नेपालमा श्वेतग्रिभी अपराध

समाजको उत्पत्तिसँगै अपराधको पनि जन्म भएको मानिन्छ । आपराधिक प्रवृति समाजको विकास र विस्तार सँगै परिर्वतन हुँदै आएको छ । अपराधलाई समाजको जिवनको एक हिस्सा नै भन्न सकिन्छ किनभने अपराधविहीन समाजको अस्तित्व कतै पनि पाइदैन । परम्परागत समाजमा पनि अपराध र त्यसको अस्तित्व रहने गरेको पाइन्छ,जहाँ कुनैले अपराध गरेमा उस भित्र कुनै नराम्रो आत्मा प्रवेश गरेको मानिन्थ्यो र सोहीअनुसार ईश्वरीय प्रक्रिया अपनाइन्थ्यो ।

आधुनिक समाजमा अपराधको नियन्त्रणका लागि विभिन्न खाले कानुनी संयत्र र सुधारात्मक कार्यक्रमहरूको थालनी भइसकेको छ तर अचम्म जति कानुन भए पनि अपराध पूरै नामेट भएको छैन । यसैले अपराधलाई मनोवैज्ञानिकहरू मानसिक प्रक्रियाको रूपमा औल्याइ रहन्छन् ।

जसरी मानिस जंगलीदेखि हालको अवस्थासम्म विकसित हुँदै आएको छ त्यसैगरी अपराध र यसको स्वरूप र प्रकृति पनि निरन्तर परिवर्तन हुँदै आएको पाइन्छ । समाजशास्त्रीहरू के भन्दछन भने जब समाजमा कुनै पनि व्यक्ति सामाजिक समूह वा वर्गविच द्वन्द्व वा विवाद उत्पन्न हुन्छ त्यसले नै समाजमा अपराधको प्रवेश गराउँदछ । अपराध एक जटिल सामाजिक रोग हो । मनोवैज्ञानिक, नैतिक, राजनितिक सांस्कृतिक, धार्मिक, आर्थिक, भौगोलिक वा अन्यकुनै पनिकारणले अपराध भइरहेका हुन्छन् । समाजको विकासका साथै पछिल्लो समयमा तीव्ररूपमा भइरहेको सूचना तथा प्रविधिको विकासले गर्दा पनि आज विभिन्न नयाँ–नयाँ खाले अपराधको जन्म भएको देखिन्छ ।

आज कुनैले अपराध गर्न ज्यानै लिनुपर्ने जस्ता कुरा पूराना भइसके । त्यस्तै अपराधका लागि सम्बन्धित ठाउँमा नै पुग्नुपर्ने जरुरी पनि रहेन । आज कुनै अपराधी दिल्लीमा बसेर न्युयोर्कमा अपराध गर्न सक्ने भइसकेको छ । प्रविधिको निरन्तर विकासले अपराधको क्षेत्रमा पनि नयाँ–नयाँ तरिका र ढाँचा विकास भएको देखिन्छ ।

नेपालमा पनि पछिल्लो समयमा अपराध र यसको प्रकृतिमा धेरै परिवर्तन भएको पाउन सकिन्छ । हुन त नेपाल अविकसित राष्ट्रअन्तर्गत पर्ने हुनाले यहाँ ठूला ठूला औद्योगिक विकास र प्रविधिको स्थापना भएको छैन तर पनि नेपाललाई प्रयोग गरेर वा यसलाई ट्रान्जिटको रूपमा उपयोग गर्ने समस्या दिनदिनै बढ्दै गएको छ । नेपालमा सम्पत्ति शुद्धीकरण अपराध, साइवर अपराध, वित्तीय अपराध, श्वतेग्रीवी अपराधको संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ ।

श्वेतग्रिभी अपराधलाई एक नवीन र आधुनिक अपराधको रूपमा लिने गरिन्छ । श्वेतग्रिभी अपराधको जन्म विश्वमा औद्योगिक क्रान्तिपछि भएको मानिन्छ । औद्योगिक क्रान्तिपछि नै समाजले आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा तीव्ररूपमा नयाँ–नयाँ उपकरणको विकास गर्न थाल्यो, जसका कारणले मनवीय क्रियाकलापका साथै समाजको मूल्यमान्यतामा पनि परिवर्तन हुदै जान थाल्यो ।

प्रविधिको निरन्तरको विकासले मानिसको चिन्तन र सोचमा परिवर्तन गरिदियो भने आवश्यकता र त्यसको पूर्तिका लागि जरुरी संयन्त्र पनि विकसित हुँदै गए । एकातिर जँहा प्रविधिले मानिसलाई भौतिक सम्पन्नता र सुगमता प्रदान गर्दै गयो भने तिनै प्रविधिको गलत प्रयोगले अपराधको क्षेत्र र प्रकृतिमा पनि संकट पैदा हुदै गए । समाजमा निरन्तर हुँदै गएको विकासले समाजको स्वरूपमा पनि परिवर्तन गर्दै गयो । जसका कारण सिमित स्रोत र त्यस सम्मको निश्चित पहुँचले समाजमा असम्झदारी पैदा गरायो जसले सामाजिक वर्गको पनि स्थापना भयो र त्यसले अपराधको परिधि पनि परिवर्तन हुँदै आयो । एकातिर विकास र प्रविधिको उपयोग गर्न पाउने र नपाउनेवीच द्वन्द्वको निर्माण भयो भने अर्कातिर धेरै कमाउने लोभ र लालचले पनि अपराधको जन्म हुन पुग्यो ।

श्वेतग्रिभी अपराध भनेको समाजका प्रतिष्ठित र उच्च घरानाको व्यक्तिले आफनो पेसा वा व्यवसायको सिलसिलामा कानृुनको उल्लंघनमार्फत गरिने अपराध हो । यस्तो अपराध समाज र कानुनविरुद्ध हुँदाहुँदै पनि समाजका कतिपय प्रतिष्ठित कुलनीवर्गका व्यक्तिले आफनो पेसा वा व्यवसायको सिलसिलामा यो अपराध गर्ने गर्दछन । यो अपराधको प्रभाव बहुआयमिक मानिन्छ । एकातिर धनाढय वर्गबाटै हुने हुँदा नियन्त्रणमा समस्या पैदा हुन्छ भने अर्कोतर्फ सामाजिक विश्वास, नैतिकता र मूल्य मान्यता सबै हराएर जान्छ ।

यस्तो प्रकारको अपराधमा भ्रष्टाचार, घुसखोरी, कालोबजारी कार्टलिङ, सिन्डिकेट, खाद्य एवम् पिउने पदार्थमा मिसावट, लागुऔषध बेचबिखन तथा ओसारपसार, स्वास्थय क्षेत्रमा व्यापार तथा एकाधिकार, गलत तथा भ्रामक विज्ञापन दिने, सरकारी कर्मचारीले आफ्नो पेसा र पदको आडमा गैरकानुनी गतिविधिमा आफूलाई संलग्न गर्ने आदि पर्दछन् ।

श्वेतग्रिभी अपराधमा अनाधिकृत रूपमा रकम वितरण गर्ने, पदीय दायित्व निर्वाहन गर्ने, मालसामानको गुणस्तरमा परिवनर्तन गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने सरकारी कार्यालयको सामान व्यक्तिगत प्रयोगमा लगाउने, सरकारविरुद्ध जालसाजी, गर्ने, बैंकिङमा जालसाजी, विमा तथा कर ठगी, घुसखोरी, भ्रष्टाचार, राजनितिक बेइमानी सबै श्वतेग्रिवी अपराधअन्तर्गत पर्दछन् ।

नेपालमा पनि अहिले नामचलेकै औद्योगिक घरानाका काला कर्तुत बाहिर आउन थालेका छन् । करछलीको आरोपमा त लगभग धेरै नै उद्योगी व्यापारी डामिएका छन् । त्यस्तै, बंैकिङ ठगी र कालो सूचीमा परेका व्यापारीको संख्या पनि ठूलो देखिन्छ, औषधीको आयात गर्ने आवरणमा लागू औषधीको कारोबारको धन्दा पनि मिडियासम्म आइपुगेको छ ।

श्वतेग्रिभी अपराध नेपालजस्तो संक्रमणकालीन समाजका लागि निकै चुनौतीपूर्ण छ किनकी यसको प्रकृति नै जटिल, उल्झन र दुविधायुक्त छ । समाजकै प्रतिष्ठित र धनीवर्गबाट गरिने यस्तो अपराधको रोकथाम र नियन्त्रण गर्ने सरकारी निकाय र तिनका हाकिम पनि कतिपय अवस्थामा तिनको निगाहमा रहेका हुन्छन् । यसले गर्दा अपराध र अपराधीको नियन्त्रण असम्भव बनेको छ । विद्वान् सदरल्यान्ड त्यसैले श्वेतग्रिभी अपराधको क्षमता अन्य अपराधको तुलनामा धेरै गुणा बढी नोक्सानी गर्ने खालको हुन्छ भन्छन् ।

नेपालका प्राय सबै राजनितिक दलका नेताहरूको धेरै व्यापारीसँग सौहार्द र रसरङ युक्त सम्बन्ध देखिन्छ । यो सम्बन्धले कतिपय सन्दर्भमा श्वतेग्रीवी अपराधको तानावाना गरेको बुझिन्छ । हालका प्रधानमन्त्री नै कुनै अमुक व्यापारीको पैसा र कारोबार बारे आवश्यकता भन्दा बढी चासो राखिरहेको भनेर समाचारमा आइसकेको छ । यसले शंका र संशय किन थपिएको छ भने ती व्यापारीको वित्तीय इतिहास शंकास्पद देखिएको छ ।

नेपाल अहिले आर्थिक, सामाजिक, व्यावसायिक र राजनैतिक रूपले नै कमजोर बन्दै गएको छ । बढ्दो राजनीतिक अपराधिकरणका कारणले देशमा क्राइम इकनोमी नै स्थापना हुन खोजे जस्तो देखिन्छ । समाजका सबै क्षेत्रमा विश्वास र भरोसा भत्किँदै गएको छ ।

श्वेतग्रिभी अपराधको प्रभाव निकै घातक रहेको हुन्छ । यसले सम्पूर्ण वित्तीय प्रणालीमा नै हानी पु¥याई समाजमा गरिबी, असमानता, अपराध बढ्न सक्दछ । यसलाई नियन्त्रण गर्न सकिएन भने यसले कानुनगत अर्थतन्त्रमा क्षति पु¥याई छाया अर्थतन्त्रको बोलवाला खडा गराउदँछ यसबाट समाजमा भयावह अवस्थाको सिर्जना हुन सक्दछ । नेपाल सरकारले आफनो कार्यक्षमता, अनुगमन र मूल्यांकनलाई समय सान्दर्भिक बनाउन जरुरी छ । कानुन कार्यान्वयनको सवालमा पनि प्रतिबद्ध हुनै पर्दछ । नत्र नेपाल अपराधीको क्रिडास्थल बन्दै जाने सम्भावना व्याप्त रहेको छ । सरकारका कतिपय पछिल्ला नीति तथा कार्यक्रमा व्यापक सुधारको जरुरी देखिन्छ ।

वित्तीय अपराध नियन्त्रणका लागि समय सान्दर्भिक कानुन, प्रविधि र दक्ष जनशक्तिको उपयोग अविलम्बन गरिहाल्नुपर्दछ । अहिले समाजमा देखिएको श्वतेग्रिभीअपराधलाई नियन्त्रण गर्न सकिएन भने तिनले समाजका मूृल्य मान्यता भत्काउँदै समाजलाई नै अराजक बनाउने हँुदा सरकारले यसतर्फ गम्भीर ध्यान दिनु जरुरी हुन्छ ।

प्रतिक्रिया