के छ नागरिक राजाको खबर ?

राजा ज्ञानेन्द्रलाई चिन्ता छ नेपाल विखण्डनको । पुर्खाले छोडेको नेपाल शान्त, सबल, सम्बृद्ध बनाउने दिशामा देश अग्रसर छैन भन्ने हेक्का छ र त्यसैमा चिन्तित छन् उनी । नेपाल रहे मात्र नेपाली रहने तथ्य बुझेका पूर्वराजा नेपालबाट कुनै हालतमा पलायन हुने छैनन् । कुनै हालतमा देश नछोड्ने वाचा र बाधा पूरा गर्दैछन् उनी । कुनै राजनीतिक मिसन छैन उनको । राजनीतिमा ओर्लिने छैनन् उनी 

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा नाचेको फोटो र भिडियो यतिवेला मिडिया तथा सामाजिक सञ्जालमा भाइरल भएको छ । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका ज्ञानेन्द्र सहभागीहरूसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो एलओडी नाइट क्लबले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।

ज्ञानेन्द्र र हिमानी नाचेको भिडियो र फोटो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्विटरमा लेखे–‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक, राजसंस्था ।’ पाका उमेरका भइसकेका मात्रै होइन जिन्दगीका धेरै उतार चढाव बेहोरेका पूर्वराजा ज्ञानेन्द्र यसरी नाच्नु आफैँमा ठूलो समाचार हो ।

मिडियामा आएअनुसार पूर्वराजा ज्ञानेन्द्र शाह क्लबमा पुगेपछि त्यहाँ रहेकाहरूलाई फ्लाइङ किस दिएका थिए । उनले त्यहाँ छोरीसहित अरू केही शुभेच्छुकहरूसँग रमाएर नाचेका थिए । उनले केही समय नाचेपछि कोट खोलेर हावामा घुमाएका थिए । उनले कोट राखेर अनौपचारिक रूपमै पनि त्यहाँ पारिवारिक सदस्यहरूसँग रमाएका थिए । वातावरण पूरै उनकै वरिपरि घुमिरेहको देखिन्थ्यो । पूर्वराजाले आफ्ना शुभेच्छुकसँग तालमा ताल मिलाइरहने क्रममा ‘रातो र चन्द्र सूर्य’ गीतमा राम्रो हाउभाउ देखाइरहेका थिए । त्यस्तै, हिमानीले पनि क्लबको फ्लोरमा रहेकाहरू उत्साहित बनाउँदै हल्का नाचेर मनोरञ्जन लिइरहेकी थिइन् ।

क्लबमा शनिबार राति १० बजे पुगेको पूर्व राजपरिवारले झण्डै तीन घण्टासम्म मज्जा लिएको बताइएको छ । एलओडीमा पूर्वराजा र उनका परिवारका सदस्यले शुभेच्छुकको साथ मज्जा लिएको देखिन्छ । उनले नाचेको तथा रमाएको दृश्य र तस्बिरलाई क्लबमा भएका अधिकांशले मोबाइलमा कैद गरेका थिए । उनको ८ मिनेटको र अन्य साना साना भिडियो क्लिप र तस्बिर भाइरल भइरहेको छ । पूर्वराजा र उनको परिवारले क्लबमा अनौपचारिक रूपमा गरेको रमाइलोलाई उनको आमसर्वसाधारणसँग घुलमिल हुने प्रयासका रूपमा पनि धेरैले लिएका छन् ।

राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय कुटनीतिबाट नजिकबाट गम्भीरतापूर्वक नियालिएका नेपालका अब्बल पात्र को हुन् ? उत्तर सहज र सरल छ– उनै क्या पूर्वराजा ज्ञानेन्द्र शाह । धेरैको जिज्ञासा छ, के होला पूर्वराजाको दैनिकी, कार्यलक्ष्य र गन्तव्य ? गणतन्त्रका स्वघोषित मसिहाहरूका दाबीमा प्रतिक्रियावादी कित्ताका नाइके हुन्, पूर्वराजा । राजसंस्था पुनस्र्थापनाका तमाम तानाबुना बुन्न व्यस्त छन् उनी र उनका हिमायतीहरू । अड्कलबाजी, जिज्ञासा र टिप्पणीहरू सबैका फरक–फरक पाइन्छन् ।

तर, यी त सब भनिने गरिने टिप्पणी र अनुमान मात्रै हुन् । खासमा पूर्वराजा ज्ञानेन्द्र अहिले नागरिक राजाका रूपमा समय व्यतित गरिरहेका छन् । समय सन्दर्भ हेरेर सरकारी निवास नागार्जुन बंगला वा निजी बंगला निर्मल निवासमा बस्छन । छैनन् गुमनाम । सुनाम वा बदनाम छन् त उनलाई हर्ने आँखा । आ–आफ्नो र दृष्टिकोणमा भर पर्ने कुरा न हो । ज्ञानेन्द्र शाहको टाउकोमा श्रीपेच छैन । नारायणहिटी राजदरबार छैन उनको कब्जामा । तर, श्रीपेचविनाका राजा अर्थात् नागरिक राजाको पूरापूर हैसियत, सोच, चिन्तन, व्यवहार, शान, शक्ति, मान सम्मानमा कुनै बदलाव छैन । नारायणहिटी छोडेर नागार्जुन बस्दा पनि खासै फरक छैन उनलाई ।

राजा ज्ञानेन्द्रलाई चिन्ता छ नेपाल विखण्डनको । पूर्खाले छोडेको नेपाल शान्त, सवल, सम्बृद्ध बनाउने दिशामा देश अग्रसर छैन भन्ने हेक्का छ र त्यसैमा चिन्तित छन् उनी । नेपाल रहे मात्र नेपाली रहने तथ्य बुझेका पूर्वराजा नेपालबाट कुनै हालतमा पलायन हुने छैनन् । कुनै हालतमा देश नछोड्ने वाचा र बाधा पूरा गर्दैछन् उनी । कुनै राजनीतिक मिसन छैन उनको । राजनीतिमा ओर्लिने छैनन् उनी । तर राजनीतिक नेतृत्वले आफूले गद्दी त्याग गर्दा पनि राष्ट्रिय एकता र जनताको हितमा काम गर्न नसकेकोमा पूर्वराजा ज्ञानेन्द्रको गहिरो चिन्ता छ । देशको राजनीतिलाई उकुसमुकुस अवस्थामा भएको ज्वालामुखीका रूपमा बुझेका छन् नागरिक राजा ज्ञानेन्द्रले । जनताले सुख शान्ति नपाएको र राष्ट्रियता कमजोर हुँदै गएकोमा निकै दुःखी छन् उनी ।

कुनै षड्यन्त्रमा तल्लीन छैनन् पूर्वराजा । पुनः शासकीय महत्वाकांक्षाका अवशेषहरूले ओतप्रोत पनि छैनन् उनी । प्रजातन्त्रप्रतिको पूर्ण निष्ठा, व्यवहार र संस्कारका हिमायती त हुँदै हुन् उनी । शान्तिका लागि माघ १९, २०६१ को कदम फिर्ता लिएर जनताको नासोलाई फर्काएका उनले प्रजातान्त्रिक मर्यादा अनुसार संविधानसभाको चुनावको स्वागत गरेकोमा र संविधानसभाको आदेश पालना गरेकोमा कुनै पछुतो गरिरहेका छैनन् । आफ्नो कदम फेल भए पनि गद्दी त्यागेर आफ्नो धुमिल छवी सच्चिएकोमा ढुक्क छन् उनी ।

वैशाख ११, २०६३ मा तत्कालिन आन्दोलनरत गिरिजाप्रसादहरू र आफूबीचको सहमतिमा नेताहरूले धोका दिएको र विश्वासघातको दुष्परिणाम भोग्दै गरेको ठम्याइ छ पूर्व राजाको । तर, बृहत् स्तरमा जनता र राष्ट्रको पक्षमा आफूले धोका पाउनुलाई पनि सहर्ष स्वीकार्दै छन् पूर्वराजा ज्ञानेन्द्र ।

बलेको आगो ताप्ने एकखाले नेपाली प्रवृत्तिप्रतिको निकै खरो अनुभव छ पूर्वराजाको । आफ्नो समर्थनमा सडकमा ओर्लेका कमल थापाहरू वा राजसंस्था त चाहिन्छ नै भन्ने राजसंस्थावादीहरूप्रति मौन छन् पूर्व राजा । विरोधीहरूले प्रचार गरेजस्तो कतै कोही कसैलाई प्रायोजन गरेर आफ्नो पक्षमा माहोल बनाउने कुनै कसरत गरेका छैनन् उनले । उनले खोजेको शान्ति, समृद्धि र राष्ट्रिय एकता धुमिल हुँदै गएकोमा भावविह्वल छन् उनी । कुनै ओठेभक्ति, शब्दभक्ति वा समर्पण होइन यी हरफहरू । एक शुभेच्छुक र सञ्चारकर्मीका रूपमा पूर्वराजासँग बिताएका केही पलहरूको समष्टिगत निचोडमा बुनिएका यी हरफहरू प्रायोजित प्रचारका लागि वा निश्चित उद्देश्यका लागि पनि होइनन् । पूर्व राजाप्रतिका जिज्ञासा मेटाउन नागार्जुन बंगला पुगेर फर्केपछिका स्मृति हरफहरू मात्रै हुन् यी सबै ।

गणतन्त्रवादीहरूसंग राजा रुष्ट अवश्य नै छ भन्ने कुरा त राजाले समय समयमाः मेरो र दलहरूको बिचमा के कस्ता सहमति भए त्यसको जानकारी भएका नेताहरू अहिले पनि ज्युँदै छ भनेर दिएको अभिव्याक्तिले नै पुष्टि गर्छ । साथै, राजाले समय समयमाः देश र जनताले मागेको र चाहेको समयमा म देश र जनताको सेवा गर्न सदैव तयार र तत्पर छु भन्नुले नै धेरै कुराको संकेत गर्छ । यसरी राजाले सभ्य र शालिन तरिकाबाट दलहरूलाई सम्झाउँदा पनि उल्टै राजालाई नै नानाथरि गाली गरौज मात्र गरे । तर, पनि राजाले आफ्नो शालिनतालाई छाडेनन् ।

तर, सहनताको पनि सीमा हुन्छ । राजाको चाहना सदैव देशको रक्षा र जनताको समृद्धि होस भन्ने नै हो । जुन कुरा राजा ज्ञानेन्द्रबाट राजगद्दी नै विना अवरोध परित्याग गरे देखाइएको थियो । तर, राजाको यो सहनता, शालिनता र र देशभक्ति भावना तथा देश र जनताप्रति अपार लगाब एवं प्रेमलाई राजाको कमजोरी सम्झेर यी गणतन्त्रवादीहरूले देश र जनतालाई बर्बाद गर्ने मात्र होइन देशको अस्तित्वलाई नै धरापमा पार्न थालेपछि केही समय अगाडि राजाबाट गणतन्त्रवादी सत्ताधारीलाई ७ प्रश्न सहित आफूलाई सुधार्न आह्वान भएको थियो । तर, गणतन्त्रपवादीहरूले राजाको आह्वानलाई कानमा तेल हालेर बसे । त्यसैको परिणाम हो यतिवेला भारतले सुरु गरेको खेल । राजा र जनता फुटाउन सके मात्रै आफ्नो नेपाल मिसन सफल हुन्छ भन्ने ठम्याइ दूरदर्शी राजनेता बिपी कोइरालाको थियो ।

प्रतिक्रिया