चाडपर्वको मौसम

सांस्कृतिक रूपमा नेपाली समाज निकै धनी छ । जातीय तथा सामुदायिक विविधताका कारण पनि नेपालमा हरेक दिन कुनै न कुनै चाडपर्वहरू परेकै हुन्छन् । त्यसमध्ये यस्ता केही चाडपर्वहरू छन् जसलाई प्राय सबै जातजाति तथा समुदायले उत्तिकै महत्वका साथ मनाउँछन् । त्यसैगरी, कुनै यस्ता चाड पर्वहरू छन् जसलाई मनाउने जाति तथा समुदायको संख्या निकै ठूलो छ । सामान्यतया हरेक महिनामा कुनै न कुनै महत्वपूर्ण चाड पर्व मनाइने गरे पनि साउनदेखि मंसिरसम्म भने विशेष चाडपर्व मनाइन्छ । साउने संक्रान्तिदेखि चाडपर्वको मौसम सुरु हुन्छ । इसाई तथा इस्लाम धर्म मान्नेबाहेक सबै धर्मावलम्बी तथा जातजातिका महत्वपूर्ण पर्वहरू साउनदेखि मंसिरसम्ममा पर्छन् । जसलाई चर्तुमास भन्ने पनि गरिन्छ । यो अवधिमा भगवान विष्णु पृथ्वीलोकमा आएर आराम गर्ने भएकोले विशेष रूपमा मनाइने गरिएको हिन्दू धर्मावलम्बीहरूको मत छ । तर, यो अवधिमा भगवान् विष्णुस“ग सम्बन्धित मात्रै नभएर अरू भगवान्हरूसँग सम्बन्धित चाडपर्वहरू पनि झन् ठूलो उत्सवका साथ मनाउने गरिन्छ । उदाहरणका लागि साउन महिनाभर भगवान् शिवको पूजा आराधाना गरिन्छ । श्रीकृष्ण जन्माष्टमी तथा तीज पनि विशेष महत्वका साथ मनाइन्छ । नागपञ्चमी पर्वको महत्वका साथ मनाउने समुदाय पनि निकै ठूलो छ । दशैँमा दुर्गाको पूजा हुन्छ । तिहारका पाँच दिन पनि विभिन्न देवदेवीको पूजा हुन्छ । केही दशकसम्म तराईको मधेसी समुदायमा सीमित छठ पर्व पनि पहाडतिर उकालो लागिसकेको छ । अझ काठमाडौं उपत्यकाको नेवारी समुदायमा त साउनदेखि मंसिरसम्ममा सबै दिन निकै महत्वपूर्ण चाडपर्वभित्रै समेटिएका छन् भन्दा फरक नपर्ला ।

चाडपर्व भनेको आफ्नो मौलिकता जोगाउने र समाजलाई जोड्ने कडी हो । हरेक चाडपर्वहरू कसरी मनाउने ? भन्ने कुरा समाजको आफ्नै धार्मिक तथा सांस्कृतिक नियम छ । कुन चाड पर्वमा के–के खाने , के–के नखाने ? के–के गर्ने , के–के नगर्ने ? कुन चाडपर्व कुन विधिअनुसार मनाउने ? भन्ने आफ्नै नियम छन् । यी नियमहरू मानिसको जीवनयापन तथा स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका छन् । हाम्रो शरीरलाई कुन मौसममा के–कस्तो पोषणतत्वको आवश्यकता पर्छ ? भन्ने कुरासँग चाडपर्वमा खाइने भोजन तथा जीवन पद्धतिले लिपिबद्ध गरेको छ । उदाहरणका लागि जनैपूर्णिमालाई क्वाँटी पूर्णिमा पनि भनिन्छ । क्वाँटी भनेको हाम्रो शरीरलाई पोषकतत्व दिने विभिन्न सातवटा गेडागुडीको मिश्रण हो । साथै तीजमा दर खाने चलन छ । दशैंमा माछामासु, तिहारमा रोटी तथा मिठाई प्रशस्त खाने चलन छ । कुनै कुनै पर्वमा उपवास बस्ने चलन पनि छ । कुनै कुनै पर्वमा मनोरञ्जन गर्ने चलन पनि छ ।

समय बित्दै जाँदा र एक जाति तथा समुदायको संस्कृति तथा चाड पर्व अर्को जाति तथा समुदायको चाडपर्वसँग अन्तरघुलन हुँदै जाँदा केही फरकपनसमेत आएको देखिन्छ । राम्रा पक्ष ओझेलमा पर्ने र नराम्रा पक्ष ग्रहण गरिँदै जाने अवस्थासमेत उत्पन्न भएको देखिन्छ । उदाहरणका लागि केही दशक अघिसम्म खस आर्य समुदायका महिलामा मात्रै सीमित रहेको तीज पर्व यतिवेला जनजाति तथा मधेसी महिलासम्म पुगेको छ । यो राम्रो पक्ष हो । तर, तीजको मौलिक स्वरूपमै परिवर्तन हुन थालेको छ । महिनौसम्म पार्टी प्यालेसमा गएर पार्टी गर्ने, दारु खाने, अंग्रेजी गीतमा नाच्ने प्रचलन सुरु भएको छ । अन्य चाडपर्वहरूको पनि करिब–करिब यस्तै अवस्था छ । जनैपूर्णिमाको नेपाली मौलिकता खुम्चिँदै गएर त्यसको ठाउँ राखीपूर्णिमाले लिन थालेको छ । बडादशैंलाई विजयादशमी तथा तिहारलाई दिपावली भनिन थालिएको छ । बडादशैं र तिहार मनाउने नेपाली परम्परा पनि विस्तारै भारतीयकरण हुन थालेको छ । चाडपर्व मनाउने भनेको मौलिकता जोगाउन पनि हो । तर, चाडपर्व मनाउने क्रममै मौलिकता बिर्सिँदै जाने हो भने आफ्नो संस्कृति मासि“दै जान्छ । संस्कृति मासिनु भनेको धेरै कुरा मासिनु हो ।

प्रतिक्रिया