विवाहको न्यूनतम उमेर

नेपालको मुलुकी ऐनमा छोराको विवाहको न्यूनतम उमेर १८ र छोरीको विवाहको न्यूनतम उमेर १६ कायम गरिएको थियो । नयाँ संविधान जारी भएपछि ल्याइएको मुलुकी संहितामा छोरा–छोरी दुवैको विवाह गर्ने न्यूनतम उमेर २० कायम गरियो । विवाहको न्यूनतम उमेर वृद्धि गर्ने मुलुकी संहिताको यो प्रावधानविरुद्ध मुलुकका केही ग्रामीण समुदायमा असन्तुष्टि देखिएको छ । कहीँ–कहीँ असन्तुष्टि प्रकट भएको पनि छ । बाँके जिल्लामा मुस्लिम समुदायका महिलाहरू आन्दोलनमै उत्रेका छन् । साबिककै उमेर कायम गर्नुपर्ने माग उनीहरूको छ । यो मागको विषयलाई लिएर बाँकेलगायत तराईका विभिन्न जिल्लामा जनचेतनाको अभियान सुरु गर्नुपर्ने आवाज पनि उठिरहेको छ । जनचेतनाकै अभावका कारण विवाहको न्यूनतम उमेर घटाउनुपर्ने माग बाँकेका मुस्लिम समुदायका महिलाहरूले गरेका हुन् । जनचेतना अभिवृद्धि गर्ने मुख्य जिम्मेवारी जनप्रतिनिधिहरूको हो । तर, कतिपय जनप्रतिनिधिहरू नै उमेरहद घटाउनुपर्ने पक्षमा लबिङमा जुटेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको प्रश्नोत्तर कार्यक्रममा बोल्दै सत्तापक्ष नेकपामा सांसदद्वय रामकुमारी झाँक्री र देवेन्द्र पौडेलले उमेरहद घटाउन माग गरेकी छिन् । सांसद झाँँक्रीको भनाइ थियो, ‘विवाहको न्यूनतम उमेर १८ वर्ष बनाउनुपर्छ, २० वर्ष नै भनेर आदर्शवादी बन्दा हामी आफैँले अपराध बढाउन प्रोत्साहन दिएका छौ” । त्यसलाई पुनर्विचार गर्नुपर्यो ।’ सांसद पौडेलले भने, भारतमा १८ वर्ष र यता २० वर्ष हुँदा समस्या भएको छ । २० वर्ष नपुगी विवाह गरेर भारत जाँदा फिर्ता ल्याउन खोजे पनि भारतीय प्रहरीले दि“दैन ।’

अन्तर्राष्ट्रिय कानुनअनुसार पनि १८ वर्षभन्दा कम उमेरको विवाहलाई बालविवाह भनिन्छ । अविकसित मलुकहरू बालविवाहको चक्रव्यूहमा फसेका छन् । अर्थात्, चेनताको कमीका कारण बालविवाह हुने गरेको छ, बालविवाहका कारण चेतनाको विस्तार हुन सकिरहेको छैन । चेतनाहीनता र बालविवाहको समस्या एक–अर्काका परिपूरकका रूपमा रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा करिब ३० प्रतिशत बालविवाह हुने गरेको छ । यो तथ्यांक विवाहको न्यूनतम उमेर छोराको १८ र छोरीको १६ वर्ष कायम हुँदाको हो । अब न्यूनतम उमेर २० वर्ष कायम गरिएपछि कानुन उल्लंघनका घटना थप बढेका छन् । कानुन निर्माणकर्ता सांसदहरूले नै यो कुरा स्वीकार गरिसकेका छन् ।

वास्तवमा विवाहको न्यूनतम उमेर २० वर्ष कायम गरिनु धेरै दृष्टिकोणले ठिक छ । कानुन कार्यान्वयनमा आउन सकेन भनेर फेरि घटाउनेतिर लाग्नुभन्दा भएको कानुुनलाई कार्यान्वयनतर्फ सबैको ध्यान जानु आवश्यक छ । जसले पढाइ सिध्याएर आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मात्रै विवाह गरेका छन् उनीहरूको जीवन सुखमय भएको देखिएको छ । जसले पढाइ बाँकी रहँदै र आफ्नो खुट्टामा उभिन नसक्दै विवाह गरेका छन् उनीहरूमध्ये प्रायःको जीवन सुखमय देखिँदैन । उच्च शिक्षा हासिल गरेका र आफ्नो खुट्टामा उभिएका दम्पतीले जसरी छोराछोरीलाई उचित शिक्षा–दीक्षा तथा देखभाल गर्न सकेका हुन्छन् त्यसको तुलनामा उच्च शिक्षा हासिल गर्न भ्याइनसकेका र आर्थिक रूपमा आफ्नो खुट्टामा उभिन नसकेका दम्पतीले छोरा–छोरीको उचित शिक्षा तथा देखभालमा आवश्यक ध्यान पुर्याउन सकेको देखिँँदैन । मुलुकमा योग्य नागरिक जन्माउनका लागि पनि विवाहको न्यूनतम उमेर २० उपयुक्त छ । यसैगरी, २० वर्षभन्दा कम उमेरमा आमा बन्दा बच्चा र आमा दुवैको स्वास्थ्य तथा शारीरिक विकासमा समस्या देखिने कुरा मेडिकल साइन्सले पनि प्रमाणित गरेको छ ।

प्रतिक्रिया