एमालेको राष्ट्रिय भेला : सुन र पित्तलको बहस

पार्टीमा माकुने कुप्रवृत्तिको रहलपहल व्याप्त रहेको देखिन्छ । समस्या छ र यहीँभित्र समाधान पनि छ तर कतिपय समाधान अपरेसन नै गर्नुपर्ने खालको देखिन्छ । टोपबहादुर फेरि नजन्मिउन भनेर सबैले मम भन्ने र रोग निर्मूल गर्ने उपायमा गम्भीर नहुने हो भने क्षयरोगले सताउन सक्छ । मसिन चौरासी लक्ष राखेर परिचालन गरेका उपल्ला र माथिल्ला तहका प्रायः एमाले नेताबाट पार्टीलाई सबै हिसाबले पुनजीर्वित गर्ने खालका काम हुन सकेका छैनन् ।

मिथिला पोखरेल

नेकपा एमाले सिद्धान्त तथा नीतिका आधारमा अत्यन्त सही सर्वोत्कृष्ट पार्टी हो । सबै हिसाबले जनताको मन जितेर मात्र राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्ने जबजको विचार नै यस पार्टीको महान् पक्ष हो । मुख्य रूपमा जनतामा आधारित पार्टीले जनताको भावनालाई ध्यान दिनैपर्छ । एमालेजस्तो पार्टीले कार्यकर्ता र नेतामार्फत पार्टीका राष्ट्रिय स्तरका भेला सम्मेलनमा जनताका भावना प्रस्तुत गर्नैैपर्छ । जनताको मन जित्ने कुरा मात्र होइन काम पनि गर्नुपर्छ । यसै कारण पार्टीले आन्तरिक जीवनमा जनवादको उपयोग गर्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् गठन गरेको हो । त्यसैले पार्टीको यस फोरममा परिषद् सदस्यहरूले खुलाखुलस्त रूपमा पार्टीमा देखिएका सकारात्मक पक्षको दृढ समर्थन र कमीकमजोरीका बारेमा निर्धक्क बोल्ने र सुझाव दिनु नै जनवाद हो । नत्र नोकरसाही जनवाद मात्र हुन्छ ।

पार्टीका फोरममा पार्टीलाई शुद्ध मनले बलियो बनाउने खालका आलोचनात्मक कुरा बोल्नै दिइएन भने बाहिर पोखिने खतरा हुन्छ । अतिचार सहँदा सहँदा आजित बाहिर पनि पोखिन सक्छ । चाकरीकै भरमा पर्नेले पार्टी हितमा सही सुझाव दिँदैन । घिउ पनि धेरै समय छोपेर राखियो भने नर्कसरह दुर्गन्धित हुन्छ । यस्ता कुरामा ख्याल गरिएन भने सही सिद्धान्तको माला मात्र जपेर हुँदैन ।

यही वैशाख ८ र ९ गते गोदावरीमा रहेको सनराइज सम्मेलन हलमा परिषद् सम्मेलन सम्पन्न गर्न नेता विष्णु रिमालको संयोजकत्वमा उपसमिति गठन गरिएको थाहा भएको थियो । यसैगरी वैशाख १० गते नेकपा स्थापनाको ७५औँ दिवसका अवसरमा हिरक जयन्ती भव्य रूपमा मनाउने प्रेस वक्तव्यमार्फत जानकारी भएको छ । यो प्रतिनिधि परिषद् विधान महाधिवेशन सम्मको हैसियत र क्षमता राख्ने कुरा विधानमा नै उल्लेख भएको छ । तसर्थ यसले आफ्नो यति महत्वको गहन कार्यभार कसरी पूरा गर्छ भन्ने कुरा यस लेखको छलफलको विषय हो ।

समग्रमा केपी शर्मा ओली पार्टी नेतृत्वमा आएपछि पार्टी आफ्ना सिद्धान्त कार्यक्रम र कार्यदिशाका आधारमा चलायमान भएको छ । डा.बद्री पोखरेलका अनुसार माकुने प्रवृत्ति नै पार्टीमा हाबी भएको भए यो पार्टी धर्मशालामा नै परिणत हुन्थ्यो । ओली नेतृत्वपछि धेरै उपलब्धि भएका छन्, यी कुराहरू पार्टीमा र सरकारमा रहँदाका बखत धेरै उल्लेखनीय काम भएका छन् । कतिपय कुरा परिणामले पुष्टि गर्दा रहेछन् । एमाले विरोधीहरू र एमाले भित्रकै पनि कमजोर चेत भएकाहरू ओलीले दुईपटक संसद् विघटन गरेकामा खुल्ला र मौन विरोध गरिरहेका थिए । तर। प्रा.कृष्ण खनालले एक दैनिक पत्रिकमा प्रकाशित एक लेखमा बाह्य दबाब र प्रभावका कारण ओली सरकार ढालिएको उल्लेख गरेका थिए ।

हुन पनि सर्वोच्च अदलतले संसारका कहीँ नभएको टिके प्रधानमन्त्री बनाउँदा पनि खुल्ला र मौन समर्थन गर्ने लाजमर्दो अवस्था देखियो । त्यसैले ओली नेतृत्व पार्टी र सरकारमा हुँदा धेरै सकारात्मक तथा दूरगामी काम भए पनि पार्टीमा माकुने कुप्रवृत्तिको रहलपहल व्याप्त रहेको देखिन्छ । समस्या छ र यहीँभित्र समाधान पनि छ तर कतिपय समाधान अपरेसन नै गर्नुपर्ने खालको देखिन्छ । टोपबहादुर फेरि नजन्मिउन भनेर सबैले मम भन्ने र रोग निर्मूल गर्ने उपायमा गम्भीर नहुने हो भने क्षयरोगले सताउन सक्छ । मसिन चौरासी लक्ष राखेर परिचालन गरेका उपल्ला र माथिल्ला तहका प्रायः एमाले नेताबाट पार्टीलाई सबै हिसाबले पुनजीर्वित गर्ने खालका काम हुन सकेका छैनन् । अहिले पार्टीमा माथिदेखि तलतलसम्म आपसी अन्तविरोधबाट ग्रस्त अवस्थालाई समाधानसम्म गर्ने सोच नभएपछि अभियन्ताले गठन पुनर्गठन र टालटुले काम गरेर हुँदैन, कतिपय अभियन्ता आफ्ना क्षेत्रमा गएजस्तो र गइटोपल्ने गरेको पनि थाहा हुन्छ ।

पार्टी संगठन संगठनजस्तो हुनुपर्छ । वैचारिक सांगठनिक र सिर्जनात्मकजस्ता विशेषतायुक्त हुनुपर्ने हो । जिल्ला पार्टीमा नगरले कार्यवाही गरेका र पार्टी निकट होइन, आफू व्यक्ति निकटलाई प्राथमिकता दिइन्छ । जात, भात नाक, नश्ल, इतर भितरजस्ता कुराका आधारमा बनेका संगठन टिकाउ हुँदैनन् । अहिले त जिल्ला पार्टीका निर्वाचनमा माथिल्ला तहका कुनै न कुनै नेताका प्रभावका कारण चुनावका लागि चु्नाव गरिएको स्थिति देखिन्छ । बोल्न जान्दा आधा समस्या समाधान हुन्छ । आमनेता र कार्यकर्तालाई र जनतालाई आफ्ना पार्टीका र आफू सरकारमा हुँदाका कामहरू भन्ने हो पार्टी प्रभाव बढ्छ । चामल बेच्न नजानेपछि हालत पतला हुन्छ । इलामको निर्वाचन प्रचारप्रसारमा नेता र कार्यकर्ता गइरहेको देखिन्छ । तर, ती मध्ये धेरैको ध्यान नेताको आँखामा पर्न, काम देखाउन र आफ्नो निकृष्ट गुटगत स्वार्थलाई ध्यानमा राखेर गरिएको देखिन्छ ।

साँच्चै प्रचारप्रसार नै गर्ने हो भने र सुहाङ नेम्बाङलाई जिताउने नै हो भने इलामको दुई नम्बर निर्वाचन क्षेत्रका घरघरमा एक–दुई रात बासै बसेर सशक्त प्रचार अभियान सञ्चालन गर्न सकिन्छ । एमाले सुनसरीका जिल्ला सदस्य तथा प्रसिद्ध गीतकार गायत्री लम्साल यस खालका विषय उठाउँदै थिए । उनै लम्सालले पार्टीको अन्तरिक विवाद पनि समाधान गर्न पहल नगर्ने अभियन्ताले के चाहिँ गर्ने हुन् भने । अहिले त पहिलो कुरा पार्टीमा पदराजी नेता हाबी छन् । तिनले कामको प्राथमिकता कति बुझ्छन् थाहा छैन । दिनैभरि डुलेको छ, भ्याइनभ्याइजस्तो देखिन्छ । तर, उपलब्धि खासै छैन । जतातता पुगेकै छ । बिरालो बाँध्ने खालका ब्रतबन्ध, मलाम र भजनकीर्तनमा प्राथमिकतापूर्वक गएको छ । मूल काममा भन्दा अन्तअन्त आफैँ मात्र दौडिएको छ । मातहत अरू नेतालाई कहीँ पनि मुख देखाउन पनि भरसक दिँदैन ।

म आफैँ २०३६ सालदेखि अनेम हुँदै पार्टी प्रदेश कोसीमा पनि काम गरियो । इटहरी त मेरो घरजस्तै हो । यहाँका हर घरमा अनेम संघ र पार्टी काममा पुगेकी छु, तर खोटी मनले स्थानीय निर्वाचनमा चुनाव प्रचार गर्ने अवसर नै दिएनन् । जसले चुनाव हराउन प्रमाणित हरेक षड्यन्त्र ग¥यो उही मलाई अराजक भन्छ । काम गर्न चाहने कामविहीन छ । पदराजीले पदको माला लगाएको देखिन्छ । धन, सम्पत्ति, जग्गा जमिन र महल जोड्ने प्रतिस्पर्धा तीव्र देखिन्छ । अनुशासनहीन काम गर्नेलाई के कारबाही हुन्छ ? सियो चोर्नेले फाली चोर्छ अनि यस्तैले घर फोर्छ । लेखा चुस्तदुरुस्त जिल्लाजिल्लामा पनि हुनुपर्छ होला । मोर्चा संगठनहरू सबै हिसाबले कामयावी हुने हो यस्तो दरिद्र अवस्था हुँदैनथ्यो ।

बल्ल बल्ल पाँच–सात वर्षमा सम्मेलन हुन्छ । अनि अर्को सम्मेलनमा मात्र संगठन अलिअलि चलेजस्तो देखिन्छ । समितिका सबैलाई काम गर्ने पर्ने बनाएर कामको जिम्मा दिने र अनुगमन गर्ने हो भने काम हुन्थ्यो र कामले काम सिकिन्थ्यो तर अध्यक्ष वा अरू एकाधले संगठन कब्जामा रोखेको छ न अरूलाई कामको जिम्मा दिन्छ न आफैँ गर्छ अझ इन्चार्जमाथि इन्चार्ज छन् । तिनलाई गुहार्दा गुहार्दा समय बित्तछ । सबै मोर्चा संगठनहरू मिलेर देशव्यापी रचनात्मक समसामयिक अभियान सञ्चालन गर्ने हो भने ठूलो तरंग उत्पन्न हुन्छ । एमाले पार्टीले र सरकारले गरेका कामहरू कलात्मक रूपमा साहित्यिक संगीतात्मक नृत्य नाट्य सहितका अभियानहरू सञ्चालन गर्ने हो भने धेरै प्रभाव पार्न सकिन्छ । वडा, गाउँ र नगरका बालबालिका र युवाहरूलाई न्यून नगद पुरस्कारसहित रचानात्मक र सिर्जनात्मक काममा लगाउने हो भने ती पाँच वर्षपछि आफैँ आफ्नो राजनीतिक बाटो देख्ने हुन्थे । डा.पोखरेल जाने श्रीखण्डै श्रीखण्ड हुन्छ भन्नुहुन्छ । तर, नजानेरै दिन जाने भो ।

११ वर्षपछि मोरङ जिल्लामा मदन भण्डारी फाउन्डेसनको अधिवेशन भयो । ताल त उही हो फेरि काम गर्ने गराउने र प्रदेशबाट जिल्ला हेर्ने जिम्मेवारी नदिँदा काम हुने छैन । मैले नै मेरो निश्चित जिम्मेवारी ताकेर दिनुहोस् भनेको एक वर्ष हुन आट्यो । यस्तै चाला हो भने समय त्यसै खेर जाने देखिन्छ । इलामका पुराना कम्युनिस्ट नेता नरेन्द्रनाथ भट्टराई निर्वाचनमा अहोरात्र खटिरहनुभएको रहेछ । बुद्धिजीवी परिषद्का कार्यक्रममा डा. पोखरेलसित इलाम जाँदा वहाँसित चिनजान भएको थियो । ५४ वर्षको कम्युनिस्ट राजनीतिक कर्ममा अहिले जिम्मेवारहीन भए पनि उहाँले निष्ठापूर्वक आफू लागिरहेको बताउनुभयो र निर्वाचनको अभियान छाडेर प्रतिनिधि परिषद्मा जान नसकेको पनि बताउनुहुन्थ्यो ।

निर्वाचनको औपचारिक सभामा मुख बाउन र थुतुनो बजाउन पाइएको छैन । तैपनि योग्यता, अनुभव र उमेरका कारण आमकार्यकर्ता र जनता आफूबाट स्वतः प्रभावित भएको उहाँहरूको बडी ल्याङ्वेजबाट अनुभव भएको भट्टराईले बताउनुभयो । हुन पनि कतिपय नेताहरू खास कुनै पदीय हैसियतका नभए र नदेखिए पनि अग्लो र सग्लो ब्यानरसरह प्रभावशाली हुँदा रहेछन् र छन् । विधान महाधिवेशन सरहको यो प्रतिनिधि परिषद् पार्टी र कतिपय नेतृत्वमा रहेका वैचारिक, सांगठनिक, अनुशासन, निर्वाचन, आर्थिक, नैतिक आदि क्षेत्रका समस्या समाधानको सूत्र पहिल्याउन समर्थ होस् ।
नठोसी आगो बल्दैन । अमुक नेताको मुख नहेरी सत्यतथ्य सुझाव राख्नुपर्छ । आगाको तापिलो भट्टीमा गालेर र पगालेर मात्र अकबरी सुन बन्न सकिन्छ । पित्तल बन्न धेरै मिहिनेत गर्नु पर्दैन । जनताका भावनाहरू प्रतिनिधि परिषद्मा उठ्नु र उठाउनु पर्छ । आमश्रवजीवी जनता र कार्यकर्ता नै एमाले पार्टीका निर्माता हुन् । त्यसैले उनीहरूका सही आवाज सुन्नु र मनन गर्नुपर्छ । र मात्र एमाले पार्टी अब्बल बन्नेछ ।

(इटहरी निवासी लेखक अनेम संघकी केन्द्रीय सल्लाहकार हुन्)

प्रतिक्रिया