सुपर प्लस साइज प्रतिस्पर्धा

काठमाडौं । मोटोपना भएका युवतीको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ हुने भएको छ । धेरै युवती शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । यिनै मोटोपना भएका युवतीको सौन्दर्य प्रतियोगिताको तेश्रो सिजन राजधानीमा हुने भएको हो ।

मोडल संघस् नेपालले ओमानियाको प्रस्तुतिमा यो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाले भाग लिन पाउने आयोजकले जनाएको छ । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

आयोजक संस्था मोडल संघस् नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार काठमाडौंको नया“ वानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कार्तिक ३० गते हुने अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धीलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाका लागि ‘मिस्टर प्लस साइज नेपाल’ समेत आयोजना गर्दै आएको छ । कार्यक्रम इभेन्ट आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै ओमानीयाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्रा भन्छिन्, ‘प्लस साइज (मोटोपना) का कारण हिनताबोध भएका युवतीलाई प्रोत्साहन मिल्ने सौन्दर्य र क्षमता भएर पनि सधैँ पछिपरेका अनि आफ्नो मोटोपनले गर्दा आफूलाई एक्सपोज गर्न डराइरहेका महिलालाई लक्षित गरेर कार्यक्रम गरिएको हो । उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’

प्रतियोगिताका बिजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साइज, २०२०’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी गराइन् । उत्कृष्ट तीन रनरअपले विभिन्न उपहारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न फेसन सो तथा सौन्दर्य प्रतियोगितामा सहभागी हुन पाउने आयोजक जनाएको छ ।

प्रतिक्रिया