नेपाली हात्ती कतार पठाउन के के भयो, के के बाँकी छ ?

नेपाल सरकारले कतारलाई उपहार स्वरूप दिने घोषणा गरेको २ वटा हात्ती त्यसतर्फ पठाउन आवश्यक तयारी भइरहेको अधिकारीहरूले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा हात्ती उपहार दिने निर्णय सरकारले गरेको थियो ।

नेपालले चितवनमै जन्मिएर हुर्केका खगेन्द्रप्रसाद र रुद्रकली नाम गरेका दुई हात्ती कतार पठाउन लागेको हो । साढे ४ वर्षीय खगेन्द्रप्रसाद कोशीकलीको छावा हो भने साढे ५ वर्षीया रुद्रकली पुजाकलीकी छावा हो । दुवै चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा तालिम दिइएका हात्ती हुन् ।

अधिकारीहरूका अनुसार नेपालमा वन्यजन्तु संरक्षण गर्न थालिएयता विभिन्न देशलाई अरू जनावर उपहार दिइए पनि हात्ती दिन लागिएको यो पहिलोपटक हो । कतार पठाउन लागिएका दुवै हात्तीको स्वास्थ्य अवस्था राम्रो रहेको र दुवैले अनुशासनपूर्वक आदेश पालन गर्ने गरेको माहुते जदु सिंहले बताए ।

दुई देशमा एकअर्काको टोली

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट विज्ञ टोली कतार पुगेर हात्तीलाई राख्ने स्थान एवं त्यहाँको वातावरणबारे अध्ययन गरी फर्किसकेको वार्डेन दिलबहादुर पुर्जा पुनले बताए । विभागका वरिष्ठ इकोलजिस्ट मनोज शाह, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठ र हात्ती विज्ञ अशोक राम लगायतको टोली कतारमा एक साता अध्ययन गरी फर्केको हो । कतारमा आफूहरूले हात्तीको वासस्थान एवं वातावरणको निरीक्षण गरेको विज्ञ टोलीमा संलग्न चिकित्सक विजयकुमार श्रेष्ठले बताए ।

‘हात्तीका लागि वासस्थान उपयुक्त रहेको हाम्रो निष्कर्ष रह्यो’, श्रेष्ठले भने । कतारमा अति गर्मी हुने भएकोले नेपालबाट लगिने हात्तीलाई वातानुकूलित खोरमा राखिने बताइएको छ । ‘नेपालमा जुन वातावरणमा ती हात्तीको पालनपोषण गरिएको छ सोहीअनुसार वातावरण मिलाउन र मौसम अनुसारका घाँस हात्तीलाई उपलब्ध गराउन हामीले सुझाएका छौँ’, बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन तथा हात्ती विज्ञ अशोक रामले भने, ‘हात्तीको स्याहारसुसारका लागि प्रतिहात्ती फनित माहुते र पछुवा तीन जनाको व्यवस्था गर्न अनि हात्ती राख्ने स्थान ठूलो बनाउन पनि सुझाव दिएका छौँ ।’

कतार पठाउन लागिएका हात्ती वन्यजन्तुको ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि साइटिसको अनुसूची २ मा सूचीकृत घरपालुवा हात्ती हुन् । एक देशबाट अर्को देशमा लैजानुपरेमा लिने र दिने दुवै देशले साइटिसका प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान रहेको अधिकारीहरू बताउँछन् ।

कतारले हात्ती लैजाने निश्चित भइसके पनि दुवै देशबीच सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी रहेको र साइटिसका प्रक्रिया पूरा गर्ने क्रममा रहेको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले बताए ।

नेपालबाट लगिने दुई हात्तीको स्वास्थ्य अवस्था, तिनका आनीबानी एवं यहाँको वातावरणबारे बुझ्न कतारबाट एउटा प्राविधिक टोली आएर फर्केको हात्ती प्रजनन केन्द्रका शाखा अधिकृत मनपुरण चौधरीले बताए । प्रजनन केन्द्रमै बसेर हात्तीका बारेमा आवश्यक सबै जानकारी लिएर टोली फर्केको उनले जनाए ।

कतार एअरवेजको कार्गो टोलीले हालै सौरहाको खोरसोर र चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई हात्तीको लम्बाइ तथा चौडाइका साथै तौलसमेत लिएर फर्केको छ । हात्तीको आकार र तौलबारे बुझेपछि तिनलाई लैजान सकिने भनी टोली फर्किएको शाखा अधिकृत चौधरीले बताए ।


निकुञ्जका अनुसार कतार पठाउन तयारी अवस्थामा राखिएको खगेन्द्रप्रसादको तौल १ हजार १९० किलो र रुद्रकलीको वजन १ हजार २०० किलो रहेको छ । दुवै हात्तीलाई खोरमा राखेर काठमाडौंसम्म ट्रकमा र त्यहाँबाट कार्गो जहाजमा लगिने बताइएको छ । यद्यपि हात्ती कतार पठाइने यकिन मिति तय हुन बाँकी रहेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । दुइटै हात्ती पठाउनका लागि आवश्यक पूर्वतयारी भने भइसकेको उनले जानकारी दिए ।

कहाँ कति वन्यजन्तु उपहार

नेपालले जनावर उपहार दिएको यो पहिलोपटक होइन । नेपालले हालसम्म विभिन्न देशमा दुर्लभ एकसिंगे गैँडा, घडियाल गोहीलगायत वन्यजन्तु उपहार दिएको छ ।

नेपालले सन् १९८५ देखि २०१८ सम्म २६ वटा दुर्लभ एकसिंगे गैँडा र १९९० देखि २००४ सम्म १० घडियाल गोही विभिन्न देशलाई उपहार दिएको तथ्यांक छ । सन् १९८५ मा भारतलाई चार वटा गैँडा, सन् १९८७ मा अमेरिकालाई ४ वटा, सन् १९९० मा जर्मनीलाई एउटा उपहार स्वरूप नेपालले दिएको छ ।

सन् १९९३ मा बंगलादेशलाई २ वटा, १९९३ मा जर्मनीलाई एउटा, सन् १९९८ मा युकेलाई एउटा, सन् २००० मा जापानलाई २ वटा, सन् २०१८ मा अस्ट्रियालाई २ वटा र सन् २०१८ मा चीनलाई २ वटा गैँडा नेपालले दिएको छ । नेपालबाट सन् १९९० मा जर्मनीलाई २ वटा घडियाल गोही, सन् २००० मा फ्रान्सलाई ६ वटा र सन् २००४ मा भुटानलाई २ वटा पठाइएको तथ्यांक छ ।

दुई हात्तीका लागि फनित माहुते र पछुवा गरी ६ जना कर्मचारी पनि हात्तीसँगै पठाउने तयारी निकुञ्जले गरेको छ । बच्चादेखि पालनपोषण गरेको हात्ती कतार पठाउन लागिएकोमा नरमाइलो लागेको पछुवा रामदत्त चौधरीले बताए ।

नेपालमा निजी घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन् । जंगली हात्ती ६० देखि ६५ वटा रहेको अनुमान छ । (बिबिसी)

प्रतिक्रिया