जोतारोमा कस्नुपर्ने नेता

जमिन जोत्ने प्रयोग गरिने कृषि औजार हलो झण्डै एक दर्जन पार्टपूर्जाहरूले बनेको हुन्छ । जसमध्ये जुवा, हरिस, अनौ, जोतारो, सोइला, जुवा, फाली, हल्लुडो, पाटी महत्वपूर्ण छन् । यसको सहायताले बिउ छर्नुभन्दा पहिले जमीनको आवश्यक तयारी गरिन्छ । कृषिमा प्रयुक्त औजारहरूमा हलो सबै भन्दा प्राचीन हो, हलो कुनै न कुनै रूपमा इतिहासमा प्रचलित पाइएको छ ।

हलोले जमिनको माथिल्लो सतहलाई पल्टाइन्छ । जसले नयाँ पोषक तत्व माथी आउने गर्छ तथा झार–पतिंगर एवं बालीका डाँठ आदि जमीनमा दबिन्छन् । यी दबिएका झार–पतिंगरहरू कुहिएर मलको रूपमा परिवर्तन हुन्छन् । जमिन जोत्नाले जमिनमा हवाको प्रवेश पनि हुन्छ जसले गर्दा जमीनमा आद्रता (चिसोपना) बनाइ राख्ने शक्ति बढ्छ । हलो गोरू जोत्दा गोरूले तान्ने काठ या फलामबाट बनाइएको औजार हो जसको टुप्पामा सियो अथवा फाली रहेको हुन्छ । हलो ठाउँ अनुसार फरक फरक प्रकारको हुन्छ ।

हलो जोत्ने व्यक्तिलाई हली भन्दछन् । नेपालमा विशेष गरी गोरू अथवा राँगाले हलो तानेको पाइन्छ । धान रोप्ने खेतमा पहिलो पटक जोत्नुलाई बाँझो मार्नु, दोस्रोपटक जोत्नुलाई राँटा मार्नु, तेस्रोपटक जोत्नुलाई हिल्याउनु र चौथो पटक जोत्नुलाई दाँदे लाउनु भनिन्छ । पाखा बारीमा डल्ला फुटाउन लिडुल्को लाईन्छ । जुवामा लामो डोरी बाँधेर लिडुल्कामा अड्काइन्छ र त्यसमाथि हली चडेर गोरू अथवा राँगा धपाएपछि थिचिएर डल्ला फुट्छ ।

हलो तयारी छ । हल्लुँड, हरिस जुवा, सोइला, ठेडी, अनौ सबै सबै भए पनि जोतारो खुस्काइयो भने जमिन जोत्न सकिन्न । यस्तै, अहिले हाम्रो राजनीतिक दलका नेताहरूले बारी त जोत्न खोजेकै छन् । तर, जोतारो भने खुस्काइएको छ । जोतारो खुस्किएपछि बारी जोतिन्न न गोरू हिँड्छ न हलो तान्छ । यो हाम्रो दुर्भाग्य नै हो 

यसैगरी, जोतारो एक डोरी हो । यसको प्रयोग जुवामा गोरूलाई बाँधेर अड्याउनको लागि गरिन्छ । जुवाको सोइलाको टुप्पोमा मसिनो र बलियो डोरीको प्रयोग गरेर गोरूलाई बाँध्ने गरिन्छ । गाउँ–घरमा हलो जोत्न जो कोहीले जानेकै हुन्छ । हलो जोत्नु भनेको एक हल गोरू नारेर जुवा काँधमा हालेपछि दुईवटा शैलामा डोरी बाँधेर जोतारो कसिन्छ । जुन जोतारोको सहयोगले गोरूलाई नियन्त्रण गर्ने सिधा बल गर्दा हिँड्न सजिलो हुने भएकाले डोरीको प्रयोग गरिएको हो ।

सबैले जाने बुझेको कुरा केहो भने बारी जोत्न हल गोरू छ । हलो तयारी छ । हलुँड, जुवा, शैला, ठेँडी सबै सबै भएपनि जोतारो खुस्काईयो भने जमिन जोत्न सकिन्न । यस्तै, अहिले हाम्रो राजनीतिक दलका नेताहरूले बारी त जोत्न खोजेकै छन् । तर, जोतारो भने खुस्काइएको छ । जोतारो खुस्किएपछि बारी जोतिन्न न गोरू हिँड्छ न हलो तान्छ ? यो हाम्रो दुर्भाग्य नै हो ।

जनताले भारी जनमतले नेपाल कम्यनिस्ट पार्टी (नेकपा)लाई बारी जोत्ने जिम्मा दिएको छ । यहि बारीमा राम्ररी खनजोत गरेर नेपाल भन्ने देशलाई सुन्दर बनाउने अधिकार जनताको जनमतद्धारा प्राप्त गरेको भए पनि अहिलेको राजनीतिक कार्यकर्ताहरूले भने जोतारो खुस्काइदिएर जोतेको नाटक मञ्चन गरिरहेका छन् । गोरूलाई मेलामा उभ्याइएकै छ । हलो जुवा काँधमा भिराइएकै छ । तर, जोतारो कस्न नसकेको पनि हैन नजानेको कारण हाम्रो विकासमा बाधा परिरहेको छ ।

केही समय अगाडि खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गाउँपालिका र त्यसका आसपासमा डुल्ने अवसर पाइयो । विकासको कामहरू भरिभराउ नै छ जस्तो लाग्ने गरी घुमियो पनि । तर, भने जस्तो विकास भने पाइएन । समयचक्रले ल्याउने विकासभन्दा फरक किसिमले तुलानात्मक विकास भएकै छैन ।

केही भवनहरू बनेका छन् । सडकहरू असरल्ल लम्बेतान छन् । एउटा गाउँमा पुग्न तीन–चारवटा सडकका ट्र्याक खुलेका छन् । कति सडकका ट्र्याक निकै पुरानो भएकाले दुवो फेलिएको छ । कतिपय सडकको ट्र्याकमा कोदोको नल भर्खरै काटिएका छन् । हेर्दा रमाइलै लाग्ने गरी खनिएको सडकको सञ्जालमा कोदो मकै छर्न थालिएछ । दुवो मौलाउन थालेछन् । के यी सबै विकासको अनुकम्पाले नै गराएको हो त ? जिज्ञासा बढ्दो छ ।

जनप्रतिनिधिहरूलाई आरोपको ओइरो छ । कामको गुणस्तर नभएकामा जनताहरू रूष्ट हुन थालेको पाइन्छ । योजना वितरणमा धेरथोर असन्तुष्टि रहने भए पनि दिई सकेको योजनाको काम हेरेपछि व्यापक आलोचना हुन थालेको छ । जनप्रतिनिधिहरूले गरेको काममा पक्षपात भएको तीनै जनप्रतिनिधिलाई विजयी गराउने राजनीतिक दलका नेताहरूले आरोप लगाउन थालेको पाइन्छ ।

आफ्ना आफन्त तथा नजिकको नाताको वरिपरि मात्र योजना उपभोक्ता समितिहरू बनाएको गम्भिर आरोपहरू आउन थालेको छ । योजनाको उपभोक्ता समितिका अध्यक्ष आफ्नै भाइबन्धु तथा नाता आफन्त राखेपछि अनुगमनमा समेत अप्ठ्यारो हुने नै भयो । अनुगमन प्रभावकारी हुनै नसक्दा जनताले चाहेको जस्तो भरसिलो विकासमा बाधा पुगेको छ । जसले आलोचनात्मक हिसाबले योजनाहरूको सञ्चालनमा सुधारको खोजी गर्छ उसलाई सीधै विरोधीको संज्ञा दिइनुले राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिबीच दूरी बढ्न थालेको छ ।

यी माथिका कुराहरूकै कारण जनतामा लोकप्रियता खुम्चिन थालेको आभास हुन्छ । राजनीतिक पार्टीका नेताहरू जाँदा मञ्चको अगाडि बसिदिने मान्छेको सँख्य खुम्चिदै गएको छ । नेताहरूले भाषण गर्दा धेरैकुरा गरेको बताउँछन् । केही कामहरूको पहल भइरहेको सुनाउँँछन् । तर, गाउँमा त्यस्को कुनै चित्र नभेटेपछि जनता निराश छन् ।

आफ्ना असन्तुष्टि सीधै राख्न नसक्नेहरूले मनमा अर्को निर्वाचन कुरीरहेका छन् । ‘अब दुई वर्ष त होनि ।’ उनीहरूको एउटै आवाज छ ‘गाउँमा आउने अलिक टाठा बाठाहरू भागबण्डामा मिलिहाल्दा रहेछन् । हामी त हेरेको हे¥यै हो ।’ सामूहिक पीडा छ ।

हाम्रा सबैको पीडा यस्तै हुन् भन्ने यो जमातले राजनीतिप्रति नै उदासिनता देखाउँन थालेको पाइन्छ । यो राजनीतिप्रतिको उदासिनाताले हामीलाई र हाम्रो समाजलाई कता डो¥याउँदै छ । बुझ्ने वेला आएको छ । यसवेला राजनीतिक दलमा रहेका पदाधीकारी तथा नेताहरूले खै गर्ने वेला भएको छ । भने सार्वजानीक पदमा पुगेका जनप्रतिनिधिहरूले सच्चिने वेला पनि आएको छ । बाक्सिला बजारका पुराना वामपन्थी अगुवा तथा पूर्व गाविस अध्यक्ष समेत रहेका हरिश्चन्द्र राईकै शब्द सापटी लिने हो भने ‘अहिले हामी सर्वहाराको राजनीतिभन्दा सर्वाहाराको पो राजनीति गर्दै छौँ कि ?’ यो निकै जोखिमको अवस्था हो ।

बग्रेल्ती समस्याहरूको चाङ लागेका छन् । समस्याहरूको खोजबिन गर्नुपर्दछ । जनता जनार्दनले दिएको विस्वासको अपमान नहुने गरी काम गर्ने हो भने जमिन उर्वर छ । उर्वर जमिनमा खेती लगाउन नेताहरूले गोरोको काँधमा जुवा मात्र चढाएर हैन जोतारो कस्नै पछ । जोतारो नकसी गोरु खेदेर जमिन जोत्ने दृष्टता गरेमा परिणाम सधँै आफ्नै पोल्टामा रहिरहन्छ भन्न सकिन्न ।

प्रतिक्रिया