आठ महिनामा ९८ अर्बको जीवन बिमा कारोबार

आर्थिक गतिविधिमा हुन थालेको सुधारसँगै बिमा कम्पनीहरूको व्यापारमा पनि सुधार देखिन थालेको आँकलन गरिएको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा साढे ९८ अर्ब रुपैयाँ बराबरको जीवन बिमा कारोबार भएको छ । अहिले १४ जीवन बिमा कम्पनी सञ्चालनमा रहेका छन् । ती कम्पनीहरूले फागुन मसान्तसम्म उक्त रकमबराबरको बिमा शुल्क आर्जन गरेका हुन् ।
यो अघिल्लो वर्षको फागुन मसान्तको तुलनामा ४ अर्ब ८० करोड ६४ लाख रुपैयाँ बढी हो । गत आवको आठ महिनामा जीवन बिमा कम्पनीले ९३ अर्ब ७२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका थियो । बिमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बिमा कारोबार गत आवको तुलनामा ५ दशमलव १२ प्रतिशत बढेको छ । आर्थिक गतिविधिमा हुन थालेको सुधारसँगै बिमा कम्पनीहरूको व्यापारमा पनि सुधार देखिन थालेको आँकलन गरिएको छ ।

फागुन मसान्तसम्म कम्पनीहरूको प्रथम बिमा शुल्क १८ अर्ब ६६ करोड ६१ लाख र नवीकरणमार्फत ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ शुल्क उठेको पनि तथ्यांकले देखाएको छ । चालु आवको साउनमा जीवन बिमा कम्पनीहरूले १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए । गत आवको साउनमा यस्तो शुल्क १५ अर्ब ५ करोड ७३ लाख रुपैयाँ थियो । यो वर्ष साउनको तुलनामा भदौमा बिमा शुल्क घटेको थियो । त्यसपछिका अन्य महिनामा पनि बिमा कम्पनीहरूको व्यवसायमा खासै सुधार हुन सकेको छैन । तर, गत आवसँग तुलना गर्दा भने व्यवसायमा सुधार आएको छ ।

कुल बिमा शुल्क संकलनमा नेपाल लाइफ अगाडि छ । यो अवधिमा यसले २६ अर्ब ३० करोड ३० हजार रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको छ । यो जीवन बिमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो । यस्तै गत आवको तुलनामा पनि यसको कारोबार ७ दशमलव ८८ प्रतिशत बढेको छ । दोस्रो धेरै व्यापार लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) को देखिएको छ । यो कम्पनीले आठ महिनामा ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । तर, गत आवसँग तुलना गर्दा यसकोे व्यापारमा खासै सुधार हुन सकेको देखिँदैन ।

यस्तै तेस्रोमा नेसनल लाइफ परेको छ । यसले फागुनसम्ममा कुल ११ अर्ब ५६ करोड १८ लाख रुपैयाँ बिमा शुल्क उठाएको छ । व्यवसाय वृद्धिदरका आधारमा भने नेसनल लाइफ पहिलो सूचीमा छ । कम्पनीको व्यापार गत आवको तुलनामा १३ दशमलव १० प्रतिशत बढेको छ ।
यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स पनि शीर्ष सूचीमै छ । कम्पनीको व्यापार गत आवको फागुन मसान्तसम्मको तुलनामा १० दशमलव ३४ प्रतिशत बढेर ११ अर्ब १८ करोड २ लाख रुपैयाँ कायम भएको छ ।

व्यवसाय वृद्धिका आधारमा भने एसियन र प्रभु महालक्ष्मी लाइफ पनि अगाडि नै देखिएका छन् । यो अवधिमा एसियनले १२ दशमलव ३८ प्रतिशतले व्यापार बढाएर ५ अर्ब १५ करोड ८७ लाख पु¥याएको छ भने प्रभु महालक्ष्मीको १२ दशमलव ३६ प्रतिशत बढेर २ अर्ब ७१ करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, रिलायबल नेपाल लाइफको व्यापार ११ दशमलव ६५ प्रतिशत, आइएमइको ७ दशमलव ७६ प्रतिशत, मेट लाइफको ७ दशमलव १७ प्रतिशत, सिटिजनको ४ दशमलव ३५ प्रतिशत र सूर्यज्योतिको ४ दशमलव शून्य १ प्रतिशतले बढेको छ । तर, राष्ट्रिय जीवन बिमा कम्पनीको व्यापारमा भने २२ दशमलव ३७ प्रतिशत गिरावट देखिएको छ । गत आवको फागुन मसान्तसम्ममा यो कम्पनीले ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा यसको व्यापार ५ अर्ब २३ करोड रुपैयाँमा झरेको छ । सन नेपाल लाइफको व्यापारमा ४ दशमलव ४२ प्रतिशत कमी आएको छ । फागुनसम्ममा सन नेपालले कुल २ अर्ब ४७ करोड १० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया