पुजार सार्कीको टिम दलित आयोगमा

काठमाडौँ । पुजार सार्की टिम ललितपुरको कुपण्डोलस्थित राष्ट्रिय दलित आयोग पुगेका छन् । चलचित्र ‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएपछि यसै साता चलचित्रको टिम आयोगको कार्यालय पुगेको हो । चलचित्रको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम राखेको थियो । चलचित्रका अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदी कार्यक्रममा उपस्थित भएका थिए ।

जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघंर्षको कथामा आधारित चलचित्रप्रति दलित आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै चलचित्रबारे जानकारी लिएका हुन् । भेटघाट कार्यक्रममा लेखक सुवेदीले आयोगलाई चलचित्रको कथावस्तुबारे जानकारी दिँदै ‘पुजार सार्की’ आफूले देखेको घटनामा आधारित भएर बनेको उल्लेख गरे ।

आयोगसँगको छलफलमा सहभागी हुँदै सुवेदीले भने, ‘मैले आफ्नो गाउँ ठाउँमा देखेको घटनामा चलचित्र लेखेको हुँ । चलचित्रमा उल्लिखित केही घटनालाई प्रगतिशील विचार राख्नेहरूले समेत मुख्याइँको रूपमा लिने गरेका छन्, जुन कुरा बाहिर आउन जरुरी छ । यसले हाम्रो समाजको दृष्टिकोण अझै बदलिएको रहेनछ भन्ने मलाई लाग्यो ।’
कमर्सियल कलाकारहरू र प्रस्तुतिसहित चलचित्रबाट जात भन्ने चिज नै मानवीय दृष्टिमा स्वीकार्य हुँदैन भन्ने कुरा स्थापित गर्न खोजिएको लेखक सुवेदीले स्पष्ट पारेका थिए ।
‘तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन अन्त्य गरेर छुवाछुत जघन्य अपराध हो भन्ने स्वीकार गरे, त्यो दिनदेखि २०४६ सालको ५६ दिनको आन्दोलनको पेरिफेरिमा चलचित्रको कथा घट्छ’, उनले भने ।

अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको स्मरण गरिन् । चलचित्रको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताउँदै उनले चलचित्र गर्ने बेला धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गरिन् ।

अभिनेत्री परीक्षाको मनमा सुरुमा यस्तो कथामा अझै पनि चलचित्र बनाउन आवश्यकताका बारे प्रश्न उठेका थिए । उनी भन्छिन्, ‘जुन समुदाय र स्थानमा म हुर्किएँ, त्यहाँबाट हेर्दा अझै पनि यस्तो कथामा चलचित्र बनाउन जरुरी छ र ? भन्ने लागेको थियो,’ उनले भनिन्, ‘जातीय विभेद त अब सकिसक्यो, यस्तो कथामा पनि चलचित्र बनाउनुपर्छ र भन्ने भएको थियो । जब चलचित्रको कथा सुनेँ र जहाँ छायांकन भयो, त्यहाँको परिस्थितिले मलाई अचम्मित बनायो । त्यहाँ धेरै कुरा देख्ने र बुझ्ने मौका पाएँ ।’

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले ‘पुजार सार्की’ निर्माण भएकोमा खुसी व्यक्त गरे । उनले चलचित्रलाई आयोगले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘जातीय विभेदको विषय १४ प्रतिशत दलित समुदायको मात्र होइन, यसले हाम्रो देशको अर्थतन्त्रमै गम्भीर असर पारेको छ’, अध्यक्ष विश्वकर्माले भने, ‘यो कुराको अन्त्यका लागि चलचित्र बनाएर जुन कदम चालिएको छ, त्यसका लागि सम्मान छ । आयोगले चलचित्रलाई जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

दिनेश राउतको निर्देशनमा तयार भएको ‘पुजार सार्की’ १० जेठबाट प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ ।

प्रतिक्रिया