खडेरीले आँपबालीमा ठूलो नोक्सानी

मधेश ब्युरो । लगातारको खडेरीले आँप बालीका व्यापक नोक्सानी भएको छ । निरन्तर खडेरीले गर्दा जमिनको चिस्यान सुक्दै गएको र सुख्खा तातो हावाले आँपको चिचिला झार्ने समस्याले आँपबालीमा व्यापक नोक्सानी पु¥याएको हो । अहिलेसम्म पचास प्रतिशतभन्दा बढी चिचिला सुख्खा र खडेरीले नोक्सान भइसकेको आँपखेती गर्ने किसानहरु बताउँछन् ।

रौतहटको कटहरिया नगरपालिका बिर्ती प्रस्टोकामा फलफूल नर्सरी सञ्चालन गर्नेहरुले पनि लगातारको खडेरीले आँप बालीमा धेरै नोक्सानी पु¥याएको बताएका छन् । खोलाहरु सुकिसकेको तथा कलधारामा पनि धेरै ठाउँमा पानी आउन बन्द भइसकेकोले आँपबालीमा धेरै नोक्सान भएको हो । अझै आकासे पानी नपर्ने हो भने आँपबालीलाई अझ धेरै नोक्सान हुने अनुमान रहेको छ ।

सुख्खा किसिमको गर्मी भएको र हावामा हुने चिस्यान अत्यन्तै कम भई आँपको बोटको लागि चाहिने चिस्यान हावामा नहुँदा आँपको बोटमा नै सुख्खापन बढ्दै जाने कृषि अर्थविज्ञ विप्लव गुप्ताको भनाइ छ । जमिनमा पनि आवश्यक मात्रामा पानीको मात्रा नहुँदा बोटको लागि आवश्यक पानी बोटले नपाउने समस्या भएको अर्थविज्ञ गुप्ताको भनाइ छ । सुख्खा भइसकेपछि डाँठहरु कमजोर हुने र आँप तथा चिचिला झार्न सजिलो भएको हुँदा हावाहुरीले आँपको चिचिला झरेको गुप्ता बताउँछन् ।

यसबाट जोगिन साँझको समयमा आँपको बोट वरिपरि पानी हाल्दा राम्रो हुने सुझाव गुप्ताको रहेको छ । आँपको रुखको लागि सतही सिंचाइ सबैभन्दा राम्रो हुने र आँपको बोटको वरिपरि गोलो घेरा बनाएर सिंचाइ गर्नुपर्ने सुझाव अर्थविज्ञ गुप्ताको रहेको छ ।

मधेसमा आँपलाई फलहरुको राजा भन्ने गरिएको छ । सबै वर्ग र उमेरका मानिसले अत्यधिक रुचाउने आँप जेठको तेस्रो हप्तादेखि पाक्न सुरु हुन्छ र साउनसम्म पाइन्छ । सुरुमा आँपमा मञ्जरी निकै धेरै लागेको अवस्थामा हर्षित आँपखेती गर्ने किसानहरु चिचिला झरेर चिन्तित भएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया