पारस बने ‘होस्टेल ३’ का अभिनेता

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ मा ‘कुल ब्वाइ’ को नामबाट चर्चित पारस बम अनुबन्धित भएका छन् । टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट क्रियटर’को रूपमा चर्चित बमलाई चलचित्रको महत्वपूर्ण भूमिका र प्रमुख पात्रहरू मध्ये एकका लागि लिइएको जनाइएको छ ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको सो चलचित्रबाट डेब्यु गर्न लागेका पारस गायकसमेत हुन् । उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस’ लगायतका गीतहरू चर्चित छन् ।
चलचित्रको स्क्रिप्टले माग गरे अनुसारको पात्रमा पारस उपयुक्त रहेकाले अनुबन्ध गरिएको निर्देशक कँडेलले बताए । उनले सो चलचित्रबाट पनि अघिल्ला भागहरूमा जस्तै कुल ब्वाइ सहितका अन्य केही स्टार कलाकारको जन्म हुने जनाए ।

‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन् ।

‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’लाई सुनील रावलले बनाएका थिए भने ‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शंकर कोइराला र सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् ।

२०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिर्टन्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए । ‘होस्टेल ३’ का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताएका छन् ।
यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको जनाइएको छ ।

प्रतिक्रिया