पोर्चुगलमा नवराजको ‘कविता कन्सर्ट

काठमाडौं । युरोप यात्रामा रहेका कवि नवराज पराजुली पोर्चुगलमा ‘कविता कन्सर्ट’ मा सहभागी भएका छन् । कविता प्रस्तुत गरिरहँदा दर्शकले ताली बजाएर उनलाई साथ दिए । कवि पराजुलीले लगातार ५५ मिनेटसम्म कविता वाचन गरेका थिए ।

उनका कवितामा राजनीति, समाज देश तथा परदेशका विषय प्रखर रूपमा आएका थिए । उनले वाचन गरेका अन्तिम कविता ‘ह्यपी बर्थ डे’ ले दर्शकलाई भावुक मात्र बनाएन, कतिपयका आँखा रसाएका थिए । कवि पराजुलीले गला अवरुद्ध पार्दै कविता वाचन गरेपछि दर्शक भावुक बनेका थिए । ‘उनले वाचन गरेका वामपन्थी लभ’, ‘रूख’ र ‘च्याउ’ कवितालाई दर्शकले औधी रुचाएका थिए ।

पोर्चुगलमा पहिलो पटक भएको उक्त कन्सर्टमा दर्शको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाए । आयोजक मेला लिस्बोयका प्रमुख हरि थापाले भने, ‘दर्शकको सहभागिता उल्लेख्य रहेकाले उत्साहित भएका छौँ । कवि पराजुलीले भने, ‘संसारकै उत्कृष्ट फुटबल स्ट्राइकर क्रिटियानो रोनाल्डो फुटबल गोल हान्छन्, आज उनैको देशमा मैले कवितामा गोल हान्ने मौका पाएँ, खुसी छु ।’

अमेरिका पत्ता नलाग्दासम्म विश्वकै अन्तिम विन्दुका रूपमा पोर्चुगलको कावा दी रोकालाई लिने गरिन्थ्यो । क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ ।

यही ठाउँमा कवि पराजुलीले आकर्षक प्रस्तुतिका साथ धारावाहिक रूपमा कविता सुनाउँदा दर्शकले उनलाई निकै साथ दिए । उनले लिस्बनमा चर्चित कविता ‘सगरमाथाको गहिराइ’ वाचन गर्दा भने दर्शकदीर्घाबाट ‘वान्स मोर, वान्स मोर’ को माग समेत भयो । नेपालको भूगोलसँग मिल्ने युरोपकै अर्को सुन्दर देश स्विजरल्यान्डमा फेवाको उचाइ नाप्ने र एडमन हिलारीको कथा प्रस्तुत गर्ने उनको अर्को तयारी छ ।

प्रतिक्रिया