मत-विमत

इन्द्रजात्राको धार्मिक तथा संस्कृतिक महत्व

सन्दर्भः इन्द्र जात्रा

विश्वनाथ खरेल २०७६ भदौ २७ गते ६:४७ मा प्रकाशित

इन्द्रजात्रा सुरुआत राजा जयप्रकाश मल्लले गरेका हुन् भन्ने जनमानसको भनाइ रहेको पाइन्छ । यसर्थ नेवारी समुदायले मनाउने विभिन्न चाडपर्वमध्ये इन्द्रजात्रा पनि एक महत्वपूर्ण पर्व हो । नेवारी समुदायमा अहिलेसम्म पनि एउटा लोकप्रिय जात्राका रूपमा यसलाई मनाइँदै आएको छ 

नेपाल धर्म र संस्कृतिमा ज्यादै धनी छ । यसमध्ये इन्द्रजात्रा पनि एक हो । यो खासगरी काठमाडौं उत्पत्यका नेवार समुदायको महान पर्वको रूपमा रहेको छ । प्रत्येक वर्ष भाद्र चर्तुदशीका दिन पर्ने यो पर्व काठमाडौंलगायत ललितपुर, दोलखा, भक्तपुर, धुलिखेल, आदी स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गरी परम्परागत रूपमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका आगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।

यसरी ठड्याइएको लिंंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधिअनुसार लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरु हुन्छ । नेपाल भाषामा ‘योर्सी’ भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिन्ह अंकित पताका झुन्ड्याएको उक्त लिंगो ठड्याएपछि फेदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सैनिकको व्यान्ड बाजा, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन् ।

इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । यस अवसरमा हनुमानढोका दरबारक्षेत्रमा रहेको श्रेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई देखाइन्छ । यसअधि तान्तिक विधिद्वारा पूजा गरी काभे्रपलाञ्चोकको नालास्थित जंगलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ ।

यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । इन्द्रध्वजाको लिंगो ठड्याएपछि जात्रा आठदिनसम्म रहन्छ । यसरी आठदिनसम्म राजधानीका विभिन्न स्थानमा भक्कुनाच हलचोक (सवभकु), भक्तपुरको महाकालीनाच, मिजपातको मजियमत, लाखेनाच, दशअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

यस उपलक्ष्यमा काठमाडौंबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न जाने भक्तजनको घँुइचो लाग्ने गर्छ । त्यस्तै, गरी कुमारी घर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दस अवतार देखाइन्छ । यसपछि बहुमत निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन । यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन पहने याः भनेर गणेश, भैरव र कुमारीको रथलाई कान्तिपुर नगरिको माथिल्लो भाग मरुबाट माथि असनसम्म परिक्रमा गराइन्छ ।

त्यस दिन नेवार समुदायका मानिसहरूले ‘समयबजी’ खान्छन् । यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिंगो ढालेर जात्राको समापन गरिन्छ । यसरी आठ दिनसम्म नेवार समुदायले इन्द्रजात्रा मनाउँछन् । इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्पंसत्तः को बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ ।

इतिहास तथा संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरूले पारिजात फूल टिप्दै गरेको वेला पक्राउ गर्यो । त्यसपछि जयन्तलाई दुई हात पछाडि बाँधेर राखेपछि जयन्तलाई छुटाउन देवता र दैत्यहरूबीच संग्राम भई देवताको जित भएको खुसियालीमा इन्द्रजात्रा मनाउँदै आएको किवंन्दती रहेको छ । यसैगरी इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ ।

इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ । साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नालीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ । लिंगो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन क्वहने याः भनेर नेवार समुदायले मान्दै आएको जीवित देवीकुमारी, भैरव र गणेशलाई रथमा राखि काठमाडौं पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ ।

यो जात्रा गर्नुअघि हनुमानढोकाको गद्दीवैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा हेनुपर्ने प्रचलन छ । यो जात्रामा राष्ट्रप्रमुख उपस्थितिमा जयप्रकाश मल्लको पालादेखि चलिआएको हो र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाए र आफू स्वयम रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोककथन छ । यसैदिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सत्बिज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् । यसपछि बहुमत निकाल्ने भनि बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन् ।

अन्त्यमा भन्नुपर्दा हाम्रो देशमा धार्मिक एवं सांस्कृतिक विविधता रहेको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत धेरै चाड पर्वहरू एकपछि अर्को गरी लगातार आउने गर्छ । यसर्थ इन्द्र जात्रा सुरु भएपछि नेवार समुदायका विभित्र पर्व सुरु हुने गर्छ । यो पर्व सुरुवातको सँगसँगै हनुमानढोका अगाडि रहेको श्वेत भैरव र इन्द्रचोकमा रहेको भैरवलाई एकसातासम्म सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । राजा गुणकामदेवको पालादेखि इन्द्रजात्रा को प्रचलन सुरु भएको मानिन्छ । यहाँ भिन्नभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन् । विभिन्न धर्म मान्ने मानिसहरू विभिन्न चाडपर्व मनाउँछन् । त्यसमध्ये इन्द्रजात्रा पनि एक हो ।

यो चाड विशेषगरी काठमाडौं उपत्यकाका नेवार जातिले मनाउने गर्छन् । प्रत्येक जात्रा तथा मेलाको आफ्नै विशेषता र महत्व बोकेको हुन्छ । त्यस्तै गरी इन्द्रजात्रा सुरुआत राजा जयप्रकाश मल्लले गरेका हुन् भन्ने जनमानसको भनाइ रहेको पाइन्छ । यसर्थ नेवारी समुदायले मनाउने विभिन्न चाडपर्वमध्ये इन्द्रजात्रा पनि एक महत्वपूर्ण पर्व हो । नेवारी समुदायमा अहिलेसम्म पनि एउटा लोकप्रिय जात्राका रूपमा यसलाई मनाइँदै आएको छ ।

प्रतिक्रिया