आयो निधुली दुष्प्रचारको काल

एक कार्यक्रममा जब नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आगामी भाद्र महिनामा पार्टीले राष्ट्रव्यापी जागरण अभियान सुरु गर्ने कुरा बताउनु भयो तव पार्टी र सरकार विरुद्धका भित्री र बाहिरी दुष्प्रचारहरूको काल हुने यस लेखकले ठहर गरेको छ ।

निधुली अकबर राजाका दरबारबाट बहुमूल्य गरगहना बठ्याइँपूर्वक चोरी गरेर भागेको तर चोर पत्ता लागेर कठघरामा उभ्भिनुपरेको वा कालसित सामना गर्नुपरेकोे घटनालाई यस लेखमा आधार बनाइएको छ ।

अहिले निधुलीहरू सूचनाहरू लुकाउन र चोर्न, गलत लेखोटहरू कोर्न, नेकपालाई सके छिटै फोर्न कलमबाजहरू र दुष्प्रचारवाजीमा अतिव्यस्त देखिन्छन् । सायद यो उनीहरूको मानो खाएर मुरी उब्जाउने वेला होला ।

देशका दुस्मनहरू जनताका आँखा बन्द गर्न चाहन्छन् । अर्थात् राणा शासनमा झैँ जनतालाई पढ्न लेख्न नै बन्देज लगाउँछन् । यदि जनताले पढ्ने लेख्ने र चेतनशील बन्ने अवस्था पर्याप्त छ भने अनेक कृति, प्रीति, सञ्चार, प्रचार, पाठ्यसामग्री र पुस्तकमार्फत् अनेक प्रपञ्च गरेर सत्य तथ्य लुकाउँदै जनतालाई भ्रमित पार्छन् । तर, झुटो टिक्दैन, अपराध धेरै दिन लुक्दैन ।

जब इतिहासका निर्माता महान् जनता जनविरोधी सत्ता र सरकारविरुद्ध उर्लिन्छन् त्यसवेला संसारकै ठूला बादशाह झुक्न, लुक्न र भाग्न विवश हुन्छन् । राज्यको चौथो अंग मानिने पत्रकारिता जब आफ्नो धर्म निर्वाह गर्नबाट चुक्छ र झुट र फरेब मात्र भुक्छ तब त्यसवेला पत्रकारिता होइन पत्रुकारिता मात्र शेष रहन्छ ।

पत्रकारिताका सकार र नकारका अत्यन्त प्रभावशाली पक्षलाई आधार मानेर लाखौँ अमेरिकी सेनाले भन्दा पनि ठूलो शक्ति एक अखबार र मिडियामा हुन्छ भनिन्छ । अझ गोयबल्स शैलीमा जब सेतोलाई पनि हजार बार कालो भनिन्छ तब त्यसको प्रभावले समय क्रममा जन मानस भट्किन सक्छ र भड्काउन सकिन्छ । अहिले नेपालमा यही भइरहेको देखिन्छ ।

नेकपाका धेरैजसो नेता, कार्यकर्ता, स्रष्टा, बुद्धिजीवीहरू नै सरकारका बारेको असन्तुष्टि विषयमा जनताको सतही असन्तुष्ट रायलाई सिरानी हाल्छन् र त्यसमा आफ्ना असन्तुष्टि पनि घोल्छन् । तर तिनलाई सच्चा नेता र अगुवा भीडका पछि लाग्दैन, अघि लाग्छ र सही मार्ग देखाउँछ भन्न्ो तिनले बिर्सिएको देखिन्छ ।

सिस्नुपानी नेपालले अत्यन्त हलुका र सतही मनोरञ्जनका लागि नेपालको मिडिया विदेशीको गुडिया भनेको थिएन र होइन । अहिले त केही मिडिया ज्यान फालेर नेकपा र यसले नेतृत्व गरेको ओली सरकारका विरुद्ध निरन्तर र तारन्तार लागि परेका देखिन्छन् । हुन पनि यस्तै भ्रम छरेर कतिपयको सुखसयलपूर्ण बितेको यस लेखकलाई जानकारी छ । घर जलाएर आगो ताप्नेहरूसित कसैको केही लाग्दो रहेनछ ।

०७६ साउनको १० गते एक अत्यन्त लोकप्रिय भनिने एफएममा बिहान १०.३० बजेको कार्यक्रंममा अहिले सरकारले लागू गर्न खोजेको कर प्रणालीका विरुद्ध आमजनतालाई विद्रोह गर्न उक्साउने खालको कार्यक्रम सुन्दा यो लेखक छक्क प¥यो । अहिले केही मिडियाहरू प्रेमपरक, रंगिला तथा राजनीतिसित कुनै साइनो र सम्बन्ध नै नभएका कार्यक्रमहरूमा मूलतः सरकार र अझ प्रधानमन्त्री ओली केन्द्रित भद्दा आलोचनामा अहोरात्र केन्द्रित देखिन्छन् । त्यसैगरी, लोकप्रिय भनिने एकाध छापा पत्रिकासमेत सामान्य पत्रकारिताका अतिसामान्य आचरण र मर्यादाविपरीत लेख, टिप्पणी र समाचार प्रवाह गरिरहेका छन् । यस खालका मिडियाहरू भात, पानी र निद्रासमेत त्यागेर लागि परेजस्तो लाग्छ ।

पार्टीका राष्ट्रव्यापी जागरण अभियानबाट सञ्चार, प्रचार तथा कथित बौद्धिक तथा लेखकीय अपराध कर्म गर्नेहरूको हुलिया जगजाहेर हुनेछ । बौद्धिक नगरबधुहरू चिनिन्छन् । गोयबल्स शैलीका दुष्प्रचारहरू पानीका फोका सरह फुट्नेछन् । कतिपय नेकपाकै नेताहरूले पनि सरकारका सकारात्मक कामहरूको सूचीहरू आफ्नै हातमा परेपछि यथार्थ सत्य पनि थाहा पाउनेछन् । सूचना लुकाउनु, भएका राम्रा कुरा लुकाएर र छोपेर आम जनतालाई भ्रमित पार्नु जस्तो अपराध केही पनि हुँदैन ।

घाँसी नामका एक झगडियाले आदिकवि भानुभक्तसितको रिस फेर्न घरको पाल्तु कुकुराई भानुभक्ते भनेर नामराखेर सरापेझैँ एकाध अत्यन्त चल्तीका मिडियाले ओली सरकारसित बापबैरी साधुँलाझैँ गरेर निरन्तरका लेखोट छपाएर उधुम मच्चाएका छन् । ०७६ साउन गलत क्रिफ्ट नामको एक लेखमा कम्युनिस्ट पार्टी र यसले नेतृत्व गरेको सरकारविरुद्ध विषवमन नै गरेको देखियो । तर, यस्ता प्रयोजित लेखकहरू उता कमरेड विप्लवका हिंसात्मक गतिविधिलाई भने परोक्ष रूपमा प्रोत्साहित गरेको भने बुझिनसक्नु छ ।

बुद्धि विवेकलाई खोपामा राखेर लेख्नु के लेख्नु ? अरूकै प्रज्ञाबाट सञ्चालित प्रज्ञा के प्रज्ञा ? अरूकै सार र शब्द सापट लिएर लेखेको लेख के लेख ? अरूहरूकै बुद्धि उधारोमा लिएर बुद्धिजीवी हुनुजस्तो दुर्दशा अरू के हुनसक्छ ? बौद्धिक भरिया हुनुजस्तो लज्जास्पद अरू के हुनसक्छ ? त्यसैले प्रधानमन्त्री ओलीले यस्तालाई सेता चामल बुद्धिजीवी नामकरण गरिदिनु भएको छ ।

नेकपाको यो राष्ट्रव्यापी जागरण अभियानले गोयवल्स शैलीका भुइँ तहसम्म फैलाइएका तमाम भ्रम, फरेब र झुटहरूलाई समाप्त पारिदिनेछ । जान्दा श्रीखण्ड, नजान्दा खुर्पाको बिँड अँगेनाको दाउरो हुन्छ । आजै र अहिल्यै प्रधानमन्त्री, मन्त्री र अन्य आकर्षक पद नपाएर उत्पात असन्तुष्ट नेकपाका नेताहरूले सुनुन् । अहिले एकताबद्ध भएर सरकार र पार्टी देश र जनताका लागि इमान्दार रूपमा लाग्ने हो भने सत्ता र सरकार कम्तीमा बीस वर्ष अकण्टक हुनेछ । तर सिद्धान्त सही निक्र्योल गर्न नसक्ने हो भने सोम शर्माको सपना पनि हुने निश्चित छ ।

तर सत्ता र सरकारको स्थयित्व तथा दीर्घ जीवनका लागि सांस्कृतिक रूपान्तरण अपरिहार्य हुन्छ । भाग्यवादी पुनर्जन्मवादी पुराण फलाकेर जनवादी सत्ताको दीर्घायु किमार्थ सम्भव हुँदैन । यसका लागि अर्वाचीन पुराण अपरिहार्य हुन्छ । अनि त्यस वेला सबका सब नेताले महान् अवसर पाउने छन् । आजै पाइएन भनेर विभिन्न अखबारमा रोइलोधोइलो गर्नै पदैन । विपक्षीझैँ सरकारविरुद्ध जाइलाग्ने केही अखबारिया स्थायी समिति र पोलिटब्युरो एकाध नेताहरूलाई नेता भन्न पनि सरम लाग्न थालेको छ ।

बिसौँ वर्ष भूमिगत बसेको र सशस्त्र युद्ध लडेको भन्ने कतिपय नेताको सैद्धान्तिक, वैचारिक, सोच र समझ अत्यन्त कमजोर देखिन्छ । पार्टी त एकीकृत भयो तर माक्र्सवादको कखरा नजानेकाहरू माथिल्लो तहमा पुगेका छन् । मृत आत्माको चिर शान्तिको कामना गर्नेहरूको हुल पार्टीमा पर्याप्त छ । शस्त्र चल्यो तर शास्त्रको एकै पाना पल्टिएन छ । हात चल्यो बुद्धि एक रत्ति चलेन । नेकपामा बौद्धिक तथा प्राज्ञिक नेतृत्वको सर्वथा अभाव रहेछ ।

ती अमुक पदमा खानापूर्ति गर्न काम लाग्लान् तर तिनमध्ये धेरैले बौद्धिक, प्राज्ञिक, सिर्जनात्मक राप, ताप र प्रताप दिन सकेजस्तो लाग्दैन । सक्षम बौद्धिक मुखले मुखर हुने ठाउँ नै पाउँदैनन् । प्रसिद्ध शिक्षाविद् विद्यानाथ कोइरालाले दमक नगरपालिकाद्वारा आयोजित शैक्षिक विषय विमर्शमा अत्यन्त लोभलाग्दो विषयगत सारतत्वसहितको संगीतमय आकर्षण सरहको चारघण्टे संवाद गरे । यस्ता विज्ञ नेकपामा देखिन्न किन ? नेकपाका त धेरैजसो आसे, पासे, बतासे र तमासे देखिन्छन् वा पार्टी र नेताले पनि त्यस्तै बौद्धिक जमात बनाउन चाहेको पो हो कि भन्ने लागेको छ ।

अहिले त महामहिम राष्ट्रपतिको विगत राजनीतिक पुष्ठभूमिप्रति अत्यन्त चरम दूराग्रह राखेर बदनाम गर्ने दुष्प्रयत्न भइरहेको छ र हालै एक खनाल थरका कलाकारले आफ्नै थाप्लामा पर्नेगरी आकासतिर फर्किएर थुकेछन् ।

घरमा गाईको गोबर सोहोर्न लाज मान्नेहरू गोराको गुहु सोहोर्न सात समुद्र पारी गएकामा गौरव बोध गर्छन् । आफ्नै आमाको हुर्मत लिन उद्यतहरू एक न एक खोट खोजीखोजी देशको सर्वोच्च अभिभावकलाई गिज्याउँछन् ।

पार्टीको जागरण अभियान कुनै पनि राँटो नराखी होओस् । पार्टीको सबै शक्ति सशक्त रूपमा परिचालित होओस् । आन्दोलन भनेको मुठी बटार्नु मात्र होइन । यसको समग्रता बोध गरियोस् । संघ सरकारका कामहरूको विवरण तयार गरियोस् । सत्ता र सरकारका फरकका कारण उत्पन्न हुन गएका समस्या बताइयोस् । प्रदेश र स्थानीय स्तरका विकास निर्माण र त्यहाँ भित्रका विभिन्न खाले अनियमिताबारे सतर्कता र सचेतता दिने काम होओस् । पार्टी संगठन सुदृढीकरण तथा नेता कार्यकर्ता आंशिक भए पनि शुद्धीकरण होउन् ।

अहिले देश व्यापी रूपमा संघ, प्रदेश र स्थानीय तहका हरेक अड्डा अदालतमा पुरानै खालको आर्थिक अनियमितताबाट जनता वाक्क र दिक्क भएको अवस्था व्याप्त छ । यसलाई निवारण गर्न विभिन्न पेसा व्यवसाय सेवा निवृत्त व्यक्तित्वहरूमार्फत नागरिक समाजको सञ्जाल तयार गरेर खबरदारी नगरी हुन्न । पार्टीका मोर्चा संगठनहरू यस्ता विषयमा पाखुरा सुर्केर अगाडि बढ्न हुन्न तर सहभागी हुने र अभियानलाई व्यापकता दिनुपर्छ ।

पार्टी वा मोर्चा संगठनमध्ये कुनै एकजना नभएको कुनै घर छैन । नेकपाको कुनै पनि तहको कार्यकर्तालाई जागरुक पार्ने हो भने रूप र भाखा फेरि फरि गरिने सबै दुष्प्रचारका दुष्प्रयासहरू तत्काल समाप्त पार्न सकिन्छ । कम्युनिस्ट शासन आयो भने साठी बर्से बुढाबुढीहरू ड्याड्याम गोली ठोकेर मारिन्छन् भन्ने भ्रम र फरेव भुइँ तहमा छर्नेहरू नै भ्रमका नयाँ तानाबनाहरू बुनिरहेका छन् भन्नेकुरा बुझ्न अब ढिला गर्नु हुन्न ।

अहिले ससाना विषयमा घर झगडा गरेर बस्ने वेला होइन । पार्टी एक ढिक्का हुने हो भने सबैले फेसबुकलाई चेतना र जागरणको माध्यम मात्र बनाउने हो भने कुचोले बढार्ने कसिंगर हावाले नै उडाइदिन्छ । उहिलेदेखि नेपाली कांग्रेस प्रचारमा मात्र बाँचेको छ तर पार्टीका सबै संयन्त्र ठिकठाकै हुँदा पनि नेकपाको पिँधमा नै दुष्प्रचारबाट प्वाल पर्न लागेको देखिन्छ ।

पार्टी निर्माण र एकीकरण गर्दाको सुरुवातमा पार्टी काम केन्द्रीकृत रूपमा हुने गर्छ तर अब दुवै पार्टी अध्यक्षले आ–आफ्ना पूर्व नेताहरूसित रायपरामर्शसहित पार्टीको माथिल्लो तहमा असन्तुष्टि नहून् र भए पनि कम हुन् भनेर गरिएका सरसल्लाहलाई प्रधानमन्त्रीले कमजोरी सुधारेको अर्थ लगाएको देखिन्छ तर पार्टी संगठनको सञ्जाल माथिदेखि तलसम्म तयार भएपछि पनि अध्यक्षको व्यवहार पुरानै खालको भयो भने आलोचना गर्नु मुनासिव हुन्छ ।

प्रतिक्रिया