‘पूर्ववत मान्यतामा नेपाल अडिग’

काठमाडौं । सरकारले मित्र राष्ट्रहरूसँगको सम्बन्ध पूर्ववत अवस्थामै रहेको बताएको छ । कुनैपनि देशको सम्बन्धमा सरकारको पूर्ववत् मान्यतामा कुनै पनि परिर्वतन र विचलन नआएको स्पष्ट पारेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि बेइजिङस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेका प्रेस विज्ञप्तिहरूमध्ये एउटामा नेपालले ‘आफ्नो भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिन अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको’ जनाइएको थियो । यस विषयमा अमेरिकाले सरकारको धारणा माग गरेको थियो ।

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसँग व्यवहार गर्ने स्पष्ट पारेका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसँग व्यवहार गर्ने बताएका हुन् ।

इन्डो प्यासेफिकका सम्बन्धमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको सार्वजनिक अभिव्यक्ति र त्यसमा अमेरिकी सरकारले नेपाल सरकारको धारणा मागेको सन्दर्भमा पत्रकारहरूले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नेपाल सरकारको पूर्ववत् मान्यतामा कुनै पनि परिर्वतन र विचलन नआएको स्पष्ट पारेका हुन् । ‘इन्डोप्यासिफिक, बीआरआई वा अन्य विषयमा म यतिमात्रै भन्न चाहन्छु कि स्वतन्त्र मुलुकको हैसियतमा हामी, छिमेकी र अरु मित्रराष्ट्रहरूसित आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौं, गर्दै आएका छौँ’ सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रवक्ता बाँस्कोटाले भने, ‘हाम्रो पूर्ववत् मान्यतामा विचलन आएको छैन, परिवर्तन आएको छैन ।’

यता, नेपालका लागि अमेरिका राजदूत ¥यान्डी बेरीले भने बिहिबार परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेट गरेर यसविषयमा कुराकानी गरेका छन् । उनले सरकारको आधिकारिक धारणा के हो भनेर जिज्ञासा समेत राखेको स्रोतको भनाइ छ । मन्त्रालयमा भएको भेटमा राजदूत बेरीले नेपालको सत्तारुढ दलका अध्यक्षले राखेको भनाइ बेइजिङबाट सार्वजनिक हुन आश्चर्यजनक रहेकोतर्फ संकेत गरेका थिए ।

प्रचण्डले भने चिनियाँ विदेशमन्त्री यीसँग आफूले गरेको कुराकानीलाई स्वभाविक ठान्छन् । उनी निकट एक नेताका अनुसार उक्त भेटमा प्रचण्डले एक चीन नीति र असंलग्न विदेश नीतिमा आफूहरू प्रतिवद्ध रहेको बताएका थिए । ‘हाम्रो परराष्ट्र नीति प्रति हामी प्रतिवद्ध छौं, कसैले कुनै योजना या परियोजना देखाएर हाम्रा छिमेकीविरूद्ध भड्काउन खोज्छन् भने हामीलाई मान्य हुँदैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने प्रचण्ड र वाङको भेटपछि जारी विज्ञप्तिको सन्दर्भमा बढाइ–चढाइ भएको टिप्पणी गरेका छन् । अध्यक्ष प्रचण्डले नेकपाको राजनीतिक प्रतिवेदन अनुसारै आफ्नो धारणा राखेको रिजालले बताए । ‘दक्षिण चीन सागर र मलक्का जलडमरुलगायत समुद्री मार्गहरूमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ र यसका विरुद्ध कतिपय देशका प्रयास, कोरियाली प्रायद्वीपको तनाव र पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिहरू लगायत एसिया प्रशान्त क्षेत्रका घटनाक्रमहरूलाई पनि हामीले ध्यानमा राख्नुपर्दछ’ नेकपाको राजनीतिक प्रतिवेदनको पृष्ठ ६ उद्धृत गर्दै रिजालले लेखेका छन्, ‘त्यही ध्यानमा राखेको कुरामा बढाइ चढाइ किन ?’

यद्यपी नेकपाका केही नेताहरुले भने प्रचण्ड शब्दमा चिप्लिएको प्रतिक्रिया दिएका छन् । उनले पार्टीकै लाइनमा बोलेपनि ‘तथाकथित’ भन्ने शब्द प्रयोग नगरेको भए कुनै पनि विवाद नआउने बताए । अमेरिका भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग गत डिसेम्बर १८ मा अमेरिकी विदेशमन्त्री माइकल पम्पेओले भेट गरेपछि वासिङ्टनले नेपाललाई आफ्नो इन्डो–प्यासिफिक स्ट्राटेजीको ‘एक महत्वपूर्ण साझेदार’ का रूपमा चित्रण गरेको थियो । दुई प्रमुख विश्वशक्तिको कूटनीतिक चेपुवामा परेको नेपालले त्यसप्रति खुलेर सहमति वा असहमति जाहेर गर्न सकिरहेको थिएन । विश्व मामिलाका जानकारहरूले इन्डो–प्यासिफिक रणनीतिलाई एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्न ट्रम्प प्रशासनले अघि सारेको महत्त्वपूर्ण नीति मान्ने गरेका छन ।

प्रचण्ड विदेश नीतिको मामिलामा पहिलो पटक चिप्लिएका भने होइनन् । यसअघि भेनेजुएला प्रकरणमा समेत उनले दिएको अभिव्यक्तिबाट अमेरिकाले आपत्ति जनाएको थियो । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा शक्ति राष्ट्र अमेरिकाले हस्तक्षेप गरेको भन्दै प्रचण्डले विज्ञप्ति निकालेपछि विवादमा तानिएका थिए । उनी लामो समय विवादमा तानिएपछि प्रधानमन्त्रीले स्पष्टिकरण दिएपछि साम्य भएको थियो ।

प्रतिक्रिया