६० हलमा ‘गुनगुन’

बाबुराम सिग्देल, काठमाडौं । पछिल्ला वर्ष नेपालमा अधिक चलचित्र प्रदर्शनमा आउन थालेका छन् । यस क्षेत्रमा नयाँ निर्माता तथा निर्देशकसमेत बढ्दै गइरहेका छन् । राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लक्ष्यका साथ निर्माता, निर्देशक तथा अभिनेता तथा अभिनेत्री चलचित्र क्षेत्रमा जोडिन थालेको देखिन्छ ।

यसले नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीयभन्दा पनि संख्यालाई निकै बढवा दिएको पाइन्छ । प्रदर्शनमा आएका अधिक चलचित्रमध्ये निकै कमले मात्र लगानी उठाएको पाइन्छ ।

नेपालमा प्रायः शुक्रबारको दिन पारेर निर्माताले चलचित्र प्रदर्शनमा ल्याउने प्रचलन छ । यसै क्रममा पुकार भट्टराईले निर्देशन गरेको चलचित्र ‘गुनगुन’ ३० कात्तिकबाट देशैभर प्रदर्शनमा आएको छ । ९० लाखको लागतमा निर्माण गरिएको यो चलचित्र करिब ४० दिनमा छायांकन सकिएको चलचित्रका कलाकार गणेश जिसीले जानकारी दिए । निर्मातासमेत रहेका निर्देशक भट्टराईले पहिलोपटक निर्माण गरेको यो चलचित्र देशका ६० भन्दा बढी हल र डिसहोममा समेत एकैसाथ प्रदर्शन आएको निर्माण पक्षले जनाएको छ ।

अहिले चलिरहेका चलचित्रमध्ये यो चलचित्र फरक किसिमको र परिवारमा घटिरहेका यथार्थ घटनालाई कथामा उतारेको कलाकार जिसीले दाबी गरे । ‘गुनगुन’ मा अभिनेत्री सञ्चिता लुइँटेल, रविन सिंह, सुवास मेचे, रविन्द्रप्रताप सेन, नवीन श्रेष्ठ, देशभक्त खनाल, राधा लम्साल, बिपिन प्रसाई, भीमा मैनाली, बालकलाकार सुमेश श्रेष्ठ, गणेश जिसी र निर्माता तथा निर्देशक भट्टराईको अभिनय छ ।

प्रार्थना फिल्मस्को ब्यानर तथा निर्देशक भट्टराईको प्रस्तुति रहेको यो चलचित्रमा हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ । त्यस्तै, चलचित्रमा सचिन सिंह, विकास चौधरी र महाराजा थापाको संगीत रहेको छ । एकराज उप्रेती, सहदेव पौडेल, मोहन भट्टराई, गणेश चापागाईं र जय चुडालको चलचित्रमा लगानी रहेको छ ।

प्रतिक्रिया