प्रधानमन्त्रीको जन्मघर

तेह्रथुमको आठराई गाउँपालिका–४ इवा गाउँमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघरको तस्बिरलाई गत आइतबार समाजिक सञ्जालमा धेरैले शेयर गरे । आफ्नो ६९औं जन्मोत्सव आफू जन्मेकै घरमा मनाउने निधो प्रधानमन्त्री ओलीले केही महिना अघिदेखि नै गरेका थिए । यसका लागि हेलिप्याड बनाउनेदेखि लिएर आवश्यक पूर्वतयारी पहिले नै भइसकेको थियो । आइतबार प्रधानमन्त्री ओली आफ्नो जन्मस्थल जाने कार्यक्रम मिडियामा आएपछि धेरैले सकारात्मक रूपमा लिए । ग्रामीण शैलीको खरले छाएको चिटक्क परेको सानो घरको तस्बिरले धेरैको मन तान्यो । त्यही घरमा २००८ साल फागुन ११ गते जन्मेका प्रधानमन्त्री ओली विगत दुई वर्षदेखि मुलुकको इतिहासकै सबैभन्दा शक्तिशाली जननिर्वाचित प्रधानमन्त्री छन् ।

आफ्ना बाल्यकालको पदचाप रहेको र सपना देख्दा पनि त्यही सेरोफेरोको देखिने भएकोले जन्मस्थल सबैका लागि प्यारो हुन्छ । नेपालका अधिकांश प्रधानमन्त्रीहरू त्यस्तै झुपडीमा जन्मेहुर्केका हुन् । फरक यति होकि अरू प्रधानमन्त्रीहरूको जन्मघरको तस्बिर जनताले देख्न पाएका छैनन् । आफ्नो जन्मस्थल तथा थातथलो बिर्सेर राजधानी काठमाडौंको वैभवमा रमाउने नेपालका प्रधानमन्त्रीहरूको भीडमा ओलीले फरक इतिहास रचेका छन् । धेरै पहिले बिक्री भई धेरै जनामा हस्तान्तरण भइसकेको उक्त घर प्रधानमन्त्री ओलीले केही वर्षअघि १० लाख रुपैयाँ तिरेर किनेका हुन् । घरनजिकै दुई सय रोपनी जग्गामा केपी शर्मा ओली ट्रस्टले स्थानीय जनताको इच्छाअनुसार प्राविधिक शिक्षालय वा कृषि तालिम केन्द्र बनाउने तयारी गरिरहेको छ । यो पनि अत्यन्त स्तुत्य कदम हो । हुन त यस विषयमा नकारात्मक टिप्पणी पनि भएका छन् । आफ्नो जन्मदिन मनाउन हेलिकोप्टर चढेर तेह्रथुम पुगेको, गाउँपालिकालाई सार्वजनिक बिदा दिन लगाएको भन्दै टिप्पणी पनि आएका छन् । तर, जननिर्वाचित प्रधानमन्त्रीको जन्मघर भनेको देशकै सम्पत्ति हो । यसको संरक्षण राज्यद्वारा नै गर्नु उचित हुन्छ । प्रधानमन्त्री जनताको घरदैलोमा पुग्नु लोकतन्त्रमा कत्ति पनि अर्घेल्याइ“ होइन, यो त कर्तव्य र जिम्मेवारी नै हो ।

आफ्नो जन्मघरको संरक्षण गरेर प्रधानमन्त्री ओलीले सकारात्मक सन्देश दिएका छन् । तर, अरू थप कदम पनि चाल्नु जरुरी हुन्छ । सबै पूर्वप्रधानमन्त्रीहरूको जन्मघर संरक्षण गर्ने निर्णय गर्दा राम्रै हुन्छ । गाउँघरको घर मर्मत तथा संरक्षण गर्न ठूलो बजेटको जरुरी पनि हुँदैन, सम्बन्धित स्थानीय तहहरूले नै यो काम गर्न सक्छन् । प्रायः सबै प्रधानमन्त्रीहरू दूरदराजका गाउँमा नै जन्मेका हुन् । कम्तिमा उनीहरू आफ्नो जन्मदिन तथा दशैं, तिहार, कुलपूजाजस्ता पर्वमा आफ्नो जन्मस्थान जाने परम्परा सुरु गर्ने हो भने गाउँमा बस्नेहरूलाई प्रेरणा मिल्छ । प्रधानमन्त्री तथा विशिष्टहरूका लागि राजधानीमा बस्ने खर्चको व्यवस्था राज्यले गर्दै आएको छ । आफ्नो जन्मस्थनमा बसेका पूर्वप्रधानमन्त्री तथा विशिष्टहरूका लागि मात्रै राज्यले सुविधा दिन निर्णय गरियो भने पनि सकारात्मक सन्देश जान्छ । गाउँघर रित्तिँदै जानुको मुख्यकारण प्रभावशाली व्यक्तिहरू आफ्नो जन्मस्थल फर्केर पनि नजानु हो । सहरमा आकर्षित भइरहेका मनहरूलाई गाउँमै फर्कांँ–फर्काँ लाग्ने बनाउनका लागि पहिलो सुरुवात प्रधानमन्त्री ओलीबाटै भएको छ । प्रधानमन्त्री ओलीको यो कदमको आलोचना गर्नुको सट्टा अरू नेता तथा पूर्वप्रधानमन्त्रीहरूले पनि यसबाट पाठ लिन सकून् ।

प्रतिक्रिया