हरित ऊर्जा विकासमा एकजुट हुन राष्ट्रपतिको आह्वान

हिमालयन हाइड्रो एक्स्पो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशको रूपमा परिणत हुनु महत्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे । नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी भारतमा बिक्रीको लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे । ‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत् उत्पादनको लागि राखिएका लक्ष्य हासिल हुन सम्भव छ’ उनले भने । एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने बताए । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आह्वान गरे ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतिको महत्वपूर्ण आधार रहेको बताए । ‘आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्वाकांक्षी देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो’ उनले भने । लगानीको लागि देशभित्रको स्रोतमात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको बताए । अहिले संसद्मा दर्ता भई दफावार छलफलमा रहेको विद्युत् विधेयक चाँडोभन्दा चाँडो पारित भई कार्यान्वयनमा आउने उल्लेख गरे ।

जलविद्युत परियोजना विकासको लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने विश्वास व्यक्त गरे । ‘परियोजनाको लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ’ मन्त्री बस्नेतले भने । अहिले जलविद्युत परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्दासमेत पेचिलो बन्दै गएको छ । यसबारेमा पर्याप्त छलफल हुनुपर्ने र भइरहेको उनको भनाइ छ । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागिसमेत टेवा पुग्ने बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत आयोजनामा लगानी भइसकेको बताए । ‘आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलिरहेको र दक्ष, अर्धदक्ष र अदक्ष गरी ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको छन्’ उनले भने । उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्नको लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ । त्यस्तै, नेपालका लागि क्यानडाका राजदूत क्यामरुन म्याकीले भिडिया सन्देशमार्फत नेपालको समृद्धिको लागि जलविद्युतको विकास महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले नवीकरणीय ऊर्जा विकासको लागि अद्यावधिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए ।

समृद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ सुरु भएको एक्स्पो शुक्रवार सम्पन्न हुनेछ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत् निर्यातमा भन्दा पनि देशभित्रै खपत वृद्धि प्राथमिकतामा रहेको बताए । यसको लागि सबै सरकार, निजी क्षेत्र अन्य सरोकारवालाको महत्वपूर्ण हुने उल्लेख गरे । समृद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ सुरु भएको एक्स्पो शुक्रबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया