निर्जीवन बिमा कम्पनीको कारोबार घट्यो

बिमा विशेष

काठमाडौ । निर्जीवन बिमा कम्पनीको कारोबार घटेको छ । चालु आर्थिक वर्षको पुसको तुलनामा माघमा निर्जीवन बिमा कम्पनीको समग्रमा बिमा शुल्क आर्जन १८ दशमलव ४७ प्रतिशतले घटेको हो । पुसमा ३ अर्ब ६७ करोड बिमा शुल्क आर्जन गरेका निर्जीवन बिमा कम्पनीहरूको माघको संकलन २ अर्ब ९९ करोडमा सीमित भएको हो । मुलुकमा अहिले १४ निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् ।

१४ कम्पनी मध्ये दुई कम्पनीले मात्र आफ्नो व्यवसायलाई घट्न दिएका छैनन् । एक दर्जन कम्पनीको व्यवसाय घट्दा राष्ट्रिय बिमा कम्पनी र सानिमा जिआइसीको मात्र बिमाशुल्क संकलन बढेको छ । पुसको तुलनामा माघमा राष्ट्रिय बिमा कम्पनीले ३१६ प्रतिशत बिमाशुल्क संकलन बढेको छ । यो कम्पनीले २८ करोड बिमा शुल्क बढाएको हो । त्यसैगरी सानिमा जिआइसीको आय ९ दशमलव ५४ प्रतिशतले बढेर १९ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

बिमाशुल्क आर्जन घटेका कम्पनी मध्ये सबैभन्दा धेरै बिमाशुल्क आय द ओरिएन्टल इन्स्योरेन्सको घटेको छ । पुससँग माघको व्यवसायलाई तुलना गर्दा यो कम्पनीको बिमाशुल्क ९९ दशमलव शून्य ७ प्रतिशतले घट्न पुगेको छ । पुसमा यो कम्पनीले २० करोड ७९ लाख रुपैयाँको बिमाशुल्क आर्जन गरेकोमा माघमा १९ लाखमा झरेको छ । यसबाहेक धेरै आय घट्नेमा शिखर इन्स्योरेन्स ४९ दशमलव शून्य ५, हिमालयन एभरेस्ट ३२ दशमलव १४ र नेसनल लाइफको २३ दशमलव ८२ प्रतिशत घटेको छ ।

खासगरी निर्जीवन बिमा व्यवसाय घट्नुको एउटा प्रमुख कारण आयातमा कमी आउनु हो । अहिले बिमा कम्पनीहरूले नयाँ व्यवसाय पाउन सकेका छैनन् । यस्तै एनएलजी इन्स्योरेन्सको २२ दशमलव ६६, प्रभु इन्स्योरेन्स १० दशमलव ४०, युनाइटेड इन्स्योरेन्सको ७ दशमलव ८६ प्रतिशतले बिमा शुल्कमा कमी आएको छ । बिमा शुल्क आय घट्नेमा नेको इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, नेपाल इन्स्योरेन्स, र आइजीआई प्रुडेन्सियल पनि छन् ।

यो पुस र माघको तुलनामा मात्र नभई गत वर्षको माघ र यो माघको व्यवसायलाई तुलना गर्दा पनि निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय घटेको छ । यो वर्ष सगरमाथा, शिखर, नेको, हिमालयन एभरेस्ट, सिद्धार्थ र एनएलजी इन्स्योरेन्सको बिमा व्यवसायमा गिरावट आएको छ । अन्य कम्पनीको व्यवसायमा भने सामान्य सुधार मात्र आएको छ ।

गत वर्षको माघसम्मको कारोबारलाई यो माघसम्म तुलना गर्दा कुल व्यवसाय ३ प्रतिशतले घटेर २२ अर्ब ३९ करोडमा सीमित भएको छ । गत आर्थिक वर्ष माघमा यी कम्पनीहरूको बिमा व्यवसाय २३ अर्ब ६ लाख रुपैयाँ पुगेको थियो । मुख्य गरी कुनै पनि उद्योग–व्यवसायमा हुने जोखिम कम गर्न बिमा गरिन्छ । यो हिसाबले बिमा सबैका लागि अति आवश्यक र अनिवार्य पक्ष हो । तर, अर्थतन्त्रमा मन्दी आएर उद्योग–व्यवसायमै कमी आएपछि बिमा कम्पनीहरूको व्यवसाय पनि घट्न पुगेको छ ।

अर्कातिर बिमा गरेबापतको शुल्क तिर्न नसक्ने अवस्था आएपछि केही व्यवसायीले व्यवसायको जोखिम आफैँले उठाएर बिमाको खर्च कटौती गरेको अवस्था पनि छ । खासगरी निर्जीवन बिमा व्यवसाय घट्नुको प्रमुख कारण आयातमा कमी आउनुलाई लिने गरिएको छ । अहिले बिमा कम्पनीहरूले नयाँ व्यवसाय पाउन सकेका छैनन् । पुरानै व्यवसायको निरन्तरता मात्रै हुँदा बिमा शुल्क बढ्न सकेको छैन ।

कतिपय अवस्थामा पुरानो व्यवसायलाई पनि निरन्तरता दिन समस्या परिरहेको छ । निर्जीवन मात्र होइन, जीवन बिमाको अवस्था पनि खस्कँदो रहेको छ । जीवन बिमा बीचमै छोड्नेको अहिले लर्को लागेको छ । यसको व्यवसायमा पनि ठूलो समस्या देखिएको छ । अर्थतन्त्रमा सुधार नआउँदासम्म दुवै जीवन वा निर्जीवन बिमा व्यवसायलाई गति लिन सक्ने देखिँदैन ।

फागुनमा निर्जीवन बिमाको ब्यापारमा सुधार

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा निर्जीवन बिमा कम्पनीले २६ अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको फागुन मसान्तसम्म १४ वटा निर्जीवन बिमाले २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । जसमध्ये सबैभन्दा धेरै ब्यापार शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले फागुनमा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४ करोड रुपैयाँ संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५६ करोड रुपैयाँ संकल गर्दै तेस्रो स्थानमा रहेको छ ।

यस्तै, आइजिआई प्रुडेन्सियलले २ अर्ब ३० करोड २३ लाख, नेको इन्स्योरेन्सले २ अर्ब १२ करोड, हिमालयन एभरेस्टले २ अर्ब ९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । फागुनमा मात्रै ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन भएको छ । यो एक महिनामा कम्पनीहरूले २ लाख ४५ हजार ५६० वटा पोलिसी बिक्री गरेका छन् । फागुन महिनामा कम्पनीले संकलन गर्ने बिमाशुल्कसँगै पोलिसी बिक्री पनि बढेको छ ।

प्रतिक्रिया