शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भाँडा माझ्दै गरेको तस्बिर यतिबेला सामाजिक सन्जालमा भाइरल बनेको छ । यसैगरी राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई बर्खास्त गर्ने प्रक्रिया शिक्षा मन्त्री श्रेष्ठले सुरु गरेको भन्दै वाही, वाही गर्नेहरूको भिड पनि सामाजिक सन्जालमा निकै बढेको छ । उनी नवोदित पार्टी रास्वपाकी समानुपातिक सांसद हुन् । संसद्का बैठकमा उनले पूर्व तयारीका साथ आफ्ना कुरा राख्ने गरेकी थिइन् । समितिका बैठकहरूमा पनि उनको प्रभावकारी भूमिका रहेको थियो । संसद्को पूर्ण बैठक तथा संसदीय समितिका बैठकमा नियमित उपस्थिति हुने सांसदका रूपमा उनको नाम लिइने गरिन्थ्यो । दूरदराजका गाउँबाट चुनिएर आई काठमाडौंमा डेरा लिई बसेका सांसदको तुलनामा काठमाडौंकै स्थानीय, त्यसमा पनि समानुपातिक सांसदलाई समयको सुविधा हुनु स्वभाविकै हो । उनले यो समयको भरपुर सदुपयोग गरिन् । देशका लागि राम्रै भयो । आधाजसो सांसदहरू यस्तै मिहिनेती हुने हो भने साँच्चैकै देश बन्थ्यो भन्नेहरू धेरै छन् । यो यथार्थ हो । मन्त्रीका रूपमा पनि सुमनाले निकै मिहिनेत गर्ने गरेको समाचार आइरहेका छन् । समाचारमा आएअनुसार उनी मन्त्रालयको काममा निकै खटिन्छिन्, हरेक दिन कर्मचारीहरूलाई बोलाएर मिटिङ गर्छिन्, कार्यप्रगतिबारे सोधपुछ गर्छिन् । कर्मचारीलाई विश्वासमा लिएर काम लगाउन सकिन् भने उनले जनतालाई परिवर्तनको अनुभूति दिने अपेक्षा गरिएको छ । तर, पछिल्ला दिनहरूमा उनी बढी प्रचारमुखी हुन थालेकी पो हुन् कि ? भन्ने आशंका उत्पन्न भएको छ ।
‘प्रिपेड’ पत्रकारको जमात र भर्याङ लिएर बिजुलीका लाइन काट्न जाने मन्त्री पनि देशले बेहोरेकै हो । अटेरी गर्ने कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाएर शौचालयमा थुन्ने मन्त्री पनि देशले बेहोरेकै हो । त्यति मात्रै होइन तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले त स्वदेशमै निर्मित गाडी प्रयोग गरेको तस्बिर सामाजिक सन्जालमा भाइरल बनाएका थिए । प्रधानमन्त्रीले महिनाको एकपटक जनताका घरमा गएर खाना खाने भन्दै गाउँतिर सुरक्षाकर्मीहरूले ‘रेकी’ गरेका समाचार पनि आएकै हुन् । तर, तत्कालीन प्रधानमन्त्री भट्टराई संविधान निर्माण गर्ने मूल जिम्मेवारीमा असफल भए । उनकै पालामा संविधानसभा विघटन भयो । दोस्रोपटक संविधान निर्माण गर्नुपर्ने बाध्यतामा देश पुग्यो । नेपाल भनेको गाउँ नै गाउँले भरिएको देश हो । करिव ८० प्रतिशत नेपालीहरू आफूले खाना खाएको थाल आफैँ माझ्छन् । होटल तथा पार्टी प्यालेसमा खाना खाँदाको कुरा अलग हो । नेपालमा सामाजिक सन्जाल फेसबुक प्रयोग गर्न थालिएको पनि दुई दशक भयो, तर आफूले खाना खाएको फोटो खिचेर सामाजिक सन्जालमा राख्ने चलन भने छैन । मन्त्री श्रेष्ठले आफूले खाएको थाल आफँै माझेका कारण भन्दा पनि यस्तो तस्बिर सामाजिक सन्जालमा पोस्ट गरिएका कारण धेरै चर्चा भएको हो । ढोंगी चरित्र नेपाली संस्कार होइन । यस्तो ढोंगी चरित्रलाई प्रोत्साहन दिनु हुँदैन । किनकी जनता झुक्याउनेहरूले प्रोत्साहन पाउँछन् ।
राजनीतिमा दलमा आवद्ध शिक्षकहरूलाई बर्खास्त गर्ने कानुन कार्यान्वयनका लागि मन्त्री श्रेष्ठले मातहतका निकायमा पत्राचार गर्नु ज्यादै सकारात्मक हो । तर, यो पत्राचार तत्कालीन प्रधानमन्त्री डा.भट्टराईले मुस्ताङ गाडी चढेको, तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टले भर्याङ बोकेको तथा शिक्षामन्त्री श्रेष्ठ स्वयंले थाल माझ्दै गरेको तस्बिरजस्तो नहोस् । किनकी एउटा उखानै छ, ‘भुक्ने कुकुरले टोेक्दैन, टोक्ने कुकुर भुक्दैन ।’ किनकी भर्याङ बोक्ने मन्त्रीको पालामा साउन महिनामा समेत दैनिक ६ घण्टा लोडसेडिङ थियो । तर, उनी मन्त्रीबाट हटेपछि नेपाल विद्युत् प्राधिकारणको नेतृत्व संहालेका कुलमान घिसिङले कात्तिकको अन्तिम सातादेखि लोडसेडिङ अन्त्य गरिदिए । कहीँ कतै हल्ला गरेनन् । लोडसेडिङ हटेको एक सातापछि मात्रै मिडियाले थाहा पाए । राजनीति गर्ने शिक्षकलाई बर्खास्त गर्ने कानुन कार्यान्वयन गर्ने निर्णय होइन कि, कार्यान्वयन भएको समाचार आयो भने मात्रै हो शिक्षा मन्त्री श्रेष्ठलाई धन्यवाद दिने । यो कानुन कार्यान्वयन हुन सक्यो भने शिक्षा क्षेत्रका ५० प्रतिशत समस्या समाधान हुन्छन् । तर, पहिले नै यसरी हल्ला गर्नु जरुरी छैन ।
प्रतिक्रिया