ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा

काठमाडौं । नेपाली चलचित्रलाई विश्वव्यापी बनाउने लक्ष्यका साथ ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण हुने भएको छ ।

उक्त कार्यक्रम सान फ्रान्सिस्कोको बे एरियामा नोबेम्बरको ३० देखि डिसेम्बर १ सम्म हुने भएको हो । यो कार्यक्रमको मुख्य आयोजकमा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, युएसए, नेपाली फिल्म सोसाइटी नेपाल, नेपाल गोल्डेन स्टेट मुभि मेकर एलएलसी युएसए रहेका छन् । त्यस्तै, उक्त अवार्ड कार्यक्रमको ८८४८ मिडिया हाउस एलएलसी र हिमालयन फाउन्डेसन क्रुप सहआयोजक रहेका छन् ।

नेपाली चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्य राखेर ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक संस्थाका अध्यक्ष नवराज श्रेष्ठले बताए । विगत तीन वर्षमा तेस्रो संस्करण संयुक्त राज्य अमेरिकामा सफलतापूर्वक सम्पन्न भएका यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नाराअघि सारेको उनले जिकिर गरे ।

उनले भने, ‘नेपाली चलचित्रलाई डायस्पोरामा प्रवद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै सिनेमामार्फत टुरिजम विकास गर्ने लक्ष्य राखेर कार्यक्रमको आयोजना गरिएको हो ।’ नेपाली चलचित्रसम्बन्धी अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्र्याउने अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए ।

अवार्डको तीव्ररूपमा तयारी भइरहेको नेपालका कार्यक्रम संयोजक मदुकुमार श्रेष्ठले जानकारी दिए । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् ।

नेपाली फिल्म इन्डस्ट्रिजलाई विश्वबजारसम्म फैलाउने उद्देश्य राखिएका यो संस्करण झन् व्यापक र बृहत हुने आयोजकको दाबी गरेको छ । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका स्थापित, नवोदितलगायतका कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया