‘दबंग ३’ बहिष्कारको घोषणा

मुम्बई । बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ प्रदर्शनअघि विवादित बन्दै गएको छ । यसअघि चलचित्रको नामसँगै साधु महात्मा देखाइएको बारेमा विवाद हुँदै आएको थियो । सनातन हिन्दूवादी संस्थाले पछिल्लो समय आएर सम्पूर्ण चलचित्र नै बहिष्कारको घोषणा गरेको छ । यो संस्थाभित्र अन्य धेरै संघसंस्था आबद्ध छन्, ती संस्था चलचित्र बहिष्कार गर्नुपर्ने पक्षमा उभिएका छन् ।

‘दबंग ३’ बहिष्कार गर्नेमा हिन्दू जनजागृति समिति, बजरंग दल, हिन्दू राष्ट्र सेना लगायतका दर्जनौँ संस्था रहेका छन् । चलचित्रमा साधु सन्तलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै उनीहरू चलचित्रको विरोधमा उत्रिएका हुन् । चलचित्रको एउटा गीतमा साधु सन्तलाई गितार बोकेर उभिएको र कालो चस्मा लगाएको देखाइएको छ । दादर स्वामी नारायण मन्दिरमा सुटिङकै समयमा यसको विरोध गरिरहेका आन्दोलनकारीले यो मुद्दा आजसम्म पनि यथावत् राखेका छन् ।

‘अभिनेता सलमानले कहिले पनि मुस्लिम धर्म गुरुहरू र इसाई पुजारीहरूले त्यस्तो काम गरेका देखाएका छैनन् जस्तो यस भिडियोमा साधुलाई देखाइएको छ । त्यो साह्रै दुःखद् र भावनात्मक चोट पु¥याउने खालको छ । हामी यसलाई पूर्णरूपमा बहिष्कार गर्छौं’, उनीहरूले भनेका छन् । यस वर्षको क्रिसमसको अवसरमा पारेर उक्त चलचित्र प्रदर्शनमा आउने तयारीमा छ । यसमा सलमान फेरि चुलबुल पाण्डेकै भूमिका देखिनेछन् । त्यस्तै, चलचित्रमा अभिनेत्री सोनाक्षी सिन्हा महिला मुख्य भूमिका खेल्ने छन् । दक्षिण भारतीय फिल्मका सुपरस्टार किचा सुदीप फिल्ममा नकारात्मक भूमिका रहेका छन् ।

यसैबीच, ‘दबंग’ को तेस्रो शृंखला ‘दबंग ३’ ले प्रदर्शन अगावै एक सय ५५ करोड कमाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रले अमेजन प्राइमलाई अनलाइन स्ट्रिमिङ, टि सिरिजलाई म्युजिक र जी नेटवर्कलाई स्याटलाइट राइट्स बेचेको छ । त्यसैगरी, चलचित्रले डिजिटल राइट्स ओटिटी प्लेटफार्म अमेजन प्राइम भिडियोलाई ६० करोडमा बेचेको छ । त्यस्तै, जी नेटवर्कले ८० करोडमा स्याटलाइट राइट्स खरिद गरेको छ भने टि सिरिजले १५ करोडमा म्युजिक राइट्स खरिद ग¥यो ।

डिसेम्बर २० मा विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा सलमान र सोनाक्षीका साथमा किच्चा सुदीप, साईं मांजरेकर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्र प्रभु देवाले निर्देशन गरेका हुन् । निर्देशक प्रभुले भने, ‘यो एकदमै सलमान खान फिल्म हो । दर्शकले सलमानलाई पर्दामा जस्तो देख्न चाहन्छन्, उनको चरित्र फिल्ममा त्यस्तै छ । यो फिल्म तुलनात्मकरूपमा ‘दबंग’ सिरिजकै सबैभन्दा ठूलो फिल्म हुने पक्का छ ।’

प्रतिक्रिया