गोदान गराएर समाजले स्वीकार्ने व्यवस्था हुनुपर्छ ।

अहिलेको संसारमा इसाई साम्राज्य स्थापना गराएर हिन्दू तथा बौद्धको अस्तित्व समाप्त गर्न खोजेको छ । इसाईहरूले आफ्नो धर्म महान हो भनेर भ्रम सिर्जना गरेका भरमा कसैले पत्याउने कुरा आउँदैन । हामीले बुझेसम्म वैदिक हिन्दू सनातन धर्म सभ्यताको उद्गम हो । हिन्दू धर्मभन्दा धेरैपछि जन्मिएका धर्महरू– मुस्लिम, क्रिस्चियन हुन् ।

नेपालका हिन्दू र बौद्धहरू अत्यन्त उदार छन् । उनीहरू चाहे क्रिस्चियन होस् वा मुस्लिम आदर गर्छन् । नेपालमा मुसलमानहरूप्रति हिन्दू र बौद्धको कुनै चित्त दुःखाई छैन । किनकि मुसलमानहरू आफ्नो धर्म मान्छन् र हिन्दु तथा बौद्धप्रति सम्मान गर्छन्, आक्रमक हुँदैनन् । त्यसैले हामी मुसलमानप्रति आक्रोशित छैनौँ । तर क्रिस्चियनहरूप्रति नेपालमा हिन्दूहरू सशंकित र आक्रोशित छन् ।

क्रिस्चियनहरू नेपालको पहिचानलाई ध्वस्त बनाउन चहान्छन् । विक्रम संवत् १८ सयभन्दा अगाडि नेपालका मल्ल राजाहरूलाई प्रभाव पारेर केही नेपालीलाई क्रिस्चियन बनाउन थालेका र पृथ्वीनारायण शाहको एकीकरण अभियान असफल बनाउन जयप्रकाश मल्लको सहयोगमा क्रिस्चियन पादरीले इस्ट इन्डिया कम्पनीमा सहयोग मागेको र २३ अंग्रेज पलटन केप्टन किलकको नेतृत्वमा सिन्धुलीगडीबाट आक्रमण गर्न आएका र पृथ्वीनारायण शाहका फौजहरूबाट लखेटिएका थिए ।

पृथ्वीनारायण शाह इसाई पादरीसँग अत्यन्त सशंकित थिए । त्यसो भएकाले विक्रम संवत् १८२५पछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीहरूलाई यहाँबाट लखेटेका थिए । त्यसले गर्दा पनि क्रिस्चियनहरू हिन्दू र नेपालप्रति नकारात्मक बनेका हुन् । नेपाल हिन्दू र बौद्धको आधिकारिक थलो हो ।

५४ भन्दा बढी स–साना राजाहरू भएको हिन्दू राज्य एकीकृत भएर बनेको विशाल नेपाल ‘हिन्दू अधिराज्य’ हो । धर्म, संस्कृति, अनेकौँ चाड–पर्वहरू यसक्षेत्रका पहिचान हुन् । हिन्दू धर्मभन्दा धेरै पछि जन्मिएका मुस्लिम, क्रिस्चियन राज्यहरू धर्म सापेक्ष छन् भने अहिलेको प्रश्न छ कि नेपालले चाहीँ धर्म निरपेक्ष हुनुपर्ने ? यो कस्तो न्याय हो ?

प्राचीन सभ्यताको कुरा उठाउँदा विश्वका सभ्यताहरूमा यही भूभागलाई नै सभ्यताको उद्गम मानिन्छ । कैलाश–मानसरोवरदेखि गंगासम्मको हिमवत्खण्डको यो भूभाग एक समृद्ध सभ्यताको मूल हो । अनादिकालदेखिनै ऋषिमुनिहरूको अथक चिन्तन र प्रयत्नबाट वेद, उपनिषद्, पुराण, रामायण,अनेकौँ धर्मशास्त्र, राज्यका विधिविधान र सिद्धान्तहरू कैलाश–मानसरोवरदेखि गंगासम्मकै भूभागमा सिर्जिएका हुन् ।

यसक्षेत्रबाट सभ्यताको विकास र विस्तार गर्नमा ऋषिमुनिहरूको महान् देन छ । सप्तऋषिहरू ब्राम्हण र क्षेत्रीहरू भएता पनि किराँतीहरूका ऋषि ‘आकुुनी’को नाम पनि वेदमा पाइन्छ । तिनै ऋषिहरूको नामबाट विभिन्न जातिहरूको गोत्र चलेको छ । किराँतीहरूको गोत्र काश्यप,कासी, भारद्वाज आदि हो । जुन ऋषिका सन्तान थिएन उनको गोत्र पनि चलेन । हिमवत्खण्ड नेपालमा कुनै पनि ऋषिमुनिहरू–कस्यप, भारद्वाज, विश्वामित्र, कौसिक, वशिष्ट, अत्री, गौतम, जमदग्नी, सप्तऋषिहरू, ‘नेमुनीे’,परशुराम, उपमन्यु, मौतगल्य, शाण्डिल्य, मरिची, अंंगिरा, गार्गी, यज्ञवल्क्य, मैत्रेयी, ब्यास, पुलह, भृगु, माण्डव,  जस्ता यस्ता सैयौँ ऋषिहरूको तपोभूमि, कर्मभूमि हो– यो हिमवत्खण्ड नेपाल । वेद् उपनिषद्, पुराणहरू यही क्षेत्रकै उपज हुन् । बाल्मीकि ऋषिले चितवनको बाल्मीकि आश्रममा बसेर रामायण लेखेका थिए । जनक राजाले मिथिला क्षेत्रमा हजारौँवर्ष अगाडि सभ्यताको विकास गरे ।

मैत्रेयी र यज्ञवल्क्य जस्ता महान् ऋषिहरूले वेदका ऋचा लेखेका थिए । तेइस सय वर्ष अगाडि अशोकले यस क्षेत्रका सभ्य र सुसंस्कृत क्षेत्रीवंशका देवपालसँग आफ्नी छोरीे चारुमतीलाई विवाह गराएका थिए । वशिष्ट ऋषि रामका गुरु थिए । उनको वासस्थान देवघाट–वशिष्ट गुफामा थियो । अहिले पनि हामीहरू वशिष्ट गुफा देख्न सक्छौँ । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवत्खण्डको विषयलाई लिएर– “भारतवर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि” भनेको कुरालाई ह्रृदयंगम गर्दा यो क्षेत्र कति महान् छ भन्ने कुरा बुझिन्छ ।

कालीदासले पनि कुमार सम्भवको पहिलो श्लोकमा “हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्म नै यो आर्यभूमि हो” भनेर पुष्टि गरेका छन् । ‘कृर्वन्तो विश्वमार्यम्’ विश्वलाई नैँ सभ्य बनाऔँ, भन्ने ऋषि महर्षीहरूको उद्घोष थियो जहाँ विश्वका कैयौँ देशहरूमा ऋषिहरू र वेत्ताहरूबाट वैदिक ज्ञान व्यापक बनाउन खोजिएको र यही भूखण्डबाट विश्व्यापीरूपमा सभ्यताको विकास भएको थियो । यसरी नै विशाल नेपालको सिर्जना भएपछि पृथ्वीनारायणशाहका पालादेखि अहिलेसम्मका नेपालमा हिन्दु र बौद्ध बीचमा मतभेद रहेन । मुस्लिम, क्रिश्चियन धर्मवलम्वीहरूसँग पनि नेपालको प्रतिशोध थिएन ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्डका थुप्रै स–साना हिन्दु राज्यहरू–नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुर,, बाइसे, चौबिसे, पाल्पा, कास्की लगायत ५४ भन्दा बढी हिन्दू राज्यहरूलाई एकीकृत गरेर बनेको उसबेलादेखिको नेपाल हिन्दू अधिराज्य हो ।

हिन्दू अधिराज्य नेपालको सार्वभौमसत्ता, एकता र पहिचानसँग जोडिएको स्रोत हो । त्यसैले अव नेपालको स्थायित्व, एकता र प्रतिष्ठाको लागि नेपालको सार्वभौमसत्ताको मेरुदण्डको रूपमा स्थापित संवैधानिक राजसंस्था र नेपालको तराई, पहाड, हिमाललाई एकताको सूत्रमा आबद्ध गर्न सक्ने विश्वको एक मात्र हिन्दू अधिराज्यलाई यथावत कायम राखेर अखण्ड नेपालको प्रतिष्ठा बचाउन सबै राजनीतिक दलहरू तथा हामी नेपालीहरू एक हुन सक्नुपर्छ ।

प्रतिक्रिया