दोस्रो नेसनल पावर न्युज म्युजिक अवार्ड सम्पन्न

काठमाडौं । पिम नेपालद्वारा आयोजित नेपालको पहिलो समावेशी दोस्रो नेसनल पावर न्युज म्युजिक अवार्ड ०७५ सम्पन्न भएको छ । जमलस्थित सांस्कृतिक संस्थानमा सम्पन्न भएको कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले अवार्ड वितरण गरे । उनले लोक, आधुनिक, पप, चलचित्रलगायत भाषाका गीतलाई समेत समावेश गराएको विभिन्न ५१ विधामा परेका कलाकारहरूलाई अवार्ड वितरण गरे । कार्यक्रममा सञ्चारकर्मी तुल्सी गिरी, चन्द्रमणि गौतम, कृष्णा आचार्य रोशनी, विजयरत्न तुलाधर, पारस पौडेल, निराजन भण्डारी, राज लुईटेल, अमिर न्यौपानेलगायत विभिन्न मिडियाका पत्रकारलाई सम्मानसमेत गरिएको थियो ।

झाले देशका विभिन्न सांगीतिक पाटोलाई समेटेर अवार्ड प्रदान गरेर राज्यको मौलिक संस्कृतिमा सहयोग पुगेको बताए । कार्यक्रममा बोल्दै झाले उक्त संस्थाको प्रशंसा गर्दै हरेक क्षेत्रका कलाकारलाई उक्त अवार्डले थप ऊर्जा तथा हौसला प्रदान गर्ने दाबी गरे ।

कार्यक्रमका सभापति तथा चलचित्र निर्देशक माधवराज खरेलले आगामी दिनमा कलाकारको योगदानको कदर गर्दै यस्ता कार्यक्रमको आयोजना गरिने जनाए । उनले भने, ‘देशका लागि गीत संगीतमार्फत योगदान दिने स्रष्टाको योगदानलाई सम्मान गर्न यस संस्थाले अझै मिहिनेत गर्नेछ ।’ उक्त समारोहमा गायक तथा संगीतकार शम्भुजित बाँस्कोटालगायत विभिन्न कलाकारको सहभागिता रहेको थियो । उक्त समारोहमा कलाकार तथा सोही संस्थाका सचिव श्रीदेव भट्टराईले कार्यक्रमको स्वागत मन्तव्य दिएका थिए भने गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया